बाँके र बर्दियामा गरी पाँच संक्रमितको मृत्यु

राम्रो अनलाइन     २४ वैशाख २०७८, शुक्रबार
बाँके र बर्दियामा गरी पाँच संक्रमितको मृत्यु

बुटवल । बाँके र बर्दियामा गरी पाँच संक्रमितको मृत्यु भएको छ । बिहीबार राती उनीहरूको अस्पताल र होम आइसोलेशनमा मृत्यु भएको हो । 

बाँकेमा कोभिड सङ्क्रमणबाट चार जनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, कोहलपुरस्थित शिक्षण अस्पतालमा एक र एक जनाको उपचारपछि घर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । 

उनका अनुसार, भेरी अस्पतालमा वैशाख १७ गते भर्ना हुनुभएका बैजनाथ गाउँपालिका–८ का ३७ वर्षीय पुरुषको बिहान १०।३० बजे र वैशाख २२ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी ५५ वर्षीया महिलाको दिउँसो १२ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी वैशाख २२ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी दाङ शान्तिनगर गाउँपालिका निवासी ७५ वर्षीया महिलाको बिहान ९ः१५ बजे मृत्यु भएको छ भने कोहलपुर नगरपालिका–१ निवासी ७३ वर्षीया महिलाको काठमाडौँबाट घर ल्याउने क्रममा बिहान ५ बजे बाटोमा मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए ।

यससँगै बाँकेमा कोभिडबाट १६० जनाको मृत्यु भएको छ । बाहिरबाट बाँकेमा उपचार गराउन आउँदा १२८ जनाको मृत्यु भएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका–८ का एक कोरोना सङ्क्रमित युवकको होम आइसोलेशनमा मृत्यु भएको छ । बारबर्दिया–८ का ३८ वर्षीय युवाको वैशाख १७ गते बाँसगढीको माछागढमा रहेको कोभिड अस्पतालमा एन्टिजेन परीक्षण गराउँदा उनी र उनकी श्रीमतीकोमा पोजेटिभ रिपोर्ट आएको थियो ।

उनीहरूको रिपोट पोजेटिभ आएपछि होमआइसोलेशनमा बस्दै आएका युवाको अस्पताल लैजाने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी नरेश श्रेष्ठले बताए ।  बर्दिया जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । 
 

प्रतिक्रिया