किन ? हामी यो देश बन्दैन भनेर चियापसलमा गफ गरिरहेका छौँ

योगी विकासानन्द     २२ चैत २०७७, आइतबार
किन ? हामी यो देश बन्दैन भनेर चियापसलमा गफ गरिरहेका छौँ

हाम्रो देशसँग जेजति सम्भावना छ, त्यसको आधारमा देश विकसित बन्न सकेन भन्ने बुझाइसँग सम्पूर्ण नेपाली सहमत छौँ। हरेक राजनीतिक परिवर्तनपश्चात् देशले आर्थिक उन्नति गर्छ भन्ने उत्साह देखिन्छ। तर, त्यो उत्साह केही वर्ष बित्दा नबित्दै निराशामा परिणत हुन्छ। 

सात सालको प्रजातान्त्रिक परिवर्तनले मात्र होइन,  सत्र सालको निरंकुशव्यवस्थाले पनि विकास र समृद्धि ल्याउँछ भनेर जनतालाई बुझाइएको थियो। त्यसैगरी, छयालिस सालको परिवर्तनपछि नेपाल सिंगापुरजस्तै बनाइने र २०६२-६३ को परिवर्तनपश्चात् स्विट्जरल्याडजस्तै विकासको पथमा अगाडि बढ्ने भन्ने विषय खूब प्रचारित भयो। 

विगतमा राजदरबारको चलखेल, लोकतान्त्रिक आन्दोलनमै केन्द्रित हुनुपर्ने बाध्यता र अस्थिर सरकारलगायत कारणले विकास–निर्माणका काम अगाडि बढ्न सकेन भन्ने गरिन्थ्यो। यी भनाइसँग राजनीतिक दल मात्र होइन, हामी जनता पनि लगभग सहमत नै थियौँ। तर, आज हामीसँग गणतान्त्रिक शासन व्यवस्था छ। 

अधिकारसम्पन्न स्थानीयतह छन्। विकेन्द्रीकृत वा संघीय शासन व्यवस्थाअन्तगर्त प्रदेशसभाहरू क्रियाशील छन्।  हिजो जे–जे अभावलेगर्दा विकास भएन भन्ने गरिन्थ्यो, आज ती सम्पूर्ण अभावको पूर्ति भइसकेको छ। 

तर, पनि हामी यो देश बन्दैन भनेर चियापसलमा गफ गरिरहेका छौँ। किन ? इतिहासमा चौथो पटक गठन भएको बहुमतको सरकारले भर्खरै एक वर्ष पार गरेकोछ। एक वर्ष बित्दानबित्दै हामी यो सरकारबाट पनि केही हुँदैन भन्न थालेका छौँ। 

नयाँ शासन व्यवस्था, हरेक तह, तप्का र क्षेत्रमा अधिकार प्रत्यायोजित भएको प्रणाली र पूर्ण बहुमतको सरकारबाट देशले समृद्धि हासिल गर्छ भन्नेहरू पनि निराशहुन थालेका छन्। सरकारप्रति विरोधको स्वर सघन बन्दै जान थालेको छ। यी सबै परिदृश्यले गर्दा यो सरकार पनि विगतकै सरकारहरूको पुनरावृत्ति त होइन भन्ने भय बढेर गएको छ।

जनतामा जागेको तीव्र विकासको प्यासलाई देखिनेगरी सम्वोधन गर्न नसकेकै कारण सरकार आलोचित भएको हो। भ्रष्टाचार, अनियमितता वा अख्तियारको दुरुपयोगमाआम जनता असन्तुष्ट हुनु स्वाभाविकै हो। तर, अहिलेको असन्तुष्टिमा सरकार विकास र समृद्धिको मार्गमा अगाडि बढ्न सकेन वा चाहेन भन्ने विषय नै केन्द्रमा छ। 

