अर्थपूर्ण ट्याटुहरू

प्रकाश देवकाेटा     १४ फागुन २०७७, शुक्रबार
अर्थपूर्ण ट्याटुहरू

केही युवा कलात्मक आकृति भएको एउटा कोठामा बसिरहेका थिए। हातमा क्याटलग समातेका एक जना ट्याटू आर्टिस्ट उनीहरूलाई ट्याटूबारे जानकारी दिइरहेका थिए। नेपाली मात्र होइन, विदेशी पनि ट्याटूबारे सोधपुछ गरिरहेका थिए। यो दृश्य थियो, काठमाडौँ, ठमेलस्थित ‘लुम्बिनी ट्याटू इन’ को।यसका सञ्चालक हुन्, धीरजजंग कुँवर।

पहिलाभन्दा अहिले ट्याटू बनाउनेहरूको संख्या बढेको कुँवरको अनुभव छ। आजभोलि आफूलाई ट्याटू बनाउन भ्याइनभ्याइ हुने उनले बताए।‘पहिलेको भन्दा अहिले धेरैले ट्याटू खोपाउने गरेका छन्,’ उनले भने, ‘२० देखि ३० वर्षका युवा बढी आउने गरेका छन्।’

केही वर्षयता नेपालमा थुप्रै ट्याटूसेन्टर खुलेका छन्। ठमेल, लाजिमपाट, वसन्तपुर, ललितपुर, भक्तपुरलगायत विभिन्न ठाउँमा छ्यापछ्याप्ती ट्याटू सेन्टर देख्न पाइन्छन्। ‘खासगरी युवापुस्तामा ट्याटूप्रति आकर्षित छ,’ कुँवरले भने।

ट्याटूमा आफूले माया गर्ने अथवा आफूलाई माया गर्नेको फोटो बनाएर, प्रेमी अथवा प्रेमिकाको नाम वा जन्ममिति लेखर अहिलेको युवाले प्रेम व्यक्त गर्ने गरेको कुँवरले बताए। ‘प्रेमी–प्रेमिकाको मात्र नभई आफूलाई मन पर्ने खेलाडी, नेता, अभिनेता, जनावर, फूल आदिका ट्याटू पनि युवाले बनाउने गरेका छन्,’उनले भने, ‘अहिले त आफूलाई विशेष लागेको दिन पनि शरीरमा खोप्ने ट्रेन्ड चलेको छ।’

शरीरमा आमाबुबाको‘पोट्रेट’


आमाबुबालाई खुशी बनाउन अहिलेका युवाले थरी–थरी उपाय अपनाउँछन्।ती उपायमध्ये एक हो, ट्याटू। ट्याटूयुवाहरूका लागि अभिभावकप्रति प्रगाढ प्रेम दर्शाउने माध्यम बनेको छ।‘हातमा ट्याटू बनाएरआमाप्रतिमाया प्रकट गर्नेको जमात छ,’ कुँवरले भने।

ललितपुर, पाटन बस्ने सुष्मा बरालीले नाडीमा अंग्रेजीमा ‘मम’,हिन्दू धर्मको चिन्ह ‘ओम’ र गणेश भगवान्को आकृति बनाएकी छिन्। ‘चार वर्षअघि आमाको जन्मदिनमा मलाई जन्म दिनुभएकोमा धन्यवाद र उहाँको सम्मानस्वरूप ‘मम’ लेखिएको ट्याटू खोपेकी हुँ,’ उनले भनिन्, ‘ममीबाट टाढा हुँदा उहाँलाई एकदमै मिस गर्छु। त्यो पीडा कम गर्न ट्याटू बनाएकी हुँ। अब उहाँ सधैँ मेरो साथमा हुनुहुन्छ।’

काठमाडौँ, ओमबहालका महेन्द्र महर्जनले आफ्नो पाखुरामा बुबाको पोटे«ट बनाएका छन्। ‘बुबाले मलाई असाध्यै माया गर्नुहुन्छ,’ उनले भने, ‘म पनि उहाँलाई धेरै माया गर्छु। उहाँप्रतिको प्रेमले नै हो,ट्याटू बनाउँदा मनले बुबाको फोटो बनाउन भन्यो अनि उहाँकै पोटे«ट खोपेँ। यो उहाँप्रतिको मेरो सम्मान हो।’ 

काठमाडौँ, वसन्तपुरका प्रशान्त ताम्राकारले देब्रेपाखुरामा आमाको तस्बिर बनाएका छन्। ‘आमाको तस्बिर पाखुरामा खोपेको दिन मेरो जीवनकै सुन्दर दिन हो,’ उनले भने, ‘त्यो दिन म एकदमै खुशी भएँ।’ 

केही समययता जापान बस्दै आएकी कीर्तिपुर, काठमाडौँकी उर्मिला महर्जनले गत महिना नेपाल आएका बेला आफ्नो पूरा परिवारको नाम जापानी भाषामा पाखुरामा खोपिन्। ‘मेरो परिवार नै मेरो संसार हो,’ उनले भनिन्,‘परिवारबाट टाढा जापानमा भएपनि ट्याटूले परिवारसँगै भएको महसुस गराउँछ।’ 

कतिपय छोराछोरीले आफ्ना आमाबुबालाई धेरै माया गर्ने तर उनीहरूका अगाडि सीधा भन्न नसक्ने हुँदा ट्याटूका माध्यमले आफ्नो प्रेम व्यक्त गर्ने ट्याटू आर्टिस्ट प्राजिना श्रेष्ठले बताइन्। ‘आमाबुबाको पोटे«ट, ‘लभ यू मामु’, ‘लभ यू पापा’, ‘ड्याडिज लिटिल गर्ल’शरीरमा कोरेर पे्रम व्यक्त गर्ने ट्रेन्ड बढेको छ,’ उनले भनिन्।

