काठमाडौं–प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।
आदर्श नारीका रूपमा सम्मानित माता सीता मिथिलाभूमि नेपालकी छोरी हुन् । मर्यादा पुरूषोत्तम भगवान रामकी पत्नी सीताको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण उनी जगज्जननीका रूपमा पूजित छिन् । सीताले आफ्नो पवित्रता पुष्टि गर्न अग्नी परीक्षा दिनु परेको थियो भने गर्भवती अवस्थामै वनवास जानु परेको थियो । वनवासकै क्रममा लव र कुश दुई छोरालाई जन्म दिएकी उनले वाल्मीकि आश्रममा राखेर छोराहरूलाई शिक्षा दीक्षाले निपुण बनाइ अयोध्या फर्काएकी थिइन् । धैर्य, संयम र विवेककी प्रतिमूर्ति सहनशीला सीताको आदर्शकथा संसारभरि प्रसिद्ध छ
आदर्शपत्नी, आदर्श माता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा अदर्श नारीका रूपमा चिनिन्छ नेपालकी तेस्रो राष्ट्रिय विभूति सीतालाई ।
सीता मिथिलाका राजा जनकको सबैभन्दा जेठी छोरी हुन् । मर्यादा पुरूषोत्तम भगवान रामकी पत्नी उनी अयोध्याका राजा दशरथकी बुहारी हुन् ।
उनी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन् । उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगज्जननीका रूपमा पूजित पनि छन् ।
आदर्श नारी सीताको जन्म तथा मृत्यु दुवै रोचक र रहस्यमयी छन् । साँच्चै भन्ने हो भने सीताका आमा र बाबु दुवै अज्ञात छन् । त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन बाल्मीकि रामायण र पुराणहरूमा गरिएको छ । तर उनको जन्म सम्बन्धमा पुराणहरूमा एकरूपता पाइँदैन । वाल्मीकिरामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण, देवी भागवत आदि पुराणमा उनको जन्मबारे फरक कथा उल्लेख छ ।
सीताको जन्मबारे सबैभन्दा प्रचलित कथा हो वाल्मीकिरामायण । महर्षी वाल्मीकिले रामायणमा लेखेका छन् —मिथिला राज्यमा भयङ्कर खडेरी परेको थियो । त्यसैले मिथिलामा वर्षा गराउन ऋषीमूनिहरुले राजा जनकलाई यज्ञको आयोजना गर्न भने । धुमधाम यज्ञपछि राजा जनक आफैं खेतमा हलोजोत्न गए । राजा जनकले जोत्दा हलोको सियोमा सीतालाई भेटेका थिए ।
जन्म नदिए पनि पालनपोषण गर्ने अहिलेको जनकपुर अर्थात मिथिलाका राजा जनक सीताका पिता हुन् भने सुनैना उनकी माता हुन् । राजा जनकले धर्मपुत्रीका रुपमा पालेका हुनाले उनी जानकी भइन । भनिन्छ, सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो । अत्यन्त सुन्दरी, सुशील, मातापिता र ईश्वरप्रति भक्तिभाव राख्ने गर्थिन उनी ।
शूरवीरले उचाल्न नसक्ने शिवधनु पूजा कोठाको सरसफाइका बेला उनी सजिलै वर–पर सार्न सक्थिन् । उनको यही क्षमता देखेर नै राजा जनकले सियाबाट उनको नाम बदलेर सीता राख्दै जसले शिव धनुष उठाएर त्यसमा ताँदो चढाउन सक्छ त्यसै पुरुषसँग सिताको विवाह गरिदिने घोषणा गरेका थिए ।
