भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दुर्गा प्रसाईंको सचिवालयको दाबी

राम्रो अनलाइन     २८ चैत २०८१, बिहिबार

काठमाडौं–गएको १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार दुर्गा प्रसाईंको सचिवालयले उनले आत्मसमर्पण गरेको दाबी गरेको छ । 

नेपाल प्रहरी उच्च स्रोतले भने उनलाई पक्राउ गरेर पूर्वी नाका काँकडभिट्टा हुँदै काठमाडौंतर्फ ल्याउने तयारी भइरहेको बताएको छ । दुर्गा प्रसाईं नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोष्टमा भनिएको छ, ‘अहिले २ घन्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।’

तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि फरार प्रसाईं बी ए बी ४२०८ नम्बरको स्कर्पियो चढेर भागेका थिए । प्रहरीले विभिन्न नाकामा टोली परिचालन गरेर खोजी गरिरहेका बेला उनी आफ्ना सहयोगीसहित भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा पुगेको खुलेको थियो ।

त्यहाँबाट भागेर उनी भारततर्फ लागेको भेटिएको थियो । फरार भएर भारततर्फ लुक्दै आए पनि प्रसाईंले भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंमै रहेको दाबी गरिरहेका थिए ।

तर, प्रहरीले उनको पूर्वी सीमा क्षेत्रमा पर्ने पानीट्यांकीस्थित अड्डा फेला पारिसकेको थियो । त्यसबीच फरार भएका प्रसाईंले बिहीबार अपराह्न आसाममा आत्मसमर्पण गरेको उनको सचिवालयले दाबी गरेको छ । प्रहरीले भने उनलाई नियन्त्रणमा लिएर ल्याउँदै गरेको भनेको छ ।

सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ, ‘हिजो मात्र हामीले भिडियोमार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घन्टाभित्र उपस्थित हुन्छौं भनेका थियौं र आज उपस्थित भयौं ।’

प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । तीनकुने प्रदर्शनका बेला उनले प्रहरी अधिकारीहरुलाई नै किच्याउने गरी गाडी समेत हाँकेका थिए । यस्तोमा उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसुरमा पनि मुद्दा चल्न सक्ने एक अधिकृत बताउँछन् ।

प्रतिक्रिया