शिक्षक र विद्यार्थी मिलेर विद्यालयको बाँझो जमिनमा तोरी खेती

राम्रो अनलाइन     २८ मंसिर २०८०, बिहिबार
शिक्षक र विद्यार्थी मिलेर विद्यालयको बाँझो जमिनमा तोरी खेती

भरतपुर– चितवनको भरतपुर महानगरपालिका–१९ मा स्थित शारदा माध्यामिक विद्यालयको बाँझो  जमिनमा तोरी खेती गरिएको छ । विद्यालयको करिब तीन बिघा जमिनमा तोरी खेती गरिएको हो । अहिले विद्यालय ओरपरको क्षेत्रमा तोरी फुलेर ढकमक्क छ । विद्यायलको जग्गा संरक्षणसंगै विद्यार्थीलाई सिकाइ उपलब्धिका लागि तोरी खेती गरिएको विद्यालयका प्रधानाध्यापक एन्डिला रिजालले बताइन् । उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी मिलेर तोरी खेती गरिएको जानकारी दिइन् । 

यस विद्यालयमा त्रिभुवन विश्वविद्यालयको अनुसन्धान कार्यक्रम समेत सञ्चालनमा छ । ‘विद्यालयमा सिकाइ र कमाइ कार्यक्रम चलिरहेको छ, उनले भनिन, ‘त्यो कार्यक्रमको खाकाले हामीलाई पनि हौसला प्रदान ग¥यो ।’ उनले अनुसन्धान कार्यक्रम बाहेक रहेको जमिनमा विद्यालयले नै खेती गर्ने व्यवस्थापन समितिको निर्णयपछि तोरी खेती गरेको बताइन् । ‘झाडीमा परिणत भएको विद्यालयको जमिन ढकमक्क छ’,उनले भनिन्, ‘यसमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकको साथ छ ।’ 

विद्यार्थीलाई माटो चिनाउन र उनीहरुले पढेका कुरालाई व्यवहारिक रुपमा जोड्न विद्यालयले गरेको खेती उपयोगी हुने उनले बताइन् । कक्षा कोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक सिकाइ मार्फत दिगो बनाउन सकिने जनाउँदै उनले यसले विद्यालयको शैक्षिक गुणस्तरलाई समेत बढाउने विश्वास व्यक्त गरिन् । 

प्रधानाध्यापक रिजालले विद्यालयले गरेको प्रयासमा समुदायको पनि साथ रहेको बताइन् । उनले भनिन् ‘स्थानियले भैसी बाख्रा चराउने ठाउँ हो तर हामीले खनजोत गरेपछि उनीहरु सबैले राम्रो गरेको भन्दै सहयोग गर्न आएका छन् । ’ खेतीले विद्यालयलाई समुदायसंग जोड्ने सेतुको रुपमा काम गरेको अनुभव भएको उनले बताइन् । 

विद्यालयका शिक्षक ठाकुर ढकालले आगामी पाँच वर्षमा विद्यालयको सबै जामिनलाई उपयोग गर्ने योजना बनाइएको बताए । उनले सिचाइँको समेत तयारी गरिएको जनाउँदै जमिनमा तारबारका लागि स्थानीय सरकारसंग अनुरोध गरिएको जानकारी दिए । ‘विद्यालयलाई यो कार्यक्रम मार्फत नमूना विद्यालयको रुपमा अघि बढाउने योजना छ’,उनले भने्,‘विद्यार्थीलाई सिकाइसंग र अभिभावकलाई विद्यालयसंग जोड्ने यो महत्वपूर्ण छ ।’ जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेकाले विद्यालयमा सिकाइने व्यवहारिक शिक्षाले हरेक घरपरिवार खुसी र सुखी हुने शिक्षक ढकालले बताए । 
 

प्रतिक्रिया