उमेर पुगेपछि राजा जनकले सीताको भव्य सार्वजनिक स्वयम्बर आयोजना गरे । तत्कालिन समयमा योग्य र वीर पति रोज्ने यो गज्जबको तरिका थियो । दरबारमा रहेको शिवधनु खैँचेर तोड्न सक्ने पुरुषसँग सीताको विवाह हुने भयो । कसैले गर्न नसकेको यो काम अयोध्याका राजा दशरथका छोरा रामले सजिलै गरिदिए ।
अयोध्याबाट आएका रामले शिवधनु उचाल्नासाथ भाँचिन पुग्यो । रामले राजा जनकको प्रतिज्ञा पुरा गरेकाले उनको सितासँग विवाह भयो । राम र सिताको यो विवाहलाई पराक्रम विवाह पनि भनिन्छ । यो बिहेको सम्झना अहिले पनि गरिन्छ । मार्गशुक्ल पञ्चमीका दिन राम जानकी विवाह भव्यरूपमा मनाउने गरिन्छ । उर्मिला, माण्डवी र श्रुतकीर्ति सीताकी बहिनीहरू हुन् । उनीहरूको विवाह रामका भाईहरू लक्ष्मण, भरत र शत्रुघ्नसँग भएको थियो ।
विवाहपछि माइतीमा जस्तै कर्म घरमा पनि सीताले सबैको मन जितेकी थिइन् । राम १४ वर्ष वनवास जाँदा सीता पनि सँगै गएकी थिइन् । साथमा लक्ष्मण पनि गएका थिए । एकदिन राम वनमा गएका बेला मारिचले छल गरी रामकै स्वरमा लक्ष्मणलाई पुकारे । सीताले आफ्ना पति रामलाई केही आपत परेको अनुमान लगाई लक्ष्मणलाई पठाइन । लक्ष्मणले भाउजुको सुरक्षाका लागि लक्ष्मण रेखा कोरेर गएका थिए । तर जोगीको भेषमा आएका रावणले लक्ष्मणले बनाएको रेखा पार गरे मात्र सीतासँग भिक्षा लिने बताएपछि उनले भिक्षा दिन लक्ष्मण रेखा पार गरिन । त्यसपछि सीता रावणको फन्दामा परिन ।
सीतालाई हरण गरेर लैजादा उनलाई बचाउन अगाडि आएका जटायुलाई समेत रावणले घाइते बनाइदिए । सीतालाई लगेर अशोक वाटिकामा राखे । रावणले सीतालाई आफ्नी पत्नी बनाउन अनेक चाल चल्छन् । तर, सीताको सतीत्व डगमगाउन रावण सफल हुन सकेनन् ।
उनको खोजीमा निस्किएका राम, लक्ष्मण सुग्रीवसँग मितेरी गाँसी वाँदर सेना तयार गर्छन् । रामले पठाइएका दूत हनुमानलाई लंकामा देख्दा सीतामा खुसी छाउँछ । तर, उनले हनुमानसँग जान भने अस्वीकार गरिन् ।
रामको सेना पनि समुद्र तरी लङ्कामा पुग्छन् र युद्ध हुन्छ । राक्षसले हनुमानको पुच्छरमा आगो लगाइदिन्छन् । उनले त्यही आगोले लङ्का दहन गरिदिन्छन् । युद्धमा मेघनाद, कुम्भकर्ण, रावण लगायत सबै दुष्ट मारिन्छन् । तर, सीताले भने अग्नी परीक्षा दिनुपर्छ ।
रावण जस्तो दुष्टले अपहरण गरेर लगेकोले सीताको पवित्रतामाथि पति राम नै सशंकित हुन्छन्। सीतालाई अग्नि परीक्षा दिन पति भगवान रामले नै लगाउँछन् । अग्नि परीक्षामा बलिरहेको आगोमा बस्नु पर्ने हुन्थ्यो । यदि मान्छे पवित्र छ भने उसलाई आगोले केही पनि गर्दैन र यदि अपवित्र भएमा आगोले भस्म गर्छ भन्ने मान्यता थियो । यसरी अग्नि परीक्षा दिएकी सीतालाई आगोले केही पनि गरेन । सीता पवित्र ठहरिइन । त्यसपछि रामले सीतालाई स्वीकार गरे । र राज्याभिषेकको लागि अयोध्या फर्किए ।
