भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग

राम्रो अनलाइन     ११ वैशाख २०८२, बिहिबार

काठमाडौँ– भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणमा यही वैशाख ९ गते दुई दिने नेपाल भ्रमणमा आएका खट्टर बुधबार मुक्तिनाथ दर्शनका लागि गएका थिए ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा दर्शन गरेपछि ऊर्जामन्त्री खड्काले यो यात्राले नेपाल– भारतबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गरे । भारतीय विद्युत्मन्त्री खट्टरको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रवर्धन सहयोग पु¥याएको उनले विश्वास व्यक्त गरे । 

‘धार्मिक सहिष्णुता र दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा धार्मिक पर्यटन प्रवर्धन गर्ने हाम्रो साझा विश्वासलाई यस किसिमको यात्राले अझ मजबुत बनाएको छ । यस्ता अवसरले दुई देशबीचको मित्रता र सहयोगको भावना थप प्रगाढ बनाउँदै लैजाने छ’, उनले भने ।

भारतीय विद्युत्मन्त्री खट्टरले नेपाल धार्मिक तथा ऐतिहासिक रूपमा पवित्र भूमि रहेको भन्दै मुक्तिनाथ तथा पशुपतिनाथको दर्शन गर्दा आफूलाई आनन्द महसुस भएको बताए । उनले धार्मिक पर्यटनका क्षेत्रमा नेपालले जोड दिनसके नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेपालको एक प्रमुख धार्मिक तीर्थस्थलका रूपमा रहेको मुक्तिनाथ मन्दिरले भारतका साथै अन्य देशका पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यस किसिमका उच्चस्तरीय भ्रमणले धार्मिक पर्यटन प्रवर्धन हुनुका साथै नेपाल–भारत सम्बन्धमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ । दुई दिने नेपालका भ्रमणका लागि आउनुभएका भारतीय विद्युत्मन्त्री बुधबार साँझ स्वदेश फकिएका छन् । 

प्रतिक्रिया