काठमाडौँ–महिला सशक्तीकरणलाई केन्द्रविन्दुमा राखेर इम्पावर इभेन्टले आयोजना गरेको ब्यूटी प्याजेन्ट मिस एण्ड मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल भव्य रूपमा सम्पन्न भएको छ । ललितपुरको पुल्चोकस्थित दी प्लाजमा सम्पन्न फाइनल प्रतिस्पर्धामा मिस क्याटागोरीमा सुजाता खड्का र मिसेस क्याटागोरीमा मोनिका नापितले उपाधी जितेका छन् ।

मिस एण्ड मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल अमेरिकन फ्रेन्चाइज प्रतियोगिता हो । यो प्रतियोगितामा विभिन्न उमेर समूहका महिलाहरूले सहभागिता जनाएका थिए । टिन, मिस, मिसेस, सिंगल मदर, डिभोर्सी तथा विधवा महिलाले प्रतियोगितामा भाग लिएको इम्पावर इभेन्टका सीईओ तथा फाउण्डर पूजा पाख्रिनले जानकारी दिइन् ।

प्रतियोगितामा मिस क्याटागोरीमा आरती महरा फस्र्ट रनरअप र स्वेता खनालले सेकेण्ड रनरअपको उपाधी हात पारे । यसैगरी मिसेस तर्फ स्वेता तुलाधर फस्र्ट रनरअप र रेणु सुर्खेती सेकेण्ड रनरअप घोषित भए ।

पूजा पाख्रिन यो प्रतियोगिताको निर्देशक हुन् । उनले केही फरक खालको र महिलाहरूलाई इम्पावर गर्ने प्रतियोगिताको कन्सेप्ट अघि बढाएको बताइन्।
‘ब्युटी प्याजेन्ट भन्ने बित्तिकै निश्चित हाइट र सौन्दर्य भएका महिलाहरूले भाग लिने प्लेटफर्म हो भन्ने आम सोचाइमा परिवर्तन ल्याउन मिस एण्ड मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता आयोजना गरिएको हो, ‘पूजा भन्छिन्, ‘नेपालमा अहिले भइरहेका ब्यूटी प्याजेन्टभन्दा भिन्न कन्सेप्टमा यो प्रतियोगिता सम्पन्न गर्न सफल भएका छौँ ।’

पूजाले थाइल्याण्डको बैंककमा आयोजित ‘मिसेस टुरिजम क्वीन इन्टरनेशनल–२०२४’ प्रतिस्पर्धा गरेकी थिइन् । ‘मैले प्रतियोगिताहरूमा भाग लिँदा हासिल गरेका अनुभव र महशुस गरेका अभाव र कमजोरीहरूमा सुधार गरेर उत्कृष्ट प्रतियोगिताको नमुना प्रस्तुत गर्न यो प्याजेन्ट आयोजना गरिएको हो, पूजा भन्छिन्, ‘अन्तर्राष्ट्रिय स्तरको प्याजेन्ट कुन तहको हुनुपर्छ भन्ने बेञ्चमार्क स्थापित गर्ने गरी प्रतियोगिता सम्पन्न गरेका छौँ ।’

प्रतियोगितामा भाग लिएका महिलाहरूलाई व्यक्तित्व विकास, ग्रुमिङ, आत्मविश्वास अभिवृद्धि, करिअर केन्द्रित वर्कशप, महिला सशक्तीकरण सम्बन्धी सेमिनारहरू, प्रोफेसनल फोटो सुट, रनवे ट्रेनिङ, स्टाइलिङ सेसन तथा देश विदेशका प्रतिष्ठित डिजाइनर र विज्ञहरूसँग अन्तरक्रिया गराइएको इम्पावर इभेन्टका कार्यकारी निर्देशक श्रीजल विक्रम शाहीले बताए।

इम्पावर इभेन्टका कार्यकारी निर्देशक शाही हरेक उमेर समूहका महिलाहरूमा रहेका प्रतिभा र कथाहरूलाई प्रस्फुटन हुन दिएर उनीहरूको आत्मविश्वास बढाउन प्रतियोगिता सफल रहेको बताउँछन् ।

उपाधी विजेता सुजाता खड्काले मोडलिङ आफ्नो रुचीको क्षेत्र भएकाले प्याजेन्टमा भाग लिएको बताइन् । प्रतियोगितामा भाग लिएर ग्रुमिङ क्लासमा जीवन उपयोगी सीप सिक्न पाएको उनले बताइन् ।

अर्की उपाधी विजेता मोनिका नापितले प्रतियोगितामा भाग लिएपछि आफूमा आत्मविश्वास वृद्धि भएको र प्रोफेसनल करिअरमा चाहिने ज्ञान हासिल गर्न सफल भएको बताइन् ।





