नुवाकोट–सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताए ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत सामग्री वितरण तथा शव सङ्कलनलगायतमा सरकारले गरिरहेको कामबारे जानकारी गराउँदै मन्त्री डा तिमिल्सिनाले शव सङ्कलनकै लागि दुई वटा ‘डेडिकेटेट’ हेलिकप्टर सञ्चालन गरिएको जानकारी दिए।
मन्त्री डा तिमिल्सिनाले पूर्ण रुपमा विस्थापितलाई गाँसबाससहितको व्यवस्था गरी ‘होल्डिङ सेन्टर’मा राखिएको बताए। अहिले पनि विभिन्न जलविद्युत आयोजनाका सुरुङमार्गमा फसेका भनिएकाको जीवितै उद्धार गर्ने प्रयासमा सरकार अहोरात्र खटिरहेको उनको भनाइ थियो ।
“बाढीबाट जोगिने क्रममा विभिन्न स्थानमा फसेकालाई खोज गरेर उद्धार गर्ने प्रयास भइरहेको छ”, मन्त्री डा तिमिल्सिनाले भने, “जीवितै फेला पार्न सकिन्छ भन्ने आशा छ । संसारभर उद्धारको इतिहासमा त्यस्ता कतिपय चमत्कार भएका घटना पनि छन् ।”
मन्त्री डा तिमिल्सिनाले तत्काललाई त्रिशूली नदी वारपार जोड्न तीन वटा स्थानमा बेलिब्रिज राख्न पहल गरिसकेको उल्लेख गरे। त्यसका लागि देवीघाट, ढुङ्गे र बेत्रावती क्षेत्र प्राथमिकतामा रहेको उनले बताए।