भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ । कोरोना भाइरस कोभिड–१९ पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व सङ्कलन बढ्दै गएको हो ।
भरतपुर महानगरपालिकाले हालसम्म रु २५ करोड ५० लाख राजस्व संकलन गरेको छ । असार मसान्तसम्ममा रु ९० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ जसमा रजिष्ट्रेसन सेवा शुल्कसमेत छ । गत वर्ष यसै हाराहारीमा राजस्व सङ्कलन भएको थियो । महानगरको आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल राजस्वको दायरामा आउन नसकेका करदाताका घर घरमा टोली परिचालन गर्न थालिएको बताउँछन् । महानगरले निजी क्षेत्रसँग सहकार्य गरेर राजस्व सङ्कलनलाई तीव्रता दिएको छ । अर्यालले भने, “हामीले स्थलगतरुपमा कर दाताको नवीकरण र राजस्व सङ्कलनसमेत गर्न थालेका छौँ ।” महानगरमा करको दायरामा ६० प्रतिशत हाराहारी व्यवसायी आएका छन् । यसलाई ८० प्रतिशतमा पुर्याउने लक्ष्यका साथ अभियान थालिएको छ ।
महानगरपालिकाको राजस्व परामर्श र सङ्कलन समितिका संयोजकसमेत रहेकी उपप्रमुख पार्वती शाह ठकुरी हिजोआज हरेक हप्ता राजस्व सङ्कलनको विषयमा नियमित छलफल गरी सङ्कलनमा जोड दिएको बताउँछिन् । टोली परिचालनसँगै ठूला करदातालाई पत्राचार गर्ने काम भइरहेको उनको भनाइ छ । उनले भनिन्, “यो वर्ष हामीले दर बढाएका छैनौँ दायरा बढाउने काममा लागि परेका छौँ ।” सबैलाई करको दायरामा आउन अनुरोध गर्दै उनले सबैले कर तिरेमा दर बढाउनु नपर्ने बताइन् ।
महानगर प्रमुख रेनु दाहाल कोरोनाका कारण सङ्कलनमा केही कमी भए पनि सन्तोषजनक रहेको बताउँछिन् । महानगरपालिकाले कर सङ्कलनलाई अभियानका रुपमा अघि बढाएको भन्दै उनले यसमा साथ र सहयोग गर्न निजी क्षेत्रसँग अनुरोध गरिन् । आन्तरिक आम्दानी बढाउन सकेमा महानगरको विकासमा थप सहयोग पुग्ने दाहालको भनाइ छ । आन्तरिक आम्दानी कम भए पनि महानगरपालिकाले सङ्घीय सरकारका विभिन्न मन्त्रालयमा निरन्तर पहलकदमी गरेर ठूला आयोजना महानगर क्षेत्रमा पार्न सफल भएको दाहालले जानकारी दिइन् ।
चालु आर्थिक वर्षको बाँकी अवधिमा लक्ष्यअनुसार राजस्व असूलीका लागि साना ठूला करदाताको सूचीकरण, वडामा स्थलगतरूपमा कर शिक्षा र स्थलगतरूपमा व्यवसाय दर्ता अभियान सञ्चालन, करदाताको कर अभिलेखाङ्कन डिजिटाइजेसन तथा अनलाइन भुक्तानीको व्यवस्थाजस्ता उपाय अवलम्बनमा जोड दिई करको दायरा फराकिलो पार्दै लगिएको उनले जानकारी दिइन् ।