विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ । कृत्रिम बुद्धिमत्ता, डिजिटल जडान, स्वचालन तथा वैज्ञानिक नवप्रवर्तनले मानव जीवनलाई नयाँ उचाइमा पुर्याइरहेका छन् । तर यही समयमा मानवता मानसिक तनाव, सामाजिक एक्लोपन, भावनात्मक असन्तुलन तथा आध्यात्मिक रिक्तताको चुनौतीसँग पनि सङ्घर्ष गरिरहेको छ । आर्थिक समृद्धि विस्तार भइरहेको छ, तर आन्तरिक शान्ति र जीवन सन्तुष्टिको खोज अझ गहिरो बन्दै गएको छ ।
यस्तो विश्व परिवेशमा राष्ट्रहरूको प्रभाव केवल आर्थिक, सैनिक वा प्राविधिक क्षमताले मात्र निर्धारण हुने अवस्था छैन । संस्कृति, मूल्य, जीवनदर्शन, विश्वास, मानवीय सम्बन्ध तथा नागरिक सहभागिताले पनि अन्तरराष्ट्रिय सम्बन्ध र विश्वव्यापी प्रभाव निर्माणमा निर्णायक भूमिका खेल्न थालेका छन् । यही सन्दर्भमा नागरिक कूटनीति आज राज्य केन्द्रित कूटनीतिलाई पूरक मात्र होइन, धेरै अवस्थामा दिशानिर्देशक शक्तिका रूपमा उदाउँदै गएको छ ।
नेपालसँग विश्वलाई दिने एउटा विशिष्ट सभ्यतागत सन्देश छ । गौतमबुद्धको जन्मभूमि, हिमालयको काख, विविध संस्कृति र सहअस्तित्वको परम्परा, योग, ध्यान, आयुर्वेद तथा प्रकृतिसँग सन्तुलित जीवन दर्शनले नेपाललाई शान्ति, चेतना, करुणा र समग्र स्वास्थ्यको केन्द्रका रूपमा स्थापित गर्ने अद्वितीय आधार प्रदान गरेका छन् । त्यसैले ‘नेपाल वेलनेस वर्ष २०२७’ लाई केवल पर्यटन प्रवद्र्धन कार्यक्रमका रूपमा होइन, नेपालको सांस्कृतिक कूटनीति, नागरिक कूटनीति, सौम्य शक्ति विस्तार तथा विश्व शान्तिमा रचनात्मक योगदान पु¥याउने दीर्घकालीन राष्ट्रिय अभियानका रूपमा हेर्न आवश्यक छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपालको पर्यटन क्षेत्रलाई आरोग्य पर्यटनका रूपमा अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने, आवश्यक पूर्वाधार तथा कार्यक्रमहरू विकास गर्ने तथा नेपाललाई समग्र स्वास्थ्य, आध्यात्मिक अनुभव र दिगो जीवनशैलीको वैश्विक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य अगाडि सारेको छ ।
यसले ‘नेपाल वेलनेस वर्ष २०२७’ लाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा औपचारिक मान्यता दिएको सङ्केत गर्दछ । यस पृष्ठभूमिमा ‘नेपाल वेलनेस वर्ष २०२७’ केवल पर्यटन वर्ष होइन; यो नेपाललाई विश्व शान्ति, समग्र स्वास्थ्य, अन्तरसभ्यतागत संवाद, नागरिक कूटनीति र मानवीय सहअस्तित्वको वैश्विक केन्द्रका रूपमा पुनस्र्थापित गर्ने ऐतिहासिक अवसर हो । यस लेखले सोही सम्भावना, चुनौती र अवसरहरूको कूटनीतिक तथा नीतिगत विश्लेषण प्रस्तुत गर्दछ ।
