कोरोना जनावरबाट मानिसमा सरेको डब्ल्यूएचओको दाबी

एजेन्सी     १७ चैत २०७७, मङ्गलबार

बेइजिङ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आफूले गरेको अनुसन्धानमा कोरोना भाइरस चमेरोबाट मानिसमा सरेको देखिएको दाबी गरेको छ । चिनियाँ र डब्ल्यूएचओको संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोना भाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको खुलेको हो । उनीहरूले यससम्बन्धमा प्रारम्भिक प्रतिवेदन तयार पारेको पनि बताएका छन् । 

अन्तर्राष्टिय सञ्चारमाध्यम एपीका अनुसार प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोना सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ । 

टोलीले प्रयोगशालाबाट भाइरस बाहिरिएको बाहेक अन्य सबै पक्षमा अनुसन्धान गर्न सुझाव दिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्न पटकपटक ढिलाई गरिएको छ । चिनियाँ अधिकारीहरूले प्रतिवेदनका निचोडलाई लिएर विवाद गरेको आशंका भइरहेको अवस्थामा डब्लुएचओका अधिकारीहरू  केही दिनभित्रै प्रतिवेदन तयार भइसक्ने जानकारी गराएका थिए । 

प्रतिवेदन अन्तिम चरणमा परिवर्तन हुने वा नहुने बारेमा भने केही स्पष्ट छैन । 

प्रतिवेदनमा अनुसन्धाताहरूले चार वर्गमा परिस्थितिलाई चित्रण गरेका छन् । जसमा चमेरोबाट अर्को जनावर हुँदै मानिसमा कोरोना भाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रुपमा समेटिएको छ । चिसोमा राखिएको माशुजन्य वस्तुबाट कोभिड संक्रमण हुने खतरा रहे पनि त्यसमा त्यति बढी सम्भावना देखिएको छैन ।

कोभिड मानिसमा फैलिने सबैभन्दा निकटतम सम्भावना चमेरा नै रहेको अध्ययनमा भनिएको छ । 

प्रतिवेदनमा धेरै मिल्दोजुल्दो भाइरस सालकमा पनि भेटिएको उल्लेख छ, तर मिन्क  र जमिनमा बस्ने एक प्रकारको सरिसृप जीव र बिरालामा पनि कोभिड भाइरस संक्रमण हुने खतरा देखिएको छ । यी जीवजन्तुबाट पनि कोभिड फैलिन सक्ने खतरा बढी देखिएको प्रतिवेदनमा भनिएको छ । 

उक्त प्रतिवेदन डब्लुएचओको अन्तर्राष्ट्रिय विज्ञहरुले कोभिड फैलिएको उद्‌गमस्थल उहानको भ्रमणमा आधारित छ ।

उहान मिसनको नेतृत्व गर्ने डब्लुएचओका विज्ञ पिटर बेन इम्बारेकले शुक्रबार प्रतिवेदनले अन्तिम स्वरुप पाइसकेको बताउँदै यसका केही तथ्यजाँच र अनुवादको काम भइरहेको जनाकारी दिएका छन् । 

प्रतिक्रिया