भारतले आफूलाई विश्वको ठूलो लोकतान्त्रिक मुलुक मान्छ। तर त्यही भारतमा केही समययता सञ्चारमाध्यमको भूमिका गौण बन्दै गइरहेको छ। भारतमा जे भइरहेको छ, यसको प्रभाव विस्तारै छिमेकमा पनि पर्ने हो कि भन्ने चिन्ता गर्नुपर्ने धारणा सञ्चार क्षेत्रमा लागेकाहरूको छ।
काठमाडौँमा शनिबार आयोजना भएको हिमाल मिडिया मेलामा उपस्थित वक्ताहरूले यस्तो चिन्ता जाहेर गरेका हुन्। कार्यक्रमका मुख्य आकर्षण बनेका भारतीय पत्रकार रवीश कुमारले आफ्नो देशको पत्रकारिताको अवस्थाबारे विचार राखे। भारतमा पहिले साहसिक र व्यावसायिक पत्रकारिता हुने गरेको तर अहिले अवस्था फेरिएको बताए रोमन म्यागसेसे विजेता रवीशले।
नेपाली पत्रकारहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा रवीशले शासकले जनतामाथि दमन गर्न भारतमा गोदी मिडियालाई अघि सारेको धारणा राखे। भारतीय जनता पार्टी ९भाजपा०नेतृत्वको सरकारलाई एकोहोरो समर्थन गर्ने भारतीय सञ्चारमाध्यमलाई उनले गोदी मिडियाको संज्ञा दिएका हुन्।
भारतमा सञ्चारमाध्यमले नागािरकको नभई सरकारको आवाज बोलिरहेको भन्दै उनले भने, ‘सञ्चारमाध्यमले आम नागरिकको आवाज बोल्नुपर्नेमा सरकारको जयजयकार गरिरहेका छन्। नागरिकलाई प्रश्न सोध्न रोक्ने र विरोधलाई मत्थर पार्न सञ्चारमाध्यमलाई अग्रदस्तामा खटाउने काम पनि उनीहरूले गरिरहेका छन्।’
‘यो भारतीय सञ्चारमाध्यमको लज्जास्पद कार्य हो। भारतीय लोकतन्त्रमाथिको प्रहार हो। कम्तीमा नेपालमा त्यस्तो अवस्था आइसकेको छैन। भारतको तुलनामा यहाँ अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपभोग गर्न पाइएको छ।’ रवीशले थपे।
एनडीटीभीका वरिष्ठ कार्यकारी सम्पादक रहेका रवीश नेपालसँग सीमा जोडिएको राज्य विहार चम्पारणका हुन्। उनको तीन वर्षअघि प्रकाशित पुस्तक ‘बोलना हि है’मा पत्रकारितामा देखिएको विसंगतिको गहिरो चिरफार गरेका छन्।
नेपाल नजिकैको क्षेत्रका भए पनि रवीश पहिलो पटक नेपाल ओर्लिएका हुन्। हिमाल मिडियाको निम्तोमा नेपाल आएका रविशले पत्रकारिता धेरै बद्लिएको धारणा राखे। ‘पत्रकारितमा गल्ती औल्याउने काम हुन्थे, इथिक्स फलो गरिन्थ्यो तर अचेल यो चलन कमजोर बनेको छ,’ रवीशले भने।
भारतीय पत्रकारितामा आदर्श र उद्देश्य समाप्त भइसकेको धारणा पनि उनले राखे। ‘केही त्यस्ता आर्दश पत्रकार र पत्रकारिता बचेका भए पनि त्यो सानो तलाउको रूपमा छ। पत्रकारिता सिक्ने, गर्ने भनेको बिस्तारै–बिस्तारै कुनै मुद्दा, विषयमा गहिराईमा पुग्ने र विज्ञ हुने हो तर अहिले त्यस्तो प्रचलन देखिँदैन। भारतमा यस्तो प्रचलन बाँकी छैन। त्यहाँ त अहिले केवल धार्मिक कट्टरताको विद्वेश फैलाउने काम भइरहेको छ। पहिले पहिले यस्ता क्रियाकलापविरूद्ध आवाज उठ्थे, यसो गर्नु ठीक होइन भनिन्थ्यो तर यस्ता आवाज कमजोर हुँदै गएका छन्,’ रवीशले भने।
‘पत्रकारिता गर्न गहन अध्ययन चाहिन्छ। धैर्यको आवश्यक पर्छ। तर अहिलेका पत्रकारिता गालीगलौजमा सीमित छ। नेताले कसैलाई केही भनिदिन्छ, हामी त्यसैलाई समाचार बनाएर सम्प्रेसण गरिरहेका हुन्छौँ। यो गलत हो। गालीलाई मात्रै समाचार बनाउन किन पत्रकारिता नै गर्नु पर्यो ररु,’ रवीशको प्रश्न थियो।