सभ्यतागत शक्ति र समग्र स्वास्थ्य कूटनीतिको उदय
नेपालको अन्तरराष्ट्रिय पहिचान केवल भौगोलिक सीमाभित्र सीमित एक राष्ट्रको परिचय मात्र होइन, यो एक गहिरो सभ्यतागत निरन्तरता हो । हिमाल, पहाड र तराईको भौगोलिक विविधताभन्दा पनि बढी महत्वपूर्ण कुरा यहाँ विकसित भएको चेतनात्मक, सांस्कृतिक र दार्शनिक परम्परा हो, जसले नेपाललाई पूर्वीय सभ्यताहरूको सङ्गम र जीवित प्रयोगशालाका रूपमा स्थापित गरेको छ । पूर्वीय दर्शनका बहुआयामिक धाराहरू, ध्यान तथा साधनाको परम्परा, प्रकृतिसँगको गहिरो सहअस्तित्व र बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक सहजीवनले नेपाललाई केवल एक राजनीतिक भूगोल होइन, एक जीवित सभ्यतागत संरचनाका रूपमा प्रस्तुत गर्दछ ।
नेपालको यो सभ्यतागत विशेषता स्थिर वा ऐतिहासिक मात्र होइन, निरन्तर अभ्यासमा रहेको जीवनदर्शन हो । यहाँको सामाजिक जीवन, धार्मिक सहिष्णुता, सांस्कृतिक उत्सवहरू र दैनिक जीवनशैलीमा समेत प्रकृति, चेतना र सहअस्तित्वको गहिरो सम्बन्ध देखिन्छ । यही कारणले नेपाललाई जीवित सांस्कृतिक प्रयोगशालाका रूपमा बुझ्न सकिन्छ, जहाँ विविधता विभाजनको कारण होइन, सहअस्तित्वको आधार बनेको छ । समकालीन विश्वमा समग्र स्वास्थ्य अब व्यक्तिगत स्वास्थ्य अभ्यासको सीमाभित्र मात्र सीमित छैन । यो अब विश्वव्यापी अर्थतन्त्रको एक महत्वपूर्ण क्षेत्र, नीतिगत प्राथमिकताको केन्द्र र आधुनिक जीवनशैली रूपान्तरणको आधारभूत संरचना बनेको छ ।
योग, ध्यान, प्राकृतिक चिकित्सा, आयुर्वेद, मानसिक स्वास्थ्य व्यवस्थापन तथा सजग जीवनशैली आज केवल वैकल्पिक अभ्यास होइनन्, बरु समग्र विकास, उत्पादकता र जीवन गुणस्तर सुधारका आवश्यक तत्वका रूपमा स्थापित भइरहेका छन् ।
यही परिवर्तनशील विश्व सन्दर्भमा नेपालले समग्र स्वास्थ्य कूटनीतिलाई आफ्नो रणनीतिक राष्ट्रिय पहिचानका रूपमा विकास गर्न सक्ने ऐतिहासिक अवसर प्राप्त गरेको छ । यो कूटनीति परम्परागत राज्य केन्द्रित कूटनीतिक संरचनाभन्दा फरक छ, किनकि यसले संस्कृति, समुदाय, नागरिक सहभागिता र चेतनास्तरलाई समेत अन्तरराष्ट्रिय सम्बन्ध निर्माणको आधार बनाउँछ । समग्र स्वास्थ्य कूटनीति केवल सरकारी नीति वा पर्यटन प्रवद्र्धनको उपकरण मात्र होइन, यो नेपालका सांस्कृतिक मूल्य, आध्यात्मिक परम्परा र जीवनदर्शनलाई विश्वसँग जोड्ने बहुआयामिक पुल हो ।
