अभिनेत्री अञ्जना बराइली भन्छिन् : ‘पुजार सार्की’मा मेरो भूमिकालाई दर्शकले माया गर्नेमा ढुक्क छु

राम्रो अनलाइन     १० जेठ २०८१, बिहिबार
अभिनेत्री अञ्जना बराइली भन्छिन् : ‘पुजार सार्की’मा मेरो भूमिकालाई दर्शकले माया गर्नेमा ढुक्क छु

 

काठमाडौं–अभिनेत्री अञ्जना बराइली चलचित्र ‘पुजार सार्की’ मा मैयाँ पात्रका भूमिकामा छिन् । चलचित्रमा अञ्जनाको जोडीको रूपमा अभिनेता आर्यन सिग्देल छन्। आर्यन उनको सानैदेखिको ‘क्रस’ हुन् । आफ्नै ‘क्रस’सँग अनस्क्रिनमा जोडिन पाउँदा आफूलाई केही डर लागेको उनी सुनाउँछिन् । ‘मैले धेरै चलचित्रमा काम गरेको छैन । त्यसमाथि यो फरक विधाको मजबुत विषय भइसकेपछि आफ्नो चरित्रलाई अझ मजबुत कसरी बनाउने भन्ने डर हुन्छ । अझ मेरो जोडी मभन्दा अग्रज हुनुहुन्छ । आर्यन दाइले ‘तिमीलाई मसँग अभिनय गर्दा गाह्रो भइरहेको छ भने भन्नु’ भन्दा मलाई थप ऊर्जा प्राप्त हुन्थ्यो । मैले धेरै पटक रिटेक खाँदा पनि उहाँ कहिल्यै रिसाउनुभएन । ‘यस्तै हुन्छ’ भनेर ढाडस दिनुहुन्थ्यो । सिनियर स्टार यति सरल हुन्छन् होला भन्ने कल्पना समेत थिएन’, उनले सुनाइन् ।

अञ्जनाले ‘पुजार सार्की’मा स्थानीय सार्कीकी छोरीको भूमिका निभाएकी छिन् । उनी समाजले ठूलो जात भन्ने गरेको अर्थात् ब्राहृमणको छोरासँग प्रेममा परेकी हुन्छिन् तर, समाजले भने सम्बन्ध स्वीकार गर्न गाह्रो मान्छ । ‘त्यो सम्बन्धलाई दिगो सम्बन्धमा परिणत गर्ने बेलासम्म के कति बाधा अड्चनहरू आउँछन् र के कति संघर्ष गर्नुपर्छ भन्ने कुरा मेरो चरित्रले देखाउँछ । म समाजबाट दबिएको पीडित, त्यसमाथि पूजारसँगको सम्बन्धका कारण समाजले बहिष्कार गरेपछि झन् पीडित चरित्रमा छु । सानो जात हुँदाहुँदै पनि प्रेम सम्बन्धले झन् बढी दबिएको र छोरी मान्छे भइसके पछि के कति कुरा फेस गर्नुपर्छ भन्ने कुरा मेरो चरित्रले देखाउँछ’, आफ्नो चरित्रबारे अञ्जना भन्छिन्।

अञ्जनालाई वर्कसपको बेला स्क्रिप्ट पढेदेखि नै आफ्नो चरित्र किन यसरी दबिएको भन्ने चिन्ता परेको थियो । त्यही भएर उनले लेखक विकास सुवेदीलाई बारम्बार यही प्रश्न गरिरहन्थिन् । चलचित्रको चरित्रभन्दा पनि अञ्जना भएर हेर्दा उनलाई ‘मलाई किन यस्तो भूमिका दिइयो ?’ भन्ने मनमा लाग्थ्यो ।
‘त्यो पात्रले बोल्नुपर्ने ठाउँमा बोल्दैन । अति भइसकेपछि जो पनि बोल्छ नि त । म विकास लेखकलाई भनिरहन्थेँ । ‘यस्तो किन यहाँ भयो, यति हुँदा त जो पनि बोल्छ नि त । धेरै पोल्यो भने आत्था त भन्ला नि त’ भनेर सोधिरहन्थेँ । त्यही भएर पनि मेरो पात्रले सम्बन्ध निभाउनका लागि आफूभन्दा ठूलो जात भनिएको मान्छेसँग गरेको संघर्ष एकदमै गाह्रो थियो । मैले बुझ्दा र त्यो पात्र अनुभव गरिरहँदा मलाई निकै गाह्रो भएको थियो’, अञ्जनाले सुनाइन्।

अञ्जनाले यो चलचित्रमा काम गर्नुभन्दा अघि जातीय विभेदका घटनाबारे नसुनेकी भने होइनन् । तर, किन यस्ता घटना हुन्छन् भन्ने कुरा स्क्रिप्ट पढेपछि र वर्कसपमा बसेपछि मात्र थाहा पाइन् । ‘स्क्रिप्ट पढ्दै जाँदा र स्क्रिप्ट अनुसार दृश्य बनाइरहँदा यहाँ पुगेर यतिको हिंसा हुने रहेछ भन्ने थाहा पाएँ । स्क्रिप्टले यो सबै सहजै बुझाउँथ्यो । स्क्रिप्ट पढिसक्दा यहाँ हिंसाको अवस्था यसरी हुँदो रहेछ भन्ने थाहा भयो’, उनले भनिन्।

‘पुजार सार्की’को आफ्नो भूमिकालाई दर्शकले माया गर्नेमा अञ्जना ढुक्क हुनुहन्छ । ‘अवसर पायो भने काम गरेर देखाउँछिन् भन्ने कुरालाई मैले ‘पुजार सार्की’मा प्रमाणित गरेकी छु’, उनी भन्छिन् । यही बिहीबारदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘पुजार सार्की’मा प्रदीप खड्का, पल शाह, परीक्षा लिम्बुलगायतको प्रमुख अभिनय छ । सुवास भुसालले यो चलचित्र निर्माण गरेका हुन्।
 

प्रतिक्रिया