उनका अनुसार भारतमाजस्तो पत्रकारिताको अभ्यास भइरहेको छ, त्यो गलत रहेको ठम्याउन नयाँ पुस्ता सक्षम हुनुपर्ने रवीशको भनाइ थियो। ‘कुन नेताले कोसँग भेटे कति वटा तस्बिर खिचे, के खाए यस्तै यस्तै समाचार बनिरहेका छन्। अहिले भारत वा अन्य मुलुकमा जे भइरहेको छ, त्यो पत्रकारिता नै होइन। प्रश्न र प्रतिप्रश्न बीनाको पत्रकारिता कसरी अघि बढ्छ । यो त वान वे ट्राफिक भयो नि,’ रवीशले भने।
‘अनलाईन, म्यागेजिन, टीभी वा पत्रिकाले आजकाल समाचारमा सूचना दिन छाडेका छन्। उनीहरूको समाचार यस्तो कार्यक्रम छ, भेटघाट छ, उद्घाटन छ भन्नेमै सीमित भएको छ। जब समाज सूचनाविहीन बन्दै जान्छ तब समाज नै फरक ढंगमा दौडिन्छ। समाजलाई सूचनाविहीन बनाउने काममा सञ्चारमाध्यम लागि परेका छन्,’ रवीशको बुझाइ थियो।
‘मलाई पनि भारतमा भाजपा र मोदी विरोधी भनिन्छ । तर म त्यस्तो आरोपका कारण चिन्तामा डुब्दिनँ। म समुन्द्र छाडेर तलाउतिर जाँदिनँ। इथिक्समा रहेर पत्रकारिता गर्नु भनेको समुन्द्रमा रमाउनु हो। त्यहाँबाट बाहिर निस्किनु भनेको तलाउमा हाम फाल्नु हो,’ रवीशले भने, ‘पछिल्लो समय हाम्रो देशमा प्रश्न गर्नु नै गलत हो भन्ने स्थापित गर्न खोजिएको छ। तर म प्रश्न गर्न छाड्ने छैन। बरू विरोधीकै आरोप खेप्नेछु। पत्रकारले सही ढंगले प्रश्न सोध्यो कि सोधेन भनेर सजग हुुनुपर्ने हो। तर यहाँ त पत्रकारले प्रश्नै सोध्नु हुन्न भनिँदैछ।’
भाजपाले विरोधीको कित्तामा राखे पनि आफू भाजपाको विरोधी नरहेको रवीशको भनाइ थियो। ‘म भाजपा विरोधी होइन। बरू भाजपा मेरो विरोधी हो। पत्रकारिताको धर्म नै मार्ने काम भाजपाबाट हुँदै आएको छ। पत्रकारिता भनेको एउटा प्रणालीमा बसेर सूचना र जानकारीमा पहुँच राख्ने काम हो। आम मानिस भन्दा फरक सोच्ने व्यक्ति पनि पत्रकार हुनसक्छ। अहिले सञ्चारमाध्यमलाई सूचनाको पहुँचबाट बाहिर राखिएको देखिन्छ। यसकारण पत्रकारलाई सूचनाको गहिराईमा पुग्न सजिलो छैन। फेरि गहिराईमा पुग्न नसकिने पत्रकारितालाई पत्रकारिता मान्न सकिँदैन। अहिले विषयवस्तुको गहिराईमा पुग्ने पत्रकारको सख्या कम भएको छ,’ रवीशले भने।
उनले पत्रकार पूर्ण सूचना भन्दा पनि आफ्नो वा आफू निकटको धारणा लिएर नागरिकमो पुग्ने गरेको धारणा राखे। ‘अझ भारतमा त गोदी मिडिया सामाजिक सञ्जालबाट आएका कुरा लिएर नागरिकमा पुग्छन्। यस्तो तालले पत्रकारितामा सुधार आउँदैन । यसो भएपछि कसरी आम नागरिकले सही सूचना पाउँछन्रु’ रवीशले प्रश्न गरे।
‘भारतमा त अहिले सरकारको आलोचना गरिएको समाचार जान सक्ने अवस्था नै छैन। नेपालमा भने केही हदसम्म सरकारको आलोचना भएको देख्छु। नेपालको केन्द्रीय बैंकमा सरकारको हस्तक्षेप भएको विषय ठूलो समाचार बन्यो। तर भारतमा त्यस्तो विषय समाचार बन्दैन,’ रवीशले भने।
भारतीय सञ्चारमाध्यमा ठूला घोटलाका खबर नै नआउने रवीशको भनाइ थियो। ‘के भारतमा कुनै क्षेत्रमा घोटला भएको छैनरु भएको छ भने त्यसबारे सामचार खोइ तरु यस्ता सामचार आउनु पर्नेमा भारतीय पत्रकारिता भक्स पपमा सीमित भएको छ। भारतमा निर्वाचन हुँदा एकै प्रकारका धारणा हरेक दिन छापिए। पत्रकारितामार्फत एउटै किसिमको विचारलाई स्थापना गर्ने प्रयास भइरहेको छ,’ रवीशको जिकिर गरे।