ट्याटूमा मित्रता


अहिले कतिपयले आफ्नो मिल्ने साथीको नामको ट्याटू पनि खोप्ने गरेका छन्। साइना ओली र रुबी शाही ब्रेस्ट फ्रेन्ड हुन्। दुवैले एकअर्काको नामको ट्याटू बनाएका छन्। ‘सानैदेखि प्लस टूसम्म हामीले सँगै पढ्यौँ,’ साइनाले भनिन्, ‘प्लस टूपछि रुबी विदेश जाने भई। टाढिँडा नरमाइलो लाग्यो। आफ्नो मित्रतालाई यादगार बनाउन हामीले एकअर्काको नामको ट्याटू बनायौँ।’

बैंकमा कार्यरत अनीता कोइराला र उनका दुई जना साथीले एकनासे ट्याटू बनाएका छन्। ‘मेरा दुई मिल्ने साथी र मैले वसन्तपुरमा रहेको फ्रिक स्ट्रिट ट्याटू सेन्टरमा एकैदिन एकैनासे ट्याटू खोपेका थियौँ,’ उनले भनिन्, ‘आफ्नो मित्रता प्रगाढ बनाउन हामीले एकनासे ट्याटू बनाएका हौँ।’

सन्तानका लागि ट्याटू


सन्तानले मात्र होइन,प्रेम अभिव्यक्त गर्न अभिभावकले पनि ट्याटू बनाउने गरेका छन्। सन्तानका लागि ट्याटू बनाउने आमाबुबाको संख्या पनि कम छैन।सन्तानप्रतिमाया देखाउन धेरै मातापिताले ट्याटूको सहारा लिने गरेका छन्। छोराछोरीको तस्बिर,नाम, जन्ममिति, लभयू छोरी, लभ यू छोरोलगायत ट्याटू अभिभावकले शरीरमा बनाउने गरेका छन्। 

काठमाडौँ, वसन्तपुरका सुरज श्रेष्ठले आफ्नो छातीको देब्रेपट्टि छोरीको पोट्रेट बनाएका छन्।‘छोरी भनेको लक्ष्मीको रूप हो,’उनले भने, ‘छोरीको तस्बिर छातीमा बनाउँदा लक्ष्मीदेवी नै मनमा राखे जस्तो लाग्यो।’ 

काठमाडौँ, न्युरोडका बृजेश तुलाधरले पाखुरामा छोराको तस्बिर खोपेका छन्।‘छोरो मेरो मटु हो त्यसैले उसको तस्बिर बनाएँ,’ उनले भने,‘छोराकै कारण आज म बाबु कहिलिएको छु।’ 

जोडीका ट्याटू


दिनेश मर्हजन र प्राजिना श्रेष्ठ,श्रीमान्–श्रीमती हुन्। दुवैले खुट्टामा ‘सबै ठीकछ’ लेखाएका छन्। ‘हामीले आफ्नो मनमा लागेको कुरा ट्याटुका माध्यमले व्यक्त गरेका हौँ,’ दिनेशले भने। यसलाई उनीहरू एकअर्काप्रतिको मायाको संज्ञा दिन्छन्।

चितवनका रोहित चापागाईँले आफ्नी पूर्वप्रेमिकाको नाम दाहिने हत्केलामा खोपेका छन्। ‘यो ट्याटू खोपेको पाँच वर्ष भयो,’ उनले भने,‘जसको नाम हो उसले छोडेर गएको चार वर्ष भइसक्यो। तर, ट्याटू जस्ताको तस्तै छ।’

पोखराकी सुमी गुरुङर उनका प्रेमी सञ्जय तामाङले एउटै ट्याटूलाई आधा–आधा गरी बाँडेका छन्। सञ्जयले पाखुरामा पानको पातको आधा भागबनाएर ‘सुमी’ लेखेका छन् भने आधा भाग सुमीको पाखुरामा छ, जसमा ‘सञ्जय’ लेखिएको छ। यसरी एउटै ट्याटूलाई आधा–आधा बाँडेर उनले पूरा गरेका छन्। 

काठमाडौँ, ठमेलस्थित‘मण्डला ट्याटू इन’कासञ्चालक रान महर्जनले कतिपय जोडीले यसरी नै ट्याटू बाँडेर बनाउने गरेको बताए। ‘कतिपयजोडीले एउटै ट्याटूसेयर गर्ने गरेका छन् भने कतिपयले दुरुस्तै ट्याटू खोपाउने गरेका छन्,’ उनले भने,।

विदेशीको नेपाली ट्याटू मोह 
१२ वर्षयता काठमाडौँ, वसन्तपुरमा ट्याटू व्यवसाय गर्दै आएका‘फ्रिक स्ट्रिट ट्याटू’का सञ्चालक दिनेश मर्हजनलेनेपाल घुम्न आउने विदेशीले नेपाली कलालाई शरीरमा खोपेर लैजाने बताए। ‘अधिकांश विदेशीले सगरमाथा, माछापुच्छ्रे, बुद्ध, बुद्धका आँखा, बुद्धिस्ट मन्त्र, मण्डला, शिव, ओम, नेपालको झण्डा, भैरव, बौद्ध स्तूप, आँखीझ्याल आदि बनाउने गरेका छन्,’ उनले भने, ‘नेपाल घुम्न आउने पर्यटकले फर्किंदा चिनोका रूपमा नेपाल झल्किने खालको ट्याटू बनाउने गरेका छन्।’ 

प्रतिक्रिया