नेपालको हिमालय केवल भौगोलिक संरचना होइन, यो विश्व चेतनामा शान्ति, स्थिरता र आत्मचिन्तनको प्रतीक हो । ध्यान परम्परा र बौद्ध दर्शनले आन्तरिक शान्ति, करुणा र मध्यमार्गको जीवनदर्शन प्रस्तुत गर्छन् । त्यस्तै योग साधना, आयुर्वेदिक परम्परा र प्रकृतिसँगको सहअस्तित्वले विकासलाई संरक्षण र सन्तुलनसँग जोड्ने दृष्टिकोण प्रस्तुत गर्दछ । यी सबै तत्वहरू मिलेर नेपाललाई यस्तो अद्वितीय सभ्यतागत स्थानमा उभ्याउँछन्, जहाँबाट विश्वलाई ‘आन्तरिक सन्तुलनमार्फत बाह्य विकास’ भन्ने वैकल्पिक विकास दृष्टिकोण प्रदान गर्न सकिन्छ ।
सौम्य शक्ति र नागरिक कूटनीतिको संस्थागत रूपान्तरण
सौम्य शक्ति कुनै पनि राष्ट्रको सैन्य क्षमतामा वा आर्थिक प्रभुत्वमा मात्र आधारित हुँदैन । यसको मूल आधार कुनै राष्ट्रको सांस्कृतिक आकर्षण, नैतिक मूल्य, सभ्यतागत गहिराइ र विश्वसँग संवाद गर्नसक्ने भावनात्मक तथा वैचारिक क्षमता हो । यही कारणले आधुनिक अन्तरराष्ट्रिय सम्बन्धमा सौम्य शक्तिलाई दीर्घकालीन प्रभाव निर्माण गर्ने सबैभन्दा स्थायी माध्यमका रूपमा लिइन्छ । गौतम बुद्धको जन्मभूमि हुनु नेपालका लागि केवल ऐतिहासिक परिचय मात्र होइन, यो विश्वस्तरमा नैतिक र दार्शनिक प्रभाव विस्तार गर्ने अत्यन्त शक्तिशाली सभ्यतागत आधार हो ।
यससँगै हिमालयको प्रतीकात्मक शक्ति, धार्मिक सहिष्णुता, सांस्कृतिक सहअस्तित्व र विविध जीवनशैलीहरूको सजीव समन्वयले नेपाललाई शान्ति र सहअस्तित्वको जीवित सभ्यताका रूपमा स्थापित गरेको छ तर यस्तो सभ्यतागत सौम्य शक्तिलाई अन्तरराष्ट्रिय प्रभाव र ठोस परिणाममा रूपान्तरण गर्न केवल राज्य केन्द्रित कूटनीति पर्याप्त हुँदैन । यसका लागि नागरिक कूटनीति निर्णायक र विस्तारकारी माध्यमका रूपमा स्थापित हुन्छ ।
नागरिक कूटनीतिले अन्तरराष्ट्रिय सम्बन्धलाई सरकारको सीमित दायराबाट बाहिर निकाल्दै समाज, समुदाय, संस्था, युवा पुस्ता, शैक्षिक क्षेत्र, सांस्कृतिक अभियन्ता तथा प्रवासी नेपाली सञ्जालसम्म विस्तार गर्दछ । यस सन्दर्भमा ‘नेपाल वेलनेस वर्ष २०२७’नागरिक कूटनीतिको एक संरचित राष्ट्रिय अभ्यासका रूपमा विकसित हुनसक्ने ऐतिहासिक अवसर हो । यस अभियानमार्फत योग प्रशिक्षक, ध्यान केन्द्र, विश्वविद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक समूह तथा प्रवासी नेपाली सञ्जालहरूलाई एकीकृत रूपमा परिचालन गर्न सकिन्छ ।
यस प्रकार नागरिक कूटनीति केवल सहयोगी संरचना मात्र होइन, यो सौम्य शक्तिलाई व्यवहारिक, संस्थागत र वैश्विक प्रभावमा रूपान्तरण गर्ने प्रमुख साधन हो ।
