नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनयुद्धमा सहिद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को शनिबार काठमाडाैँमा विमोचन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताए ।
उनले भने, “म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा जनयुद्ध र जनआन्दोलनका सबै योद्धाहरुलाई सहिद घोषणा गर्ने निर्णय भएको थियो, त्यो पूरा हुन सकेन, तर आजसम्म प्राप्त उपलब्धि सहिदहरुको बलिदान नै हो । ” अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाँसँगै सेना समायोजन संविधान निर्माणलगायतका उपलब्धिलाई सामान्यरूपमा नलिनसमेत आग्रह गरे । उनले थारू समुदायले जनयुद्ध, जनआन्दोलन र मुलुक निर्माणमा पुर्याएको योगदानको चर्चा गर्दै जनयुद्ध दिवसको सन्दर्भमा पार्टीले सहिद र तिनका परिवारलाई सम्मान गर्नेसमेत बताए ।
बारबर्दिया नगरपालिका बर्दियाका प्रमुख दुर्गाबहादुर थारूले अहिलेसम्म सबैभन्दा बढी नागरिक बेपत्ता पारिएको बर्दिया जिल्ला र जनयुद्धका शहीदहरुलाई राज्यले सम्मान बेवास्ता गरेको बताए । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) द्वारा विसं २०५२ फागुन १ देखि विसं २०६२ सम्म सञ्चालित जनयुद्धकालमा सबैभन्दा बढी बेपत्ता पारिएको जिल्ला बर्दिया हो ।