ढुङ्गे युगको राजनीति गरेर आधुनिक परिवर्तनको सपना ?

गुरु केदार बराल     २२ असोज २०८३, बिहिबार
ढुङ्गे युगको राजनीति गरेर आधुनिक परिवर्तनको सपना ?

कांग्रेसले देश परिवर्तन गर्छ भन्ने नारा सुन्दा अब एउटा प्रश्न उठ्छ–देश परिवर्तन गर्ने भनिएको पार्टी आफैंचाहिँ कहिले परिवर्तन हुन्छ ?

आज संसार डिजिटल युगमा दौडिरहेको छ। राजनीति, चुनाव र संगठन सञ्चालनका नयाँ प्रविधि प्रयोग भइरहेका छन्। तर हाम्रो राजनीति अझै पनि पुरानै शैली, पुरानै गुटबन्दी र पुरानै भागबन्डाको चक्रमा घुमिरहेको देखिन्छ। लाग्छ, चुनाव त आधुनिक नेपालमा हुँदैछ, तर सोच भने अझै ढुङ्गे युगमै अड्किएको छ।

पार्टीभित्र विचारभन्दा गुट बलियो, योग्यताभन्दा आफ्नो मान्छे बलियो र नीतिभन्दा व्यक्तिगत स्वार्थ बलियो भएपछि देश परिवर्तनको सपना कसरी पूरा हुन्छ ?

अझ विडम्बना त के छ भने, आफूलाई लडाउने बाहिरी शक्ति खोज्नुपर्दैन–आफ्नै मान्छे आफ्नै मान्छेलाई लडाउन व्यस्त छन्। पद, पहुँच, कमिसन र व्यक्तिगत स्वार्थको वरिपरि राजनीति घुमिरहने हो भने जनताले परिवर्तनको आशा कसरी गर्ने ?

अब नेपाली जनताले भाषण होइन, राजनीतिक संस्कारको परिवर्तन खोजेका छन्। चुनावमा पोस्टर, पर्चा र गुट होइन–प्रविधि, पारदर्शिता, नीति, योग्यता र परिणाम चाहिएको छ।

देश बदल्ने हो भने पहिले पार्टी बदलिनुपर्छ।
पार्टी बदल्ने हो भने पहिले सोच बदलिनुपर्छ।
सोच नबदली परिवर्तनको नारा लगाउनु भनेको पुरानो सटरमा नयाँ बोर्ड झुन्ड्याएर नयाँ पसल खोलेको घोषणा गर्नुजस्तै हो।

प्रतिक्रिया