काठमाडौँ–अन्तर्राष्ट्रिय कोदो वर्षका अवसरमा यहाँस्थित भारतीय राजदूतावासद्वारा आज राजधानीमा कोदो खेती र यसका पोषक गुणबारे चेतना अभिवृद्धिसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरियो ।
त्यस अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले भौगोलिकरूपमा नेपालका पहाडी भेग कोदो उत्पादनका लागि उर्वर छन् भन्दै कोदोखेतीसँगै अन्यबालीको उत्पादन वृद्धि अभियान थालिएको बताए। उनले कोदोको अनुसन्धान, विकास र मूल्यशृङ्खलाबारे भारतीय अनुभवबाट नेपालले सिक्न चाहेको बताउँदै पत्रुखानाको तुलनामा स्वास्थ्यवर्धक कोदोका परिकार प्रवर्द्धन आवश्यक भएको विचार व्यक्त गरे।
खाद्यसुरक्षा र पोषणको महत्त्वपूर्ण स्रोत कोदो भएकाले यसको खेती प्रवर्द्धनलाई सरकारले उच्च महत्त्व दिएको मन्त्री भुसालले बताए। ‘स्वास्थ्यदेखि वातावरणीय दिगोपन र आर्थिक विकाससम्म कोदोका धेरै फाइदाहरूका बारेमा चेतना जगाउने अवसर हो,’ कुनै बेला कुअन्न भनेर हेयको दृष्टिले हेरिने कोदो अहिले श्रीअन्न भएको चर्चा गर्दै उनले भने।
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले खाद्य असुरक्षा बढिरहेका बेला कोदोको स्वास्थ्य र पौष्टिक फाइदाका बारेमा सचेतना बढाउन गत वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खाद्य तथा कृषि सङ्गठन (एफएओ) र संयुक्त राष्ट्रसङ्घसमक्ष सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रूपमा मनाउन प्रस्तुत गर्नुभएको प्रस्ताव विश्वका ७२ देशले समर्थन गरेसँगै उक्त विश्वसंस्थाबाट त्यो अनुमोदन भएको बताए। सरकार र निजी क्षेत्रका कम्पनीहरूदेखि लिएर सर्वसाधारणलाई कोदोप्रति आकर्षित गर्न सकिने विचार पनि उनले व्यक्त गरे।
भारतीय राजदूतले नेपालको कृषि विकासका साथै कोदो खेती प्रवर्द्धनमा सघाउन नेपाली प्रतिनिधिमण्डल चाँडै भारतको अध्ययन भ्रमाणमा जानलागेको जानकारी दिँदै रामपुर कृषि विश्वविद्यालय र उत्तरप्रदेश कृषि विश्वविद्यालयबीच कृषिविकासका कार्यक्रमका निमित साझेदारी भइरहेको बताए।
उनले कोदो फलाएर भोकमरी अन्त्य गर्ने दिगो विकासका लक्ष्यमध्येको एउटा लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय कोदो वर्ष महत्त्वपूर्ण भएको बताए । ‘कम समय र कम पानीमा नै कोदो उत्पादन गर्न सकिने भएकाले नेपालमा पनि यसको उत्पादन बढाउन सकिने प्रशस्त सम्भावना छ,’ उनले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणका बेला भएको सहमतिअनुसार कृषि विकास एवं सहकार्यका द्विपक्षीय कार्यक्रमले गति लिएका भारतका राजदूतले बताए।
नेपालका लागि एफएओका प्रतिनिधि केन सिमीजुले भोकमरी, कुपोषण, विश्वव्यापी रूपमा निरन्तर बढ्दो जनसङ्ख्या, सीमित प्राकृतिक स्रोत र जलवायु परिवर्तनका कारण उत्पन्न जटिल चुनौतीको सामना गर्नुपरेको वर्तमान परिवेशमा खाद्य सुरक्षामा योगदान गर्ने कोदोखेती र यसको पोषण महत्त्वबारे सबै उपभोक्ताले जान्नुपर्ने बताए। उनले कोदोखेती प्रवर्द्धनका निम्ति एफओएले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।