समाज कति सभ्य छ भन्ने कुरा उसले महिलालाई कस्तो सम्मान दिन्छ भन्नेबाट थाहा हुन्छ

गुरु केदार बराल     २४ वैशाख २०८३, बिहिबार
समाज कति सभ्य छ भन्ने कुरा उसले महिलालाई कस्तो सम्मान दिन्छ भन्नेबाट थाहा हुन्छ

समाजको स्तर केवल ठूला भवन, सडक वा भाषणले मापन हुँदैन, समाज कति सभ्य छ भन्ने कुरा उसले महिलालाई कस्तो सम्मान दिन्छ भन्नेबाट थाहा हुन्छ।

इतिहास साक्षी छ, जहाँ महिलाको अपमान भयो, त्यहाँ अन्ततः विनाश जन्मियो। महाभारतमा द्रौपदीको अपमान हुँदा सभा मौन थियो, शक्ति मौन थियो, राजनीति मौन थियो। तर समयले प्रमाणित गर्‍यो, अन्यायको पक्षमा उभिनेहरू होइन, आत्मसम्मानका लागि लड्ने पात्र अमर बन्छन्।

आज पनि समाजले यही प्रश्नको सामना गरिरहेको छ। यदि कुनै महिला आफ्नो योग्यता, संघर्ष, अनुभव र क्षमताका आधारमा देशको सर्वोच्च न्यायिक पदसम्म पुग्छिन् भने, उहाँलाई सम्मान गर्नु लोकतन्त्रको सम्मान हो।
उहाँ महिला मात्रै होइनन्, उहाँ आमा पनि हुनुहुन्छ, एउटा जिम्मेवार नागरिक पनि, र न्यायप्रति समर्पित व्यक्तित्व पनि।

प्रधान न्यायाधीशको कुर्सी दया, कृपा वा राजनीतिक उपहारले प्राप्त हुने पद होइन। त्यो पदसम्म पुग्न वर्षौँको अध्ययन, इमानदारी, त्याग, अनुभव र असाधारण धैर्य आवश्यक पर्छ। त्यसैले योग्य व्यक्तिलाई केवल लिंगका आधारमा प्रश्न गर्नु भनेको न्याय प्रणालीको गरिमामाथि नै प्रश्न उठाउनु हो।

हामीले बुझ्नुपर्छ, न्यायालयको शक्ति पुरुष वा महिलामा होइन, न्याय गर्ने क्षमतामा हुन्छ। देशलाई बलियो बनाउने कुरा विभाजनले होइन, योग्यतालाई सम्मान गर्ने संस्कारले हो।

महिलालाई रोक्ने समाज कहिल्यै अगाडि बढ्दैन। तर महिलालाई अवसर दिने समाजले इतिहास बनाउँछ।

त्यसैले आज आवश्यक कुरा विरोध होइन, विवेक हो। पूर्वाग्रह होइन, सम्मान हो। र सबैभन्दा ठूलो कुरा, न्याय र योग्यताको पक्षमा निर्भीक समर्थन हो।

प्रतिक्रिया