काठमाडौँ–स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा फरक–फरक समयमा गर्ने विषयमा निर्वाचन आयोगले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न सकिने सम्भावनाका साथै त्यसको आर्थिक तथा व्यावहारिक पक्षबारे छलफल भएको जानकारी दिए। यस विषयमा सहमतिका आधारमा निर्णय हुनुपर्नेमा शीर्ष नेताहरूले जोड दिएको उनले बताए।
उच्चस्तरीय राजनीतिक संयन्त्रमा निर्वाचनसम्बन्धी विषयमा छलफल गरी सहमति खोज्ने, आवश्यकताअनुसार संविधान वा कानुन संशोधनका लागि राजनीतिक संवाद गर्ने, विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्ने, प्रविधिमैत्री निर्वाचन प्रणाली अपनाउने र बदर मत घटाउने विषयमा पनि छलफल भएको नेता खरेलले जानकारी दिए।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलहरूसँग आयोगले संवाद गर्नु सकारात्मक भएको बताए। निर्वाचन खर्च र व्यावहारिकताका हिसाबले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने अभ्यास रहे पनि दुवै तहका जनप्रतिनिधिको कार्यकाल फरक समयमा सकिने भएकाले विशेष परिस्थिति उत्पन्न भएको उनले बताए।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै तहको निर्वाचन एकैपटक गर्दा पाँचवर्षे कार्यकाल पूरा गर्नुपर्ने लगायतका संवैधानिक विषयमा आगामी बैठकमा छलफल गरी निष्कर्षमा पुग्ने समझदारी भएको बताए। विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्ने विषयमा आफूहरू सकारात्मक रहेको उनको भनाइ थियो ।
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्तहरूले निर्वाचनसम्बन्धी कानुनी व्यवस्था तथा हालसम्मको तयारीबारे जानकारी दिएका थिए।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०८४ साल जेठ ५ गते र प्रदेशसभा सदस्यको कार्यकाल २०८४ साल चैत ५ गते पूरा हुँदैछ । कानुनी व्यवस्थाअनुसार दुवै तहको निर्वाचन कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि गर्नुपर्ने व्यवस्था छ ।