ट्रम्पको सिनेट र हाउस दुवैमा गुम्यो बहुमत, दुई वर्षमै ट्रम्पसँग किन रिसाए मतदाता ?

राम्रो अनलाइन     १८ कात्तिक २०८३, बुधबार
ट्रम्पको सिनेट र हाउस दुवैमा गुम्यो बहुमत, दुई वर्षमै ट्रम्पसँग किन रिसाए मतदाता ? तस्बिरः गेटी इमेज।

 

काठमाडौं–दुई वर्षअघि महँगी घटाउने वाचा गरेर ह्वाइट हाउस फर्किएका डोनाल्ड ट्रम्पलाई अहिले त्यही महँगीले घेरेको छ।

अमेरिकी मतदाताले उनको पार्टीलाई संसदमा धक्का दिएका छन्। रिपब्लिकनले आफ्नो सुरक्षित गढ ठानेका राज्यमा समेत डेमोक्र्याटहरू जितेका छन्।

मंगलबार भएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले सिनेटको बहुमत फर्काएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस ९एपी० ले जनाएको छ।

प्रतिनिधिसभामा पनि डेमोक्र्याटले बहुमत ल्याउने अमेरिकी सञ्चारमाध्यमको प्रक्षेपणलाई रोयटर्सले उद्धृत गरेको छ। सबै निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउन बाँकी रहे पनि यी प्रक्षेपणअनुसार संसद्का दुवै सदनको नियन्त्रण रिपब्लिकनबाट डेमोक्र्याटको हातमा जाने भएको छ।

अन्तिम मतगणनाले दुवै पार्टीको सिट संख्या टुंग्याउनेछ।

ट्रम्पका लागि यो पराजय कति गहिरो छ भन्ने बुझ्न टेक्ससको नतिजा हेरे पुग्छ।

सन् २०२४ मा उनले त्यहाँ कमला ह्यारिसलाई करिब १३।७ प्रतिशत बिन्दुले हराएका थिए। अहिले त्यही राज्यमा उनले समर्थन गरेका केन प्याक्सटनलाई डेमोक्र्याट जेम्स टालारिकोले सिनेट निर्वाचनमा पराजित गरेका छन्।

टेक्ससबाट सन् १९८८ यता ३८ वर्षपछि पहिलोपटक डेमोक्र्याट उम्मेदवार सिनेटमा निर्वाचित भएका हुन्।

यो राज्यमा गभर्नरको चुनावमा पनि तीन कार्यकालदेखि पदमा रहेका रिपब्लिकन ग्रेग एबटलाई डेमोक्र्याट जिना हिनोहोजाले हराएकी छन्। टेक्ससमा यसअघि डेमोक्र्याटहरूले राज्यव्यापी चुनाव जितेको वर्ष सन् १९९४ थियो। तीन दशकभन्दा लामो त्यो खडेरी यसपटक तोडिएको छ।

अर्को राज्य कनसासमा पनि त्यस्तै भयो। दुई वर्षअघि ट्रम्पले १६ प्रतिशत बिन्दुभन्दा बढी अन्तरले जितेको राज्यबाट यसपटक एडम ह्यामिल्टन सिनेटमा निर्वाचित भएका छन्। रोयटर्सका अनुसार कन्सासबाट झनै ९४ वर्षपछि डेमोक्र्याट उम्मेदवारले सिनेट चुनाव जितेका हुन्।

मध्यावधिमा राष्ट्रपतिको पार्टीले सिट गुमाउनु अमेरिकामा नौलो होइन। अमेरिकामा मध्यावधि निर्वाचनमा राष्ट्रपतिको दलले प्रायः संसदमा सिट गुमाउने गर्छ।

त्यहाँ हाउस अफ रिप्रिजेन्टेटिभ अर्थात् प्रतिनिधिसभाका सदस्यको कार्यकाल दुई वर्ष, राष्ट्रपतिको चार वर्ष र सिनेटका सदस्यको ६ वर्ष हुन्छ।

प्रत्येक दुई वर्षमा प्रतिनिधिसभाका सबै सदस्यका लागि निर्वाचन हुन्छ। त्यही बेला सिनेटका करिब एक तिहाइ सदस्यको कार्यकाल सकिने भएकाले ती पदका लागि पनि सम्बन्धित राज्यमा निर्वाचन हुन्छ।

राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा, अर्थात् उनी निर्वाचित भएको दुई वर्षपछि हुने यो निर्वाचनलाई मध्यावधि निर्वाचन भनिन्छ।

विपक्षीले वर्षौंसम्म जित्न नसकेका राज्यमा समेत यो मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरू पराजित हुनु ट्रम्पका लागि ठूलो राजनीतिक धक्का हो।

उनको समर्थन पाएपछि चुनाव जित्न सजिलो हुन्छ भन्ने रिपब्लिकनहरूको विश्वासलाई पनि यी नतिजाले कमजोर बनाएका छन्। दुई वर्षपछि सन् २०२८ मा अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदैछ। त्यो निर्वाचनमा पनि यसले रिपब्लिकनहरूको आत्मविश्वास कमजोर बनाउनेछ भने डेमोक्र्याटहरूलाई हौसला दिनेछ।

रिपब्लिकनहरूको यति ठूलो हारले एउटा प्रश्न उठाउँछ—दुई वर्षअघि ट्रम्पलाई फर्काएका मतदाता यति चाँडै किन उनीसँग रिसाएरु

