नेहा बुढामगर र विवश विष्टले जिते  ‘जोय मोडल हन्ट नेपाल २०२५’को उपाधि 

राम्रो अनलाइन     २७ माघ २०८१, आइतबार
नेहा बुढामगर र विवश विष्टले जिते  ‘जोय मोडल हन्ट नेपाल २०२५’को उपाधि 


काठमाडौं–नेक्स्ट मोडल्स नेपालद्वारा आयोजना गरिएको बहुप्रतिक्षित मोडलिङ प्रतियोगिता  ‘जोय मोडल हन्ट नेपाल २०२५’को उपाधि नेहा बुढामगर र विवश विष्टले जितेका छन् । शनिबार होटल याक एण्ड यतिमा भएको फाइनल प्रतिस्पर्धामा उनीहरूले उपाधि जितेका हुन् । नेपालकै सबैभन्दा बृहत् मोडलिङ प्रतियोगिता मोडल हन्ट नेपालको यो नवौं सिजन हो । फिनालेका लागि अडिसनबाट ३२ फिमेल र १७ मेलसहित ४९ प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगितामा फस्र्ट रनरअप मोना केसी र आदित्य थपलिया, सेकेण्डा रनरअप चाँदनी श्रेष्ठ र एलन डंगोल घोषित भए । यसैगरी टप फाइम फिमेल मोडलमा रानी खड्का र पूजासिंह राजपुत, टप फाइम मेलमा मनिष गौतम र प्रसुन कुमार चुनिएका थिए । 

यसैगरी जेनिता सेन्चुरी र मनिष गौतमले मोस्ट स्टाइलिष्ट, डा अनिमा भण्डारी र सुजल श्रेष्ठले बेष्ट पसर्नालिटी, पूजा सिंह राजपुत र छेवाङ शेर्पाले बेष्ट वाक, सरु काकी डोली परियार र आदित्य कौशलले पब्लिक च्वाइस, प्रसुन कुमार र अनुजा पौडेलले मोष्ट फोटोजेनिक, आयान चौधरी र नेहा बुढा मगरले फिटनेस मोडल एण्ड बेष्ट फिगर, विवश विष्ट र चाँदनी श्रेष्ठले टप मोडल, खेमराज पोखरेल र कृतिका खड्का ले मोष्ट पपुलरको सबटाइटल जिते ।  

प्रतियोगीहरूलाई एक महिनाको ग्रुमिङ क्लासमा प्रोफेसनल मोडलका लागि चाहिने विभिन्न स्किलका बारेमा दक्ष मेन्टरहरूद्वारा प्रशिक्षित गरिएको थियो । व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायत प्रोफेसनल लाइफमा चाहिने सीप प्रतिययोगीहरूलाई प्रशिक्षणका क्रममा दिइएको थियो। प्रतियोगिताको  कोरियोग्राफर सविता कार्की हुन्। विजेताले नगद पुरस्कारसहित सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

व्यवसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दै गइरहेको आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए । ‘ग्रुमिङ क्लासमा हामी प्रतियोगीहरूलाई जीवन जीऊने क्रममा आवश्यक पर्ने विभिन्न खालका सीप र टेक्निकका बारेमा प्रशीक्षण दिन्छौँ, अध्यक्ष धमलाले भने, ‘प्रतियोगी सबैले मोडलिङमा करिअर अघि नबढाउन पनि सक्छन् तर, मोडल हन्टमा प्रतिस्पर्धा गर्दा हासिल गरेको ज्ञान उनीहरूलाई जीवनभर काम लाग्छ ।’ 

प्रतिस्पर्धीहरूले मोडल हन्ट प्रतियोगिताका क्रममा ग्रुमिङ क्लासबाट आफूले हासिल गरेको नलेज विशेष भएको र ग्रुमिङ क्लास निकै नै उपयोगी भएको प्रतिक्रिया दिएका छन् । मोडलिङमा करिअर बनाउन खोज्नेहरूका लागि नेक्स्ट मोडल्स र मोडल हन्ट नेपाल सबैभन्दा बेष्ट विकल्प भएको प्रतिस्पर्धीहरू बताउँछन् । 

प्रतिक्रिया