बिरामी र उसका आफन्तलाई डाक्टरले नराम्रो समाचार दिनुभन्दा पहिला उनीहरूलाई तयार गर्नुपर्छ । एकैचोटि हतार–हतार जानकारी दिइहाल्नु हुँदैन । सुरुमा ‘वार्निङ सट’ दिनुपर्छ । त्यसपछि बिस्तारै–बिस्तारै जानकारी दिनुपर्छ ।
मेडिकल भाषामा ‘ब्याड न्युज’ भन्नाले बिरामी तथा उसको परिवारलाई नकारात्मक असर पर्ने सूचना भन्ने बुझिन्छ । यसमा कुनै बिरामीको मृत्यु सबैभन्दा ठूलो अप्रिय खबर हो । त्यस्तै, दीर्घकालिन र जटिल रोग (एचआईभी एड्स, क्यान्सर आदि) पनि ब्याड न्युज नै हुन् । जसले बिरामी र उसका आफन्तलाई दुःखी बनाउँछ । खबर सुनेपछि बिरामी फेरि पहिलाकै अवस्थामा फर्कन सक्दैन । नराम्रो समाचारबारे बिरामीलाई जानकारी दिनुपूर्व डाक्टरले धेरै कुरामा ध्यान पु¥याउनुपर्छ, सावधानी अपनाउनुपर्छ । यो डाक्टरमा हुनैपर्ने एउटा सीप हो ।
बिरामीबारे कुनै पनि अप्रिय घटनाको जानकारी दिँदा सबैभन्दा पहिला बिरामीको समस्या सुन्नुपर्छ । आफूले नै हेरेको बिरामी हो भने त्यसबारे आफू ‘अपडेट’ हुनुपर्छ । बिरामीलाई नराम्रो खबर दिँदा त्यो कस्तो खालको समाचार हो, आफूले पनि राम्रोसँग बुझ्नुपर्छ ।
बिरामी तथा उसका आफन्तलाई डाक्टरले नराम्रो समाचार दिनुभन्दा पहिला उनीहरूलाई तयार गर्नुपर्छ । एकैचोटि हतार–हतार जानकारी दिइहाल्नु हँुदैन । सुरुमा ‘वार्निङ सट’ दिनुपर्छ । त्यसपछि बिस्तारै–बिस्तारै जानकारी दिनुपर्छ । त्यस्तै, उपयुक्त समयको निर्धारण पनि यस्तो बेलामा एकदमै महत्वपूर्ण हुन्छ । बिरामी तथा आफन्तको मुड हेरेर कुरा गर्न सकिन्छ । रोगको बारेमा उसको धारणा के छ ? बिरामी तथा आफन्त के कुराको जानकारी लिन चाहन्छन् ? त्यसमा पनि ध्यान दिनुपर्छ । उनीहरूको बुझाइलाई आधार मान्दै रोगबारे विस्तारमा जानकारी दिनुपर्छ । जानकारी दिँदा उपयुक्त वातावरणको पनि ख्याल राख्नुपर्छ । शान्त र निजी ठाउँमा कुराकानी गर्दा बेस हुन्छ । बिरामीले आफ्नो रोगबारे अरूलाई जानकारी नदेओस् भन्ने चाहन्छ भने उसले राख्न चाहेको गोपनीयताको कदर गर्नुपर्छ ।
बिरामीले बुझ्दै नबुझ्ने मेडिकल शब्दहरू प्रयोग गर्नु हुँदैन । यसले उनीहरूलाई दिक्क बनाउँछ । उनीहरूको बुझाइअनुसार बोल्नुपर्छ । आफूमात्रै एकोहोरो बोल्नु हुँदैन । बिरामीले देखाउने भावनात्मक पक्ष र उनीहरूले दिने प्रतिक्रियामा पनि ध्यान दिनुपर्छ ।
डाक्टरले बिरामीलाई ब्याड न्युजको जानकारी दिएर मात्र उसको दायित्व पूरा हुँदैन । आफूबारे थाहा पाइसकेपछि बिरामीले पनि आफ्नो कुरा राख्न चाहन्छ । यस्तो अवस्थामा उसलाई बोल्न समय दिनुपर्छ । हतार गर्नु हुँदैन । बिरामीले डाक्टरबाट के अपेक्षा राख्छ ? त्यसमा पनि ध्यान पु¥याउनुपर्छ ।
नराम्रो समाचारबारे बिरामीलाई जानकारी दिँदा स्वाभाविक रूपमा उनीहरू दुःखी हुन्छन्, भावुक हुन्छन् । त्यस्तो अवस्थालाई कसरी सहजीकरण वा सामना गर्ने ? त्यो पनि डाक्टरकै उत्तरदायित्वभित्र पर्छ । बिरामी रुन, कराउन थाल्यो भने उसलाई रुन दिनुपर्छ । सहानुभूति प्रकट गरेर बिरामीलाई सक्दो सम्झाउनुपर्छ । उनीहरू भावुक हुँदा ‘म पनि तपाईंको भावनासँग जोडिएको छु, तपाईंको दुःखमा म पनि साथ छु’ भन्नुपर्छ । यति भनेपछि ‘डाक्टरले मलाई बुझ्यो’ भन्ने भावना बिरामीमा आउँछ । डाक्टरले आफ्नो ‘बडी ल्यांग्वेज’ र ‘आई कन्ट्याक्ट’मा पनि ध्यान दिनुपर्छ । बिरामी रोहिरहेका बेला उसको कुरालाई ध्यान नदिँदा एक प्रकारको ‘डिसकनेक्सन’ हुन्छ ।
डाक्टरले कहिल्यै पनि घुमाएर कुरा गर्नु हुँदैन । सही कुरा गर्नुपर्छ । अनावश्यक कुरालाई बढावा दिनु हुँदैन । सम्बन्धित अस्पताल र विशेषज्ञबारे जानकारी दिएर उसको सहयोग गर्न सकिन्छ । झुटो आश्वासन दिनु हुँदैन । भएको कुरा सीधा र साँचो तरिकाले भन्नुपर्छ ।
डाक्टरले ब्याड न्युज बे्रक गर्ने तरिका
–पूर्वतयारी गर्ने ।
–उपयुक्त समय पर्खने ।
–शान्त तथा निजी वातावरणमा कुरा राख्ने ।
–बिरामीले जान्न चाहेका कुराबारे जानकारी लिने ।
–जानकारी दिनुपूर्व ‘वार्निङ सट’ दिने ।
–बिरामीको कुरा सुन्ने ।
–उसले देखाएको भावनात्मक क्रियाकलापप्रति सहानुभूति प्रकट गर्ने ।
–आफूले गर्नसक्ने सहयोग गर्ने ।
–आफ्नो कुरा बिरामीलाई ठेस नपुग्ने गरी सम्मानजनक ढंगमा राख्ने ।
(अग्रवाल चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डिन हुन् । )