सुन्तलाबाट वार्षिक १० लाख आम्दानी गर्दै बद्रीप्रसाद

राम्रो अनलाइन     २६ माघ २०८०, शुक्रबार
सुन्तलाबाट वार्षिक १० लाख आम्दानी गर्दै बद्रीप्रसाद

भोजपुर–  सुन्तला बिक्रीबाट यहाँका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । भोजपुरको टेम्केमैयुङ–३ अन्नपूर्णका किसान बद्रीप्रसाद अधिकारीले सुन्तला बिक्रीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएका छन् । 

त्रिचालिस वर्षअघिदेखि ३३ रोपनी क्षेत्रमा व्यावसायिकरुपमा सुन्तलाखेती गर्दै आएका किसान अधिकारीले आफ्नो बगानमा रहेका तीन सय ७५ बोट सुन्तलाले आम्दानी दिँदै आएको जानकारी दिए । ‘मैले विगत ४३ वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएको छु’ । 

उनले भने, ‘सुन्तला बिक्रीबाट रु १० लाख वार्षिक आम्दानी हुन्छ । यसबाट भएको आम्दानीले दुई छोरालाई इञ्जिनियर र एक छोरीलाई बैंकको जागिरे बनाएको छु । मेरो मुख्य आम्दानीको स्रोत सुन्तला बनेको छ ।’

विगतमा यहाँका स्थानीय बजारमा मात्र बिक्री हुने भन्दै अधिकारीले पछिल्लो समय सडक विस्तारका कारण बिक्री वितरणमा सहज बनेको बताए। अहिले बगानबाट नै धरान, इटहरी, विराटनगरलगायतका सहरमा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन् । उत्पादित सुन्तलाको बिक्रीका लागि बजारको समस्या नभएको उनको भनाइ थियो ।

एकपटक हुर्काएपछि सुन्तलाखेती दिगो आम्दानीको स्रोत बन्ने अधिकारीले बताए । एक पटक बिरुवा हुर्किसकेपछि एक सय वर्षसम्म लाभ लिन सकिने भएकाले भविष्यको पनि राम्रो आम्दानीको स्रोत बन्ने उनको भनाइ छ । 

प्रतिक्रिया