महानगरको लगानीमा गंगालालमा सुरु भयो अक्सिजन उत्पादन  

राम्रो अनलाइन     २० वैशाख २०७८, सोमबार
महानगरको लगानीमा गंगालालमा सुरु भयो अक्सिजन उत्पादन  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन उत्पादन सुरु भएको छ । केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको हो । कामपाले उपलब्ध गराएको करिब  दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो । 

प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने छ ।  यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ ।

प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, तीन डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, एक हजार लिटर क्षमताको एअर ट्याङ्क, दुईवटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् । मुटुको समस्या भएर केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको हो ।

यसका लागि महानगर र केन्द्रबीच २०७६ माघ १५ गते शहीद सप्ताहका कार्यक्रम पारेर सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यससम्बन्धी उपकरण खरिद खुला प्रतिस्पर्धाबाट लिएको हो । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत् प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मतसम्भार अस्पतालले गर्नेछ ।

प्लान्ट शुभारम्भपछि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले यस कार्यले अहिलेको कोरोना महामारी व्यवस्थापनमा लाभ भएको उल्लेख गर्दै  तत्काल कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लान्ट राख्ने तयारी रहेको जानकारी दिए । 

अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एउटै बिरामीको मुटु उपचार र मिर्गौलाको डायलायसिस गर्नुपर्ने अवस्थामा कठिन भइरहेको बताए । 

कार्यक्रममा वडा नं ३ का अध्यक्ष दीपक केसीले अबको केही दिनमा कान्तिको प्लान्ट पनि शुरु हुने जानकारी दिए । उनका अनुसार यसपछि यी दुई अस्पतालमा दैनिक आवश्यक पर्ने करिब २०० सिलिण्डर अक्सिजन अन्यत्र पठाउन सकिनेछ ।
 

प्रतिक्रिया