महँगी घटाउने वाचादेखि मतदाताको असन्तुष्टिसम्म

महँगीका कारण पनि धेरै अमेरिकी मतदाता राष्ट्रपतिसँग रिसाएका छन्।

ट्रम्पलाई मत दिएका ५२ वर्षीय सान्चेजले अक्टोबरमा एपीसँग कुरा गर्दा आफ्नो कमाइबाट पहिलेझैं पैसा बँच्न छाडेको बताएका थिए। इन्धनसँगै अरू सामान महँगिँदा खर्च बढेको उनको गुनासो थियो। कानुन कार्यान्वयनको क्षेत्रमा काम गर्ने सान्चेजका लागि अर्थतन्त्रको अवस्था आफ्नै घरखर्चमा देखिइरहेको थियो।

चुनावअघिका सर्वेक्षणमा महँगीबारेको यस्तो असन्तुष्टि व्यापक देखिएको थियो।

अक्टोबर ८–१२ मा गरिएको एपी–एनओआरसी सर्वेक्षणमा ७९ प्रतिशत दर्तावाल मतदाताले जीवनयापनको खर्चबारे ट्रम्पको कामलाई अस्वीकार गरेका थिए। अर्थतन्त्रसम्बन्धी उनको कामबाट असन्तुष्ट हुने ७४ प्रतिशत थिए।

सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले महँगीलाई लिएर जो बाइडेन र कमला ह्यारिसमाथि लगातार आक्रमण गरेका थिए। आफू निर्वाचित भएपछि मूल्य घटाउने वाचा गरेका थिए। अहिले मूल्य बढ्नुमा ट्रम्पको नीतिको भूमिका छ भन्ने मतदाताको धारणा बलियो भएको छ।

अक्टोबर १ मा प्रकाशित एपी–एनओआरसी सर्वेक्षणमा ६५ प्रतिशत वयस्कले अस्वाभाविक महँगीको बढी जिम्मेवारी ट्रम्पका नीतिलाई दिएका थिए।

त्यसबेला मतदाताले महँगीको जवाफ सत्तामा रहेका डेमोक्र्याटसँग मागेका थिए। अहिले सरकार चलाइरहेका ट्रम्प र रिपब्लिकनसँग मागिरहेका छन्।

इरान युद्धले यो असन्तुष्टि थप चर्काएको हो। रोयटर्सको रिपोर्टअनुसार युद्धले तेल आपूर्ति अवरुद्ध पार्दा संसारभरि नै पेट्रोल र घर तताउन प्रयोग हुने तेल महँगियो। डेमोक्र्याट उम्मेदवारहरूले चुनावमा त्यसको जिम्मेवारी ट्रम्पमाथि लगाए।

विदेशमा भइरहेको युद्ध यसरी अमेरिकीहरूको भान्सा, काममा जाने खर्च र जाडोमा घर तताउने मूल्य हुँदै मतपत्रसम्म आइपुगेको छ। चुनावअघिको एपी–एनओआरसीले गरेको सर्वेक्षणमा ६४ प्रतिशत मतदाताले इरान युद्धलाई आफ्ना प्रमुख चुनावी विषयमध्ये भनेका थिए।

४५ प्रतिशत मतदाताले आप्रवासन र अपराधलाई महत्व दिएका थिए।

यसले चुनावी बहसमा आएको परिवर्तन देखाउँछ। दुई वर्षअघि ट्रम्पले मूल्यसँगै आप्रवासन र अपराधलाई मुख्य विषय बनाएर चुनाव जितेका थिए।

ट्रम्पले यसपालि आप्रवासन र अपराधमा मात्र जोड दिए। मतदातालाई भने आफ्नै घरखर्च र युद्धको असरले बढी पिरोलेको प्रस्टसँग देखियो।

यो नतिजालाई महँगीप्रतिको प्रतिक्रिया मात्रै भनेर बुझ्न त्यसैले अपुरो हुन्छ। मतदाताको एउटा ठूलो हिस्साले ट्रम्पलाई प्रश्न गर्ने र उनका निर्णय रोक्न सक्ने संसद् पनि खोजेको देखिन्छ।

यसपटक राष्ट्रिय असन्तुष्टिसँग स्थानीय उम्मेदवारका कमजोरी पनि जोडिए। टेक्ससको सिनेट चुनावका करिब दुईतिहाइ मतदाताले प्याक्सटनसँग उक्त पदका लागि आवश्यक व्यक्तिगत चरित्र नभएको बताएका थिए। एपीको यो सर्वेक्षणले ट्रम्पको समर्थनले उम्मेदवारका आफ्नै कमजोरी ढाक्न नसकेको देखाउँछ।

पद रहन्छ, शासन कठिन हुन्छ

यो पराजयपछि ट्रम्पको राष्ट्रपति पद के हुन्छ ? 

नेपालको संसदीय व्यवस्थामा जस्तो अमेरिकामा संसद्को बहुमत गुमाउँदैमा सरकार ढल्दैन। राष्ट्रपतिको कार्यकाल छुट्टै हुन्छ। त्यसैले यो निर्वाचनले ट्रम्पको नियमित कार्यकाल छोट्याउँदैन। उनी जनवरी २०२९ सम्मका लागि निर्वाचित भएका हुन्। सन् २०२८ को नोभेम्बरमा मात्र राष्ट्रपतिको निर्वाचन हुन्छ।

तर पदमा रहनु र आफ्नो इच्छाअनुसार शासन गर्न सक्नु फरक कुरा हुन्।

जनवरी २०२७ मा नयाँ संसद्को कार्यकाल सुरु भएपछि दुवै सदन डेमोक्र्याटको नियन्त्रणमा भए ट्रम्पले नयाँ कानुन बनाउन विपक्षीसँग सहमति खोज्नुपर्नेछ। बजेट पास गर्ने र कानुन बनाउने काम संसद्ले गर्छ। यसले ट्रम्पको शासनलाई धेरै हदसम्म नियन्त्रण गर्नेछ।

प्रतिक्रिया