हामीले खोजेको विकास के हो ? उक्त विकास प्राप्त गर्नका लागि हामीले के– कस्ता पद्धति र नीति–नियम बनाउनुपर्छ ? हामीले सोचेको विकासमा के–के बन्नुपर्छ ? हामीसँग रहेका कुन–कुन पूर्वाधार र सम्भाव्यताले हामीलाई समृद्धिसम्म पुर्या‍उँछन्? विकास प्राप्त गर्न जाने मार्ग कस्तो हुनुपर्छ ? हाम्रो विकासको मोडल के हो ?यी र यस्ता विषयमा हामीले खासै बहस गर्न सकिरहेका छैनौँ। कोही ली क्वान यूलाई आदर्श मान्दै सिंगापुरमोडलको चर्चा 
गरिरहेका छन्। 

कतिपयले मलेसियाको विकाससँग जोडेर उक्त मोडल नेपालले अनुसरण गर्नुपर्छ भनिरहेका छन्। तर, नेपालको विकास मोडल के हो ? समृद्धि हासिल गर्न नेपाल कुन क्षेत्रमा केन्द्रित हुने ?

हामीलाई पर्यटन, कृषि, पानी वा कुन क्षेत्रले माथि उकास्छ ? यी र यस्ता विषयमा हाम्रो साझा बुझाइ निर्माण हुनैपर्छ। यो निर्माण भएन भने हामीले भन्ने गरेको समृद्धि हासिल हुन सक्दैन।

विकास मोडल 
प्रयोग, अनुभव र उपलब्धिका आधारमा संसारभर विकासका विभिन्न मोडल प्रचलनमा आएका छन्। नेपालको सन्दर्भमा कुन मोडल ठीक हुन्छ भन्ने प्रश्न विभिन्न क्षेत्रबाट सुन्ने गरिन्छ। 

कुन देशले अपनाएको मोडल हामीलाई ठीक हुन्छ भन्ने प्रश्न अनुपयुक्त र अप्रासंगिक छ। किनकि, सम्बन्धित देश, काल, परिस्थति र स्रोत तथा साधनका आधारम विकास मोडल तयार गरिनुपर्छ। आफूसँग जे छ, सोहीअनुरूप तयार पारिएको मोडल नै वास्तविक विकास मोडल हो। 

अमेरिकाले अपनाएको विकास मोडल हाम्रा लागि अनुपयुक्त हुन सक्छ। जुन युग र कालखण्डमा अमेरिकाले विकासको गति लियो, आज नेपाल उक्त कालखण्डमा छैन। हिजो प्रासंगिक भएको विषय आज अप्रासंगिक भइसकेको हुन्छ। 

अमेरिकाले आफ्नो विकास विज्ञान र प्रविधिमा टेकेर गरेको हो। यसको अर्थ अमेरिकाको विकास मोडल विज्ञान र प्रविधिसँग सम्बन्धित छ। थाइल्यान्डले आज प्राप्त गरेको विकासका पछाडि त्यहाँको कृषि र यौन पर्यटनको महŒवपूर्ण भूमिका छ। 

उसले कृषि र यौन पर्यटनलाई उच्च प्राथमिकता दिएका कारण ऊ सफल भएको हो। मोनाको भन्ने एउटा युरोपेली देश छ। जसले ‘ट्याक्स फ्री’ को नीतिलाई कार्यान्वयन गरिरहेको छ। ‘ट्याक्स फ्री’ भएका कारण त्यहाँ ठूलो लगानी भित्रिएको छ। संसारभरका धनाढ्यहरु गएपछि देश आफैँ धनी बन्छ। 

अब मोनाकोको विकास मोडल भनेको ‘ट्याक्स फ्री’ हो। खाडी मुलुकहरूले आफ्ना स्रोत र साधन परिचालनका लागि वैदेशिक लगानीकर्ता भिœयाए। आज खाडी मुलुकको विकास हुनुका पछाडि वैदेशिक लगानीलाई सहज प्रवेश दिनु नै प्रमुख कारण हो। 