भारतमा अंग्रेजीको तुलनामा हिन्दी भाषाको पत्रकारिता बढी विषाक्त बन्दै गइरहेको रवीशको धारणा छ। ‘हिन्दी भाषामा हुने पत्रकारितामा साम्प्रदायीकता र धार्मिक मुद्दालाई बढी ठाउँ दिइन्छ। ती सबै हिन्दु मिडिया बनेका छन् । हिन्दी भाषा वा अन्य भाषाका क्षेत्रीय मिडियामा आम नागरिकको समस्याले स्थान पाउँदैनन्,’ रवीशले भने।
उनले आम नागरिकले आफैँ सचेत बनेर सञ्चारमाध्यम चयन गनुपर्ने बताउँछन्। त्यहाँ आउने समाचामा पूर्ण सूचना छ वा छैन, समाजमा त्यसको कस्तो असर पर्छ लगायतका कुरामा नागरिक सचेत बन्नुपर्ने रवीशको सुझाव छ। ‘भारतमा हामी दिनरात मस्जिदमा हुने लाउड स्पिकरको विषयमा समाचार बनाउँछौँ, बहस चलाउँछौँ। बलिउड कलाकार सुशान्त सिंह राजपुतको आत्महत्याबारे महिनौँसम्म फर्जी समाचार छाप्यौँ, प्रशारण गर्यौँ। बहस पनि भयो। त्यही प्रक्रियामा रिया चक्रवर्तीलाई लागूऔषधका विषयमा बिनाकारण मुछ्ने काम भयो। यस्तै दिक्कलाग्दा सिलसिलाका कारण मैले टिभी नहेर्नु भनको हो,’ रवीशले भने।
‘गोदी मिडियाले आम नागरिकलाई आफ्नो अनुकुलतामा ढाल्न खोजिरहेका छन्। यसो गर्न उनीहरू फेक न्युजको सहारा लिन्छन्। यसविरूद्ध हामीले बोल्न छाड्नु हुँदैन । मलाई लाग्छ विस्तारै आम नागरिकले पनि यो कुरा बुझ्दै जानेछन्,’ रवीशले थपे।
भारतमा गोदी मिडियाविरूद्ध नागरिक सचेत बन्दै गइरहेको बताउँदै उनले किसान आन्दोलनको उदाहरण दिए। ‘किसानले गोदी मिडियाबारे बुझेका थिए। त्यसकारण आन्दोलनबारे सूचना दिन उनीहरूले आफ्नै मिडिया बनाए। त्यहीकारण उनीहरूको आन्दोलन एक वर्ष टिक्यो,’ रवीशले थपे।
उनले धर्मलाई संविधान मान्ने मुलुकहरू निकै समस्यामा परिरहेकाले भारतमा हिन्दु राष्ट्रको माग गर्नु पहिले विचार पुर्याउनु पर्ने पनि रवीशको भनाइ थियो। ‘धर्मको नाममा राजनीति गर्ने काम हुँदै गर्दा अहिले भारत हिन्दुु वा मुस्लिम राष्ट्र भन्दा पनि कर्पोरेसनमातर्फ उन्मुख भएको छ। राजनीतिकर्मी र व्यापारीबीच फरक देखिन छाडेको छ,’ रवीशले भने।
पछिल्लो समय भारतमा भाजपा समर्थक सञ्चारमाध्यमले प्रतिपक्षको भावनालाई समाप्त पार्ने काम गरिरहेको रवीशको धारणा थियो। ‘लोकतन्त्रमा दुईभन्दा बढी पक्ष हुनैपर्छ । यस्तो लोकतन्त्र मात्रै स्वास्थ्य हुन्छ । विचारमा प्रतिस्पर्धा हुन्छ,’ रवीशको भनाइ थियो।
उनले नेपालमा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई सञ्चारमाध्यमले स्थान दिएकोमा प्रसन्नता व्यक्त गरे। ‘नेपाली सञ्चारमाध्यमको यो कामलाई राम्रो मान्नुपर्छ। भारतमा नगर निगमको चुनावमा भाजपा वा कांग्रेस वा समाजवादी पार्टीका मान्छेले जिते भनेर समाचार आउँछन्। त्योबाहेकका पक्ष केलाइदैन। खासमा भन्दा निगमको चुनावलाई त्यति महत्त्व दिइँदैन । स्थानीय स्तरमा चुनावमा उठ्नेमाथि प्रश्न सोध्ने काम भए उनीहरू सच्चिएर माथि पुग्ने सम्भावना रहन्छ। तल्लो तहका नेतालाई जवाफदेही बनाउने काम सञ्चारमाध्यमकै हो। नेता तलदेखि नै जवाफदेही भएमा विकासको काम प्रभावकारी ढैगले अघि बढ्छ,’ रवीशले भने।