किरण केसीलाई उनका प्रशंसकले ‘राता मकै’ भनेर चिनिन्छन् । तर, आफ्नो परिवार तथा आफन्तमाझ भने उनी ‘मासुुपारखी’ का रूपमा परिचित छन् । आफू सानैदेखि मासुको सोखिन भएको उनी बताउँछन् । उनको घरमा हप्ताको तीन/चार दिन मासुु पाक्छ । पहिले खसीको मासुु धेरै खाने गरे पनि अहिले चिकेन र फिस आइटम बढी खान थालेको किरण बताउँछन् ।
दशैँमा तीनटा खसी
आफ्नो घरमा अष्टमीको दिनबाट मासु भित्रिने उनी बताउँछन् । ‘केही वर्षअघिसम्म खसी नै किनेर ढालिन्थ्यो,’ उनी भन्छन्, ‘हरिवंश र मदनकृृष्ण दाइको खसी पनि मेरै घरमा काटिन्थ्यो । यसरी मेरो घरमा तीन वटा खसी ढालिन्थ्यो । तीन वटा खसीको कलेजो, भुुँडी र टाउको निकालेर आइटम–आइटम बनाइन्थ्यो र तीनै परिवार मिलेर खाइन्थ्यो ।’ २०६४ सालपछि भने उनले घरमा खसी काट्न छाडे । भन्छन्, ‘हरि र मदन दाइले ‘किरण अब खसी नकाटौँ, किनेरै खााऔँ ’ भन्नुभयो । मलाई पनि घरमा खसी ल्याएर पर्साउने काम ज्यादै निर्दयी र क्रूर लाग्यो । बाहिरबाटै तरकारी किने जसरी किनेर ल्याउन ठीक लाग्यो ।’ अहिले चाहिँ उनले अष्टमीका दिनमा दुुइटा खसीको कलेजो, भुँडी र एउटा सिंगै खसी काटकुट बनाएर १८ देखि २० किलो मासु घरमा ल्याउने गरेका छन् ।
दशैँमा थरी–थरीका आइटम
‘घरमा मासुु ल्याएपछि सुुरुमा मासुमा बोसो छुुट्याउने काम हुुन्छ,’ उनी भन्छन्, ‘त्यसपछि कलेजो फ्राइ गरिन्छ । आन्द्राभुँडी सफा गरेर उसिनेर भुुटन बनाउँछु । राम्रो मासुको ग्रेभी बनाइन्छ ।’ मासुसँगै सानोकेराउ, ठूलो केराउ, मुुला, काक्रो, गाजर, आलुमा तिल हालेर बनाइएको नेवारी अचार पनि बनाइने किरण बताउँछन् । ‘मासुका आइटमसँग नेवारी अचार, सलाद र ठूलो गिलासभरि पानीमा हल्का बिरे नुुन, आइस, कागतीको रस मिसाइन्छ र मज्जाले खाइन्छ ।’ मासु पचाउन कागती पानीको उपाय निकालेको उनी बताउँछन् ।
अष्टमीका दिन घरमा कबाब पाक्ने उनी बताउँछन् । भन्छन्, ‘त्यो बनाउँदा लसुन र अदुवा हाल्नु हुँदैन । तेल, बेसार, नुुन, जिराको धुलो, तेजपत्ता हालेर मोल्नुपर्छ । त्यसलाई एक घण्टा छोपेर राखिदिनुपर्छ । त्यसपछि मधुरो आगोमा चलाउँदै पकाउनुपर्छ ।’ त्यसरी पकाएको कबाब एक हप्तासम्म पनि केही नहुने उनी बताउँछन् । ‘त्यो कबाबको घरभरि मगमग बास्ना आउँछ,’ उनी भन्छन् । कुकिङ किरणको सोख हो । ‘पहिला–पहिला त पकाउन आफैँ तम्सिन्थेँ,’ उनी भन्छन्, ‘अहिले चाहिँ घरका मान्छेलाई अह्राउने काम गर्छु ।
कुुकुुरले समेत खान नसकेको त्यो मासुु
मासुु भन्नेबित्तिकै उनलाई सधैँ एउटा घटनाले घच्घच्याउँछ । ‘यो कुरा हरिवंशले आफ्नो किताब ‘चिना हराएको मान्छे’ मा पनि लेख्नुभएको छ,’ उनी भन्छन्, ‘आजभन्दा १५ वर्षअघिको कुरा हो । त्यतिखेर हामी ‘शिखर साँझ’ मेची–महाकालीको यात्रामा हिँडिरहेका थियौँ । विराटनगरमा एक जना चौधरी हुनुहुन्थ्यो । उहाँलाई हामीले पाँच किलो खसीको मासु, दुुई किलो प्याज, लसुन, आगो बाल्न कोइला, माटोको भाँडो र अन्य आवश्यक सामान तयार गर्न लगायौँ । म आफैँ नाइके भएर पकाउन अगाडि सरेँ । मासुमा तेल, नुन, बेसार, थोरै जिराको धुलो, लसुन, प्याज हालेर मोले । सिमेन्टी बोक्ने कराहीमा कोइला हालेर आगो बाल्यौँ । मासु पाक्दै जाँदा ‘आहा’ भन्ने खालको बास्ना आएन । निकै डर लाग्यो । पाकेपछि मासु र भुजिया मैले भाग लगाएँ । सबैले खान थाले । हरिवंशले ‘किरण, माइन्ड नगर्ने भए एउटा कुरा भन्छु’ भन्यो । मैले ‘भन’ भने । उसले ‘मासु त मिठो भएन यार’ भन्यो । ‘यस्तो नमिठो मासु त मैले जिन्दगी खाएको छैन’ भनेर राजाराम पौडेलले पनि फ्याट्टै भन्यो । ‘तिमी रिसाउला भनेर मात्रै नभनेको मासु त मिठो लागेन है । कस्तो तितो पो छ त’ भनेर मदन दाइले भन्नुभयो । सबैले ‘नखाऔँ यार यस्तो मासु’ भने र कसैले खाएनन् । त्यो मासु कुकुरलाई दियौँ । कुकुरलेसमेत खाएन ।’
के भएको थियो त ? भन्दा उनी भन्छन्, ‘सबै कुरा ठीकै थियो । भाँडा ठीक भएनछ । मैले नयाँ माटोको भाँडो भनेको थिए । उसले १५/२० वर्षदेखिको केके सामान हालेर राखेको भाँडो ल्याएको रहेछ । पूरै काई लागेको भाँडो परेछ ।’
दशैँभरि १० किलो मासु
‘अहिले उमेरले दिँदैन तर पहिला–पहिला मासुु भनेपछि हुुरुक्कै हुुन्थे,’ उनी भन्छन्, ‘५० वर्षको उमेरसम्म त पखाला लाग्ने गरी मासु खाइयो । दिनमा दुई/तीन किलोसम्म खाइन्थ्यो । दशैँभरि म एक्लैले १० किलोजति मासु खाइसक्थेँ । अहिले त ६० लागियो । विचार पुुर्याएर मात्र खानुुपर्छ ।’