काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ।
अर्थ मन्त्रालयका अनुसार मंसिर मसान्तसम्म कर राजश्वतर्फ ३ खर्ब ८२ अर्ब २३ करोड, गैरकर राजश्व २४ अर्ब ७ करोड र विविध प्राप्तिबाट ३ अर्ब ४७ करोड रुपैयाँ आम्दानी भएको हो। यो संकलन वार्षिक लक्ष्यको करिब ७८ दशमलव ७४ प्रतिशत मात्र हो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजश्व संकलन १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ। अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले प्रतिकूल आर्थिक परिस्थितिका बाबजुद पनि राजश्व संकलन गत वर्षको तुलनामा सकारात्मक रहेको बताए। उनका अनुसार भन्सार, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कतर्फको राजश्व संकलन सन्तोषजनक रहे पनि आयकरतर्फ भने ८ प्रतिशतले गिरावट आएको छ।
आयकर घट्नुको मुख्य कारण बजारमा ब्याजदर घट्नु र त्यसबाट प्राप्त हुने ब्याजकरमा कमी आउनु रहेको सहसचिव पाण्डेयको भनाइ छ। साथै, घरजग्गा कारोबार सुस्त हुँदा पुँजीगत लाभकरमा पनि उल्लेख्य कमी आएको उनले जानकारी दिए। घरजग्गा र शेयर बजार दुबै क्षेत्रमा कारोबार कमजोर हुँदा सरकारको राजश्व लक्ष्य प्रभावित भएको देखिन्छ।
यद्यपि, घरजग्गाको कित्ताकाट खुलिसकेको र शेयर बजारमा पनि केही सुधारको संकेत देखिएकाले आगामी महिनामा राजश्व संकलन बढ्ने अर्थ मन्त्रालयको विश्वास छ। मन्त्रालयका अनुसार आसन्न निर्वाचन खर्च तथा पुनर्निर्माणसम्बन्धी गतिविधिले आर्थिक चलायमानता बढाउने र असार मसान्तसम्म राजश्व लक्ष्य हासिल हुने अपेक्षा गरिएको छ।