बिस्का जात्राको रथ तान्दा भएको ढुङ्गा हानाहानमा १९ घाइते

राम्रो अनलाइन     २९ चैत २०७७, आइतबार
 बिस्का जात्राको रथ तान्दा भएको ढुङ्गा हानाहानमा १९ घाइते

भक्तपुर । भक्तपुरमा मध्यराति बिस्काः जात्राको भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । राति रथबाट झर्दा र रथ तान्ने क्रममा विवाद हुँदा भएको ढुंगा हानाहानमा १९ जना घाइते भएका भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

हिजोबाट सुरु भएको जात्रा आठ रात नौ दिनसम्म मनाइन्छ ।  बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

हिजो दिउँसो ४ बजेदेखि रथ तान्न शुरु भएको र राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट खसेर रथको चक्कामा पर्दा भनपा–१० का ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षीय  दिपेश साँगाछें घाइते भएका छन् । घाइतेलाई तत्कालै उपचारका लागि अस्पताल भक्तपुर लगिएकामा कृष्णगोपाल मुलकोटीलाई थप उपचारका लागि थिमीस्थित मध्यपुर अस्पताल सिफारिस गरिएको छ ।

त्यस्तै रथ तान्ने क्रममा ८ बजे भनपा–१ का १८ वर्षीय मनिष सिन्ताकल, भनपा–२ का २२ वर्षीय रमेश माता, भनपा–६ का ३० वर्षीय अमिक त्वायना घाइते भएकामा भक्तपुरमा अस्पतालमा उपचार गरिएको र त्वायनालाई भने शिक्षण अस्पताल महाराजगञ्ज सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ ।

अर्का घाइते भक्तपुर नपा–६ बस्ने २५ वर्षीय सुनिल भुजेलको दाहिने खुट्टा भाँच्चिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ । घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत अन्यको भक्तपुर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीको भनाइ छ ।

अधिकांश रथबाट खसेर, रथ तान्ने क्रममा रथको चक्कामा परेर, डोरीबाट लछारिएर र राति ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेर घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।  

मध्यराति करिब साढे १ बजे रथ नासमना पुगेपछि केहीबेर ढुङ्गा हानाहान भएको थियो । स्थानीयवासले बीचमै छाडेको रथ आज बिहान पुनः तानेर बिहान ८ बजे गःहिटी पु¥याइएको छ । यस वर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने जिल्ला प्रशासनको निर्णयविरुद्ध स्थानीयवासी उत्रिएपछि भक्तपुर नगरपालिकाले तालिका नै बनाएर दिउँसै जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो ।

रथलाई माथि लगे सुकुलढोकासम्म र तल लगे नासमना भन्दा वरैबाट फर्काएर दिउँसै गःहिटी रथ लैजाने नगरपालिकाको तालिका र आह्वानलाई स्थानीयवासीले बेवास्ता गर्दै मध्यरातिसम्म रथ तान्दा ढुङ्गा हानाहान भएको थियो । भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर शुरु गरिन्छ । विसं अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात् सर्प म¥यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको मानिन्छ ।

प्रतिक्रिया