मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त

राम्रो अनलाइन     २४ कात्तिक २०८२, सोमबार
मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त

जनकपुरधाम– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभारग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाम तनावग्रस्त बनेको छ । मुख्यमन्त्री नियुिक्तको विरोधमा उत्रेका विपक्षी राजनीतिक दलसम्बद्ध कार्यकर्ताले यहाँस्थित विभिन्न मन्त्रालयका फर्निचरलगायतका सामग्री तोडफोड गरेका छन् । उनीहरूले प्रदेशअन्तर्गतका मन्त्रालयहरूमा तालाबन्दी गरेका छन् ।
 
यसैगरी बजारका विभिन्न ठाउँमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका विपक्षी नेता तथा कार्यकर्ताहरू प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र नवनियुक्त मुख्यमन्त्री यादवको विरोधमा नाराबाजी गरिरहेका छन् ।    

आज बिहानै प्रदेश प्रमुख भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको खबर सार्वजनिक भएसँगै जनकपुरधाममा विरोध प्रदर्शन भएको हो ।
 
यसैबीच लोसपा प्रदेश संसदीय दलका नेता जेनुल राइनले मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुख भण्डारीको भूमिका शङ्कास्पद भएको आरोप लगाउँदै मुख्यमन्त्री नियुक्तिको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने बताए । 
 
यता, जिल्ला प्रशासन कार्यालय धनुषाले संयमित भई विरोधका कार्यक्रम गर्न आग्रह गरिहेको, तनावको वातावरण अन्त्य गर्न अधिकतम प्रयास गरिरहेको र मानवीय तथा भौतिक क्षति हुन नदिन संयम अपनाइरहेको स्पष्ट गरेको छ ।  

प्रतिक्रिया