काठमाडौँ । चीनले नेपाललाई दिने सहायता सामग्री लिन नेपाल वायुसेवा निगमको (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । कोभिड १९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० जहाज चीनको ‘बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा चैत १५ गते जाने भएको हो ।
बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट राति(सोमबार) काठमाडौँ अवतरण गर्ने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।
चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड १९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । त्यही सरकारी निर्णयबमोजिम आठ लाख मात्रा कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ जान लागेको हो ।
सहप्रवक्ता सुलेश मिश्रका अनुसार निगमको वाइड बडी जहाज चैत १५ गते साँझ ५ः३० बजे काठमाडौँबाट बेजिङ प्रस्थान गर्नेछ भने भोलिपल्ट बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । सोही दिन राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ ।
निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।