आरोग्य पर्यटन, नीति रूपान्तरण र अन्तरराष्ट्रिय अवसर
नेपाल सरकारले पर्यटन क्षेत्रलाई आरोग्य पर्यटनका रूपमा पुनःपरिभाषित गर्ने नीति अघि सारेको छ । यो केवल शब्दगत परिवर्तन मात्र होइन, राष्ट्रिय विकास दृष्टिकोणमै देखिएको एक महत्वपूर्ण रूपान्तरण हो । यस नीतिले पर्यटन क्षेत्रलाई परम्परागत अवकाश र मनोरञ्जनमुखी दृष्टिकोणबाट बाहिर निकाल्दै स्वास्थ्य, कल्याण, पुनःस्थापना र समग्र जीवनशैली सुधारसँग जोड्ने प्रयास गरेको छ ।
यस नीति रूपान्तरणले नेपाललाई विश्व पर्यटन बजारमा केवल प्राकृतिक सौन्दर्यको गन्तव्यका रूपमा होइन, समग्र स्वास्थ्य, मानसिक पुनर्सन्तुलन र चेतनामूलक जीवनशैलीको केन्द्रका रूपमा प्रस्तुत गर्ने आधार तयार गरिरहेको छ । यसले नेपालको हिमाली क्षेत्र, ध्यान केन्द्र, योग परम्परा, आयुर्वेदिक उपचार प्रणाली तथा प्राकृतिक वातावरणलाई एकीकृत विकास संरचनासँग जोड्ने सम्भावना विस्तार गरेको छ ।
विश्वव्यापी रूपमा समग्र स्वास्थ्य अर्थतन्त्र तीव्र गतिमा विस्तार भइरहेको छ । अन्तरराष्ट्रिय अध्ययनहरूले समग्र स्वास्थ्य पर्यटन विश्वकै तीव्र गतिमा बढिरहेका पर्यटन क्षेत्रहरूमध्ये एक रहेको देखाएका छन् । यस्तो पर्यटनमा सहभागी हुने यात्रुहरू सामान्य पर्यटकको तुलनामा लामो समय बस्ने, स्थानीय संस्कृति र समुदायसँग गहिरो रूपमा जोडिने तथा उच्च मूल्यका सेवा उपयोग गर्ने प्रवृत्ति राख्दछन् । यदि नेपालले आरोग्य पर्यटनलाई केवल आर्थिक गतिविधिका रूपमा सीमित नराखी यसलाई सभ्यतागत ‘ब्रान्डिङ’को उच्च स्तरमा विकास गर्नसकेमा, यसबाट उच्च मूल्यको पर्यटन, अनुसन्धान तथा शैक्षिक सहकार्य, स्वास्थ्य सेवा प्रवद्र्धन र अन्तरराष्ट्रिय ज्ञान आदानप्रदानका नयाँ अवसरहरू सिर्जना हुन सक्दछन् ।
अन्तरसभ्यतागत संवाद र विश्व शान्तिमा नेपालको भूमिका
आजको विश्व गम्भीर सभ्यतागत तनाव, सांस्कृतिक विभाजन र राजनीतिक ध्रुवीकरणको अवस्थाबाट गुज्रिरहेको छ । यस्तो परिस्थितिमा अन्तरराष्ट्रिय सम्बन्ध केवल शक्ति सन्तुलनको प्रश्न मात्र नभई विश्वास निर्माण, संवाद विस्तार र सहअस्तित्वको पुनःस्थापनाको प्रश्न बनेको छ । यही संवेदनशील विश्व सन्दर्भमा नेपालले एक विशिष्ट र ऐतिहासिक भूमिका निर्वाह गर्न सक्ने सम्भावना बोकेको छ । नेपाल संवाद, शान्ति र सहअस्तित्वको प्राकृतिक पुलका रूपमा स्थापित हुनसक्ने देश हो किनकि यसको सभ्यतागत संरचना नै विविधता र सहजीवनमा आधारित छ ।
