वासिङ्टन डिसी । अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोभिड १९ ले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राखेका थिए ।
उनले नेपालको करिब तीन करोड जनसङ्ख्या कोभिडको मारमा परेको भन्दै युएसएआइडीले हालै गरेको सहयोगका बारेमा समेत चर्चा गरेका थिए । सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन नाजुक भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको सङ्क्रमण पाइएको बताएका थिए ।
यो दर उच्च भएको उनको टिप्पणी थियो । उनले नेपाललाई अतिरिक्त सहायताका लागि योजना बनाइरहेको पनि सिनेटलाई जानकारी दिए ।
अमेरिकाको मेरिल्याण्ड राज्यका लागि नेपाली मूलका पहिलो विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारलाई सहयोग गर्न अपिल गर्दै राष्टपति जो वाइडेनको प्रशासनलाई दबाब दिन हस्ताक्षर अभियान चलाएका छन् ।
उनले मेरिल्याण्डबाट प्रतिनिधित्व गर्ने सिनेटरहरु क्रिस भ्यान होलान र वेन कार्डेनको कार्यालयलाई समेत नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै सहयोगको लागि सङ्घीय सरकारसँग अनुरोध गर्न पहलकदमी गरेको बताए ।
अमेरिकाले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि स्वास्थ्य उपकरणहरु सहयोग गर्दै आएको छ । विगत एक बर्षको बीचमा युएसआइडीले तीन करोड ६८ लाख अमेरिकी डलर सहयोग गरेको छ भने डिपार्टमेन्ट अफ डिफेन्समार्फत ३१ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग प्रदान गरिसकेको छ ।
अमेरिकामा २५ करोड जनसङ्ख्याले कोरोना भाइरसको खोप लगाइसकेको छ र खोपको उत्पादन तीव्रगतिमा हुँदै गएकाले कोभ्याक्समार्फतको खोप केही साताभित्र नेपाल पुग्ने अपेक्षा गरिएको छ ।