नेपालको धनगढी हुँदै दिल्ली, अनि त्यहाँबाट इन्दोर पुगेर महाकालेश्वर मन्दिरमा भष्म आरती दर्शन गर्ने सौभाग्य सबैलाई मिल्दैन । यो केवल यात्रा मात्र होइन, आत्माको गहिराइसम्म पुग्ने आध्यात्मिक अनुभूति हो । हजारौं किलोमिटरको दूरी पार गरेर भगवान महाकालको चरणमा पुग्दा मनमा एउटा अनौठो शान्ति, श्रद्धा र शक्ति जागृत हुन्छ । उज्जैन नगरी आफैंमा प्राचीन तपोभूमि हो, जहाँ समय, मृत्यु र कर्मका स्वामी महाकाल विराजमान छन् । त्यहाँ पुगेपछि मानिसले संसारको भीडभाड, तनाव र मोहभन्दा माथि उठेर केही क्षण आफ्नै आत्मासँग भेट गर्छ ।
भष्म आरती महाकालेश्वरको सबैभन्दा अद्भुत र रहस्यमय पूजा मानिन्छ । बिहानको ब्रह्ममुहूर्तमा जब मन्दिरका ढोका खुल्छन्, घण्ट, शंख, डमरु र वैदिक मन्त्रहरूको ध्वनि गुन्जिन्छ, त्यो क्षणले शरीर नै काँप्ने अनुभव दिन्छ । भगवान शिवलाई चिताको भस्म अर्पण गरिन्छ, जसले जीवनको सबैभन्दा ठूलो सत्य सम्झाउँछ–यो शरीर नश्वर छ, अन्ततः सबै भस्ममा परिणत हुन्छ । धन, पद, अहंकार, रिस, मोह सबै यही शरीरसँग समाप्त हुन्छन्, तर आत्मा अमर रहन्छ । यही शिक्षा भस्म आरतीले संसारलाई दिन्छ।
जब मैले भष्म आरती दर्शन गरेँ, मनमा लाग्यो( झाँक्रीहरूले आत्मा, मृत्यु र पुनर्जन्मका बारेमा दिएको ज्ञान यही आध्यात्मिक सत्यसँग मिल्दोजुल्दो रहेछ । शरीर मर्छ, तर चेतना समाप्त हुँदैन । आत्मा आफ्नो कर्मअनुसार अर्को यात्रामा निस्कन्छ । महाकालको पूजा मानौँ यही यात्राको स्मरण हो । शिवलाई कालको स्वामी भनिन्छ, किनकि उहाँ जन्म र मृत्यु दुवैभन्दा पर हुनुहुन्छ । त्यसैले महाकालेश्वरमा आरती हेर्दा डर होइन, बरु जीवन बुझ्ने ज्ञान प्राप्त हुन्छ ।
त्यहाँको वातावरण नै यस्तो हुन्छ कि मानिस रोएर हलुका हुन्छ, हाँसेर आनन्दित हुन्छ, अनि मौन बसेर आफैंलाई चिन्ने मौका पाउँछ । हजारौं भक्तहरू एउटै स्वरमा “हर हर महादेव” बोल्दा शरीरभरि रोमाञ्च पैदा हुन्छ। त्यो क्षणमा जात, धर्म, देश, धनी, गरिब केही पनि रहँदैन– सबै भक्त मात्र हुन्छन् । भगवानको सामु सबै बराबर हुन्छन् भन्ने अनुभूति त्यहाँ प्रत्यक्ष महसूस हुन्छ ।
नेपालबाट त्यहाँसम्मको यात्रा कठिन भए पनि दर्शनले सबै थकान हराउँछ । धनगढीबाट सुरु भएको बाटो दिल्ली हुँदै इन्दोर पुग्दा शारीरिक यात्रा पूरा भयो, तर महाकालेश्वर पुगेर आत्मिक यात्रा सुरु भयो । संसारमा मानिस धेरै ठाउँ घुम्छ, धेरै कुरा कमाउँछ, तर मनको शान्ति भने सजिलै पाउँदैन । महाकालेश्वरको दर्शनले त्यो शान्ति, शक्ति र जीवनको वास्तविकता बुझ्ने अवसर दिन्छ ।
भस्म आरतीले मलाई एउटा गहिरो सन्देश दियो– जीवन क्षणभंगुर छ, त्यसैले अहंकार होइन, सेवा गर । रिस होइन, प्रेम गर । लोभ होइन, दान गर । समय खेर नफाल, किनकि समय स्वयं महाकाल हुन् । आज जे गर्न सक्छौ, असल कर्म गर, किनकि अन्त्यमा साथ जाने केवल कर्म मात्र हो ।
महाकालेश्वरको दर्शनपछि फर्किने मानिस उही पुरानो मानिस रहँदैन । उसको सोच बदलिन्छ, दृष्टिकोण बदलिन्छ, जीवनप्रतिको समझ बदलिन्छ । म पनि त्यही अनुभूति लिएर फर्किएँ( भगवानको घरमा गएर केही माग्नुभन्दा पनि आफूलाई चिन्ने ज्ञान पाएर फर्किनु सबैभन्दा ठूलो प्रसाद रहेछ ।
हर हर महादेव । जय श्री महाकाल ।