नेपाल पूर्व र पश्चिमका विचारधाराबीचको सङ्गमस्थल हो । यहाँ पूर्वीय ध्यान र दर्शन परम्परा मात्र होइन, आधुनिक विकास आकांक्षा र वैश्विक सहभागिताको दृष्टिकोण पनि सँगसँगै उपस्थित छन् । त्यस्तै, नेपाल प्रकृति र चेतनाबीचको सन्तुलनको प्रतीक हो । यही बहुआयामिक अवस्थाले नेपाललाई सभ्यताहरू जोड्ने पुलका रूपमा स्थापित गर्ने ऐतिहासिक अवसर प्रदान गरेको छ । विश्वलाई आज केवल आर्थिक साझेदारी होइन, सांस्कृतिक समझदारी र भावनात्मक पुनःसंवादको आवश्यकता छ । यस सन्दर्भमा ‘नेपाल वेलनेस वर्ष २०२७’ केवल पर्यटन वा राष्ट्रिय प्रवद्र्धनको कार्यक्रमका रूपमा सीमित रहँदैन । यो विश्व संवाद, शान्ति र मानव चेतनाको साझा मञ्च बन्नसक्ने रणनीतिक अवसर हो ।
नागरिक कूटनीति र गैरराज्य संस्थाहरूको भूमिका
समकालीन अन्तरराष्ट्रिय सम्बन्धमा कूटनीति अब केवल राज्य संयन्त्रको एकल अधिकार क्षेत्रभित्र सीमित छैन । नागरिक समाज, विश्वविद्यालय, धार्मिक तथा आध्यात्मिक संस्था, युवा सञ्जाल, सांस्कृतिक अभियन्ता तथा प्रवासी समुदायहरूले अन्तरराष्ट्रिय सम्बन्ध निर्माणमा निर्णायक र दीर्घकालीन प्रभाव पार्ने भूमिका खेलिरहेका छन् । यसलाई नै नागरिक कूटनीति भनिन्छ, जसले कूटनीतिलाई राज्य केन्द्रित संरचनाबाट बाहिर निकालेर समाज, संस्कृति, शिक्षा र मानवीय सम्बन्धको तहमा विस्तार सक्दछन् । ‘नेपाल वेलनेस वर्ष २०२७’ ले यस नागरिक कूटनीतिको अभ्यासलाई व्यवस्थित, संरचित र राष्ट्रिय अभियानको रूपमा संस्थागत रूप दिन सक्ने ऐतिहासिक अवसर प्रदान गर्छ । यस अभियानमार्फत ध्यान, योग, सजगता, शिक्षा, सांस्कृतिक आदानप्रदान तथा शान्ति केन्द्रित कार्यक्रमहरूलाई अन्तरराष्ट्रियस्तरमा विस्तार गर्न सकिन्छ ।
यस प्रक्रियामा प्रवासी नेपाली समुदाय विशेष रूपमा रणनीतिक शक्ति हो । विश्वका विभिन्न मुलुकहरूमा फैलिएको नेपाली डायस्पोरा केवल आर्थिक योगदानको स्रोत मात्र होइन, नेपाल र विश्वबीचको सांस्कृतिक र भावनात्मक पुल पनि हो । उनीहरूले आफ्नो बसोबास रहेका देशहरूमा नेपालको सांस्कृतिक मूल्य, आध्यात्मिक परम्परा र जीवनदर्शनलाई प्रवद्र्धन गर्दै अनौपचारिक कूटनीतिक प्रतिनिधिका रूपमा काम गर्न सक्दछन् । यदि प्रवासी नेपाली समुदायलाई समग्र स्वास्थ्य, योग, ध्यान, सांस्कृतिक संवाद, शैक्षिक आदानप्रदान तथा अन्तरसांस्कृतिक सहकार्यका अभियानहरूसँग रणनीतिक रूपमा जोड्न सकियो भने, उनीहरूले नेपाललाई विश्वसँग जोड्ने अत्यन्त प्रभावकारी र दीर्घकालीन सांस्कृतिक कूटनीतिक नेटवर्क निर्माण गर्न सक्दछन् ।
आगामी बाटो
