मनोरञ्जनसँगै सामाजिक दायित्वलाई पनि निर्वाह गर्छौंः गायक विवेक श्रेष्ठ

राम्रो अनलाइन     २४ कात्तिक २०८२, सोमबार
मनोरञ्जनसँगै सामाजिक दायित्वलाई पनि निर्वाह गर्छौंः गायक विवेक श्रेष्ठ

काठमाडौँ–गायक विवेक श्रेष्ठले कलाकारले मनोरञ्जनसँगै सामाजिक दायित्व पनि बहन गर्नुपर्ने बताएका छन्। 

आज उत्तरढोकामा साङ्गीतिक समूह ‘कन्दरा ब्याण्ड’ले आयोजना गरेको पत्रकार सम्मनेलनमा गायक श्रेष्ठले देश परिवर्तनको सङ्घारमा रहेकाले सङ्गीत सर्जकको नाताले आफ्नो दायित्व बहन गर्दै परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्ने बताए। 

उनले भने, “जेनजी पुस्ताको आन्दोलनपश्चात् प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कार्यमा हामीले पनि आफ्नो जिम्मेवारी बुझ्नुपर्छ । हामी कलाकारले कलाको माध्यमले यो परिवर्तनमा कसरी टेवा पुर्‍याउन सकिन्छ भन्ने विषय बुझेर आफ्नो जिम्मवारी पूरा गर्नुपर्छ । यो हाम्रो कर्तव्य र धर्म पनि हो ।”

गायक श्रेष्ठले आफ्नो साङ्गीतिक समूह कन्दराले गर्ने आउँदा हरेक कार्यक्रममा मनोरञ्जनसँगै सामाजिक दायित्वलाई जोड्ने बताए। उनले ‘रिदम अफ चेञ्ज’ भन्ने नाराका साथ यही कात्तिक २८ मा काठमाडौँमा ‘काठमाडौँ कलिङ्ग कन्दरा’ नामक साङ्गीतिक कार्यक्रम गर्ने जानकारी दिए। 

“हाम्रो अभियानको सुरुआत हामीले आगामी शुक्रबारबाट गर्दैछौँ । अहिलेको नयाँ पुस्ताको बाहुल्यता क्लबमा हुने भएकाले हामीले सङ्गीतको माध्यमले त्यहाँ आउने पुस्तालाई सामाजिक दायित्व पनि बोध गराउने छौँ । यो हाम्रो सुरुआत हो, हाम्रो आगामी कार्यक्रममा यस्तै अभियानले निरन्तरता पाउने छ”, गायक श्रेष्ठले भने। 

उनले कात्तिक २८ मा ‘छो क्लब’मा साँझ हुने कार्यक्रमलाई नयाँ पुस्तासँग जोड्ने नवीनतम कडीको रुपमा व्याख्या गरे। कास्कीको सुन्दर नगरी पोखरामा ३२ वर्ष अगाडि स्थापना भएको ‘कन्दरा ब्याण्ड’ आफ्नो मौलिक पहिचानका कारण नयाँपुस्तासम्म पनि लोकप्रिय छ ।  

‘चञ्चले कान्छी’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल राखी’, ‘भेडीगोठैमा’, ‘लेककी हे माया’ लगायतका गीत कन्दरा ब्याण्डको लोकप्रिय गीत हो । उक्त समूहमा गायक श्रेष्ठसँगै, ‘ड्रमर’ सुनिल थापा, मादलमा अभिनाश गायक, ‘वासिस्ट’ पङ्कज झा, ‘गीतारिष्ट’ सन्देश मुजो, ‘किबोर्ड’मा नील घतानी, ‘साउण्ड इन्जिनियर’ सिमोन तझ्या, प्राविधिकविज्ञ नवीन थापा हुन्। 

प्रतिक्रिया