अशोक खड्कालाई पुम्सेको दोस्रो श्रेणी रेफ्री लाइसेन्स

राम्रो अनलाइन     ०४ माघ २०८०, बिहिबार
अशोक खड्कालाई पुम्सेको दोस्रो श्रेणी रेफ्री लाइसेन्स


काठमाडौँ– तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काले पुम्से विधातर्फ दोस्रो श्रेणीको रेफ्री लाइसेन्स पाएका छन् ।वर्ल्ड तेक्वान्दो ९डब्लुटी० को रेफ्री कमिटीले खड्कालाई बिहीबार पुम्सेको दोस्रो श्रेणीको रेफ्री लाइसेन्स प्रदान गरेको छ । उनले ग्यारोगी विधामा भने २०२१ मै दोस्रो श्रेणीको रेफ्री मान्यता पाएका थिए ।

तेस्रोबाट दोस्रो श्रेणीमा पदोन्नति हुन करिब ५ वर्ष लागेको उनले बताए । तेक्वान्दोको विश्व र्‍याङकिङ प्रतियोगिता खेलाएर र रिफ्रेसर कोर्स गरी प्राप्त अंकका आधारमा उनी दोस्रो श्रेणीमा बढुवा भएका हुन् । करिब ५ वर्षको अवधिमा १० पुम्से प्रतियोगिता र एक रिफ्रेसर कोर्समा सहभागिता जनाएर आवश्यक अंक पूरा गरेको खड्काले बताए ।

त्यसका लागि उनले सन् २०२३ मा दक्षिण कोरियामा वर्ल्ड तेक्वान्दो पुम्से च्याम्पियनसिप, किमुनयोङ कप, अस्ट्रेलियामा अस्ट्रेलियन ओपन, प्रेसिडेन्ट कप, ओसियाना ओपन पुम्से च्याम्पियनसिप, बुल्गेरिया ओपन, २०२२ मा चुनचुन कोरिया ओपन, २०२० मा मेक्सिको ओपन, २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद र अस्ट्रेलियामै डब्लूटी प्रेसिडेन्ट कपमा निर्णायक हुनुका साथै दक्षिण कोरियामा ४५ औं अन्तर्राष्ट्रिय पुम्से रिफ्रेसर कोर्स २०२२ मा सहभागिता जनाएका थिए ।

दुई वर्षअघि युवा तथा खेलकुद मन्त्रालयले खड्कालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानअन्तर्गत उत्कृष्ट निर्णायकबाट सम्मान गरेको थियो । उनी ग्यारोगी, पुम्से र पारा तेक्वान्दो गरी तीनै विधाका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक हुन् ।

प्रतिक्रिया