‘नेपाल वेलनेस वर्ष २०२७’ लाई सफल, प्रभावकारी र दीर्घकालीन रूपमा रूपान्तरण गर्न संस्थागत, नीतिगत र संरचनात्मक तयारी अपरिहार्य हुनेछ । यस अभियानलाई केवल कार्यक्रमगत स्तरमा सीमित नराखी राष्ट्रिय विकास दृष्टिकोणको एक एकीकृत ढाँचाका रूपमा अघि बढाउन आवश्यक छ । यसका लागि राष्ट्रिय समग्र स्वास्थ्य परिषद् एक समन्वयकारी संस्थागत आधारका रूपमा विकास गर्न सकिन्छ, जसले नीति निर्माण, कार्यक्रम कार्यान्वयन र अन्तरराष्ट्रिय सहकार्यबीचको समन्वय सुनिश्चित गर्नेछ ।
त्यस्तै, हिमालय समग्र स्वास्थ्य परिपथले नेपालको भौगोलिक, सांस्कृतिक र आध्यात्मिक सम्पदालाई एकीकृत पर्यटन तथा अनुभव संरचनामा रूपान्तरण गर्ने रणनीतिक ढाँचा प्रदान गर्न सक्दछ ।
अन्तरराष्ट्रिय अनुसन्धान सहकार्यले नेपाललाई केवल सेवा गन्तव्य होइन, समग्र स्वास्थ्य, ध्यान, योग, मानसिक सन्तुलन र चेतनामूलक जीवनशैलीसम्बन्धी ज्ञान उत्पादन तथा आदानप्रदानको केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्नेछ । समुदाय आधारित पूर्वाधार विकासले स्थानीय स्तरमा प्रत्यक्ष सहभागिता, रोजगारी सिर्जना र सांस्कृतिक संरक्षणलाई सुनिश्चित गर्नेछ । सार्वजनिक निजी साझेदारीले लगानी, नवप्रवर्तन र दिगो विकासबीचको सम्बन्धलाई संस्थागत रूप दिनेछ । यी सबै प्रयासहरूलाई सफल बनाउन सरकार, निजी क्षेत्र, नागरिक समाज, आध्यात्मिक संस्था तथा अन्तरराष्ट्रिय साझेदारबीच एकीकृत समन्वय प्रणाली विकास गर्नु अत्यावश्यक छ । यदि बीसौँ शताब्दी शक्ति राजनीतिको शताब्दी थियो भने, एक्काइसौँ शताब्दी चेतना, संस्कृति र मानवीय सहअस्तित्वको शताब्दी बन्ने सम्भावना प्रबल छ । नेपालसँग त्यस शताब्दीलाई दिशा दिने सभ्यतागत आधार अझै जीवित छ ।
नेपालसँग विश्वलाई केवल हिमाल देखाउने मात्र होइन, मानव चेतनाको अर्को सम्भावना देखाउने ऐतिहासिक अवसर पनि छ । यदि नेपालले आफ्नो सभ्यतागत सम्पदा, सांस्कृतिक शक्ति र चेतनामूलक जीवनदर्शनलाई दूरदर्शी नीति, संस्थागत तयारी र अन्तरराष्ट्रिय साझेदारीसँग जोड्न सक्यो भने, ‘नेपाल वेलनेस वर्ष २०२७’ केवल एक अभियान रहने छैन; यो नेपाललाई विश्व शान्ति, समग्र स्वास्थ्य र मानवीय सहअस्तित्वको अग्रणी आवाजका रूपमा स्थापित गर्ने ऐतिहासिक मोड बन्न सक्नेछ । अब प्रश्न केवल नेपालले विश्वबाट के प्राप्त गर्छ भन्ने होइन । प्रश्न यो हो कि नेपालले विश्वलाई कस्तो दिशा दिन सक्दछ । ‘नेपाल वेलनेस वर्ष २०२७’ त्यस प्रश्नको सभ्यतागत उत्तर बन्न सक्दछ । (लेखक मलेसियाका लागि नेपाली पूर्वराजदूत हुनुहुन्छ)