हामी तेलका कारण खाडी मुलुक धनी भएको हो भन्ने ठान्छौँ। तर, यो अर्धसत्य मात्र हो। उनीहरूले आफ्नो तेललाई सही ढंगले परिचालन गर्ने र देशलाई धनी बनाउने जुन नीति ल्याए, त्यसले नै उनीहरूलाई धनी बनाएको हो। 

तेलको प्रचुर भण्डार रहेका कैयौँ मुलुकआज पनि गरिब छन्। उनीहरू विभिन्न किसिमका द्वन्द्वमा फसिरहेका छन्। तेल मात्र होइन, हिरालगायत बहुमूल्य खानी भएका अफ्रिकाका कतिपय मुलुक संसारका सबैभन्दा गरिव मुलुक बन्नुबाट नै खाडी मुलुकहरू तेलले होइन, तेल परिचालनको सही नीतिले धनी भएका हुन् भन्ने स्पष्ट हुन्छ। 

अहिले यूएईले पर्यटन प्रवद्र्धनमा जोड दिइरहेको छ। तर, आजभन्दा ५० वर्षअघि उसले आफूलाई पर्यटकीय गन्तव्य बनाउँछु भनेर लागेको भए ऊ विकसित राष्ट्र बन्थ्यो होला ?त्यसैगरी, आज हामीले पनि सूचना–प्रविधिका उत्पादन निर्यात गरेर देशलाई विकसित गर्छाैं भन्ने नीति अगाडि सार्यौँ‍ भने हाम्रो देश सफल देश बन्छ होला ?पक्कै पनि बन्दैन। हामीसँग जे छ, त्यसलाई टेकेर विकास मोडल बनाउन सक्यौँ भने मात्र हामी सफल बन्छौँ। 

लक्ष्य र कक्ष 
हरेक मानिसलाई आफू पुग्ने गन्तव्य वा लक्ष्यबारे थाहा हुन्छ। तर, उसलाई आफ्नो कक्षबारे थाहा हुँदैन। अधिकांश मानिस लक्ष्यबारे स्पष्ट हुन्छन् तर कक्षबारे पूर्ण अन्योलग्रस्त। कक्ष अर्थात् अहिले आफू कहाँ छु भन्ने बोध नभएसम्म कुनै व्यक्ति, संस्था वा देशले प्रगति गर्न सक्दैन। 

अहिले नेपाल यही ‘कक्ष’को ठम्याइमा निकै अलमलिएको प्रतीत हुन्छ, जसकारण महाथिर मोहमद, ली क्वान यू, गुजरात मोडलका विषयमा हामी छलफल गरिरहेका हुन्छौँ। अन्य देशको विकास र प्रगतिलाई अनुसरण त गर्न सकिन्छ तर अनुकरण गर्न सकिन्न। 

हाम्रा छलफलमा अनुसरणभन्दा पनि अनुकरणको मात्रा बढी छ। किनकि, हामीलाई महाथिर मोहमद र ली क्वान यूजस्तै नेता चाहिन्छ भन्नु अनुसरण होइन, अनुकरण हो। महाथिर मोहमद र ली क्वान यूले मलेसिया र सिंगापुरको तत्कालीन सम्भाव्यतालाई ठम्याएर प्रगति गरे। तर, आज नेपालको सम्भाव्यता ठम्याएर अगाडि बढ्न महाथिर मोहमद र ली क्वान यू पनि असफल हुन सक्छन्। 

विकासको यात्राका लागि सबैभन्दा पहिला कक्ष थाहा हुनैपर्छ। म कहाँ छु भन्ने स्पष्ट भएपछि म कसरी हिँड्ने, हिँड्नका लागि के–के चाहिन्छ र कति समय हिँडेपछि म लक्ष्यमा पुग्न सक्छु भन्ने स्पष्ट हुन्छ। 

कक्षको स्पष्ट बोध नभएका कारण हामीलाई पानीजहाजले देशको विकास हुन्छ कि जस्तो लाग्छ। एयरपोर्ट बनेपछि हामी सम्पन्न हुन्छौँ कि जस्तो लाग्छ। सडक भएपछि सम्पन्न होइन्छ कि जस्तो लाग्छ। तर, एउटा कुरा याद गरौँ,अधिकांश सडक यातायात पुगेका स्थलहरूमा जग्गाको मूल्यवृद्धिभन्दा बढी हामीले के हात पारेका छौँ? 