वास्तविक वाल्मीकिरामायणमा यही कथा विस्तार गरिएको पाइन्छ । तर, त्यसपछिको घटना झनै रोमाञ्चक छ । राजा बनिसकेपछि सबै राम्रैसँग चलिरहेको थियो । भनिन्छ, अयोध्या फर्केपछि आफ्ना पतिलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले महारानीको पद समेत त्यागेकी थिइन । एकदिन राज्यमा जनताको अवस्था कस्तो छ भनेर बुझ्न राम सर्वसाधारणको भेषमा शहर परिक्रमा गर्न निस्किएका थिए । सोही क्रममा श्रीमान् श्रीमतीको झगडा भइरहेको ठाउँमा पुगे । श्रीमानले, म श्रीराम जस्तो आदर्शवान पुरुष होइन, जसले अर्काले हरेर लगेकी श्रीमतीलाई पनि स्वीकारोस् भन्छन् । यो कुरा रामको कानमा झवाट्टै पर्छ । कानमा मात्रै होइन यही कारण राजा रामले सीतालाई वाल्मीकि आश्रमै छाडेर आउन लक्ष्मणलाई निर्देशन दिन्छन् ।
गर्भवती सीताले महर्षि वाल्मीकिको आश्रय पाइन । यही आश्रममा उनले लव र कुशलाई जन्म दिइन् ।
आफ्नो पवित्रता पुष्टि गर्न अग्नी परीक्षा दिनु, गर्भवती अवस्थामै वनवास हिँड्नु, लव र कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाई अयोध्या फर्काकाउनु जस्ता त्यागका कारण पनि उनलाई आदर्श नारीका रुपमा सम्झना गरिन्छ ।
अयोध्यामा आएका लव, कुशले रामायणको कथा एवं सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुणा गीतमा सुनाउँछन् । त्यसपछि प्रजाले सीतालाई अयोध्या फर्काउन माग गर्छन् । प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइन्छ । दरबारमा आएपछि उनको पवित्रतामाथि फेरि पनि प्रश्न उठेपछि उनले देह त्याग गरेको पनि भनिन्छ । तर, यस सम्बन्धमा अर्को भनाइ पनि छ । वाल्मीकिको आश्रमबाट फर्कनुअघि सीतालाई सतीत्वको किरिया खान आग्रह गरेपछि उनले धर्तीमाता सामु आफ्नो सतीत्व र पतिव्रता साँचो भए आश्रय दिनु भनेर पुकार्छिन् । त्यसपछि धर्ती फाट्छ र सीता धर्तीमाताको शरणमा सधैँ सधैँका लागि विलीन हुन्छिन् पनि भनिन्छ ।
धैर्य, संयम र विवेककी प्रतिमूर्ति सहनशीला सीताको यो आदर्शकथा संसारभरि प्रसिद्ध छ । पुराणको सन्दर्भमा हेर्ने हो भने उनी बराबरकी आदर्शनारी कोही देखिँदैन । सीताको त्याग, परिश्रम र सच्चरित्रताकै कारण हुनुपर्छ उनलाई भगवतीको दर्जा पनि दिइन्छ ।
आदर्श नारीका रूपमा सम्मानित माता सीता मिथिलाभूमि नेपालकी छोरी हुनु हामी सबैका लागि गौरवको विषय हो । सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थकी पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उनलाई राष्ट्रिय विभूतिको रुपमा सम्मान दिएको छ ।
उनी राजकुमारी थिइन । विवाह राजकुमारसँग भयो । तर जब महारानी बन्ने बेला आयो तब उनले गर्भवती अवस्थामै वनवास जानुपर्यो । आफ्नो पवित्रता पुष्टि गर्न भगवान रुपी उनले त अग्नी परीक्षा नै दिनुपर्यो । अनेक लोकनिन्दा सहन पर्यो । हामी त मानव हौं । मानिसको जीवनमा अनेक उतार चढाव आउँछन् । कहिलेकाहीँ सही कर्म गर्दा गर्दै पनि अनेक अपजसहरु आइपर्न सक्छन् । तर सत्य कर्म गर्न छाड्नु हुँदैन र उतारचढावसँग हार्नु हुँदैन भन्ने सन्देश उनको जीवनीबाट लिन सकिन्छ ।