नयाँ बनेको सडकको छेउमा खुलेको होटलमा भारतबाट आएको चामलको भात पकाएर यात्रुलाई खुवाउँदैमा सडकबाट समृद्धि आउँछ भन्न सकिन्छ ? यसको अर्थ सडक विकासको अंग होइन भन्न खोजिएको होइन। सडक विकासको साधन हो, साध्य होइन। 

जबसम्म उक्त सडकको पहुँचलाई आत्मसात् गरेर किसानले तरकारी उत्पादन गर्दैनन्, तबसम्म सडकबाट समृद्धि सम्भव हुँदैन। आज हामी विकासको सन्दर्भमा साध्यभन्दा पनि साधनको बढी चर्चा गरिरहेका छौँ। साधन त आवश्यक पर्छ, तर त्योभन्दा पनि महत्त्वपूर्ण विषय हामी साध्यप्रति स्पष्ट हुनु जरुरी छ। 

हाम्रो कक्ष 
आज पनि नेपाल प्राकृतिक दृष्टिले संसारको सुन्दरतम मुलुकमा दरिएको छ। हरेक वर्ष विश्वका पर्यटकीय गन्तव्य घोषणा गरिँदा नेपालले आजसम्म पनि उत्कृष्ट १० बाट बाहिरिनुपरेको छैन। यो हामीलाई प्रकृतिले प्रदान गरेको अमूल्य वरदान हो। 

जसरी खाडी मुलुकलाई प्रकृतिले तेल दियो, त्यसैगरी हामीलाई प्रकृतिले हिमाल, पहाड र तराईभित्र समेटिएको अद्भुत प्राकृतिक सौन्दर्य दियो। यही प्राकृतिक सुन्दरताको महत्त्वबोध गर्नु वा यसबाट नै समृद्धि सम्भव छ भनेर ठम्याउनु नै हामीले आफ्नो कक्षलाई बुझ्नु हो। 

यो कक्षलाई आत्मसात् गरिसकेपछि हाम्रो सबैभन्दा ठूलो उद्योग नै पर्यटन हो भनेर ठम्याउन मुश्किल पर्दैन। तसर्थ हामीले हाम्रो देशलाई पर्यटनमा टेकेर बनाउनुपर्छ। तर, हाम्रो राज्यले पर्यटनलाई अझै उच्च प्राथमिकतामा राख्न सकेको छैन। हाम्रा सम्पूर्ण अवधारणा, नीति–नियम र पूर्वाधारहरू पर्यटनमुखी नभईकन हामीले पर्यटनलाई उद्योगका रूपमा अगाडि बढाउन सक्दैनौँ।  

हामीले सोच्दा पर्यटन विकासका बाधा के–के हुन् र ती बाधा पन्छाउन के–के गर्नुपर्छ भन्ने दृष्टिबाट सोच्नुपर्छ। अहिले विकासका चार–पाँच वटा संभाव्यताभित्र एउटा पर्यटन पनि हो भने जसरी कार्य भइरहेको छ। 

यस्तो कार्यले हामीलाई कतै पनि पुर्याऔउँदैन। हाम्रो सम्पूर्ण ध्यान पर्यटनकै विकासमा केन्द्रित हुनुपर्छ, जसरी खाडी मुलुकहरूले सम्पूर्ण ध्यान, ऊर्जा, नीति तेलमै केन्द्रित गरेर संसारका धनी राष्ट्रका श्रेणीमा आफूलाई उभ्याएका छन्। 
 

प्रतिक्रिया