काठमाडौं– सन्तोषी श्रेष्ठको नाम आउनेबित्तिकै दुई वर्षअघि नेपालमै आयोजित १३औं दक्षिण एसियाली खेलकुद सम्झिनुपर्छ। सार्क खेलकुदको महामेलामा सन्तोषीले १० हजार मिटरमा स्वर्ण जितिन्। भारतीय प्रतिस्पर्धीलाई मिलिसेकेन्डले पछि पारेपछि उनले नेपाली एथलेटिक्समा एउटा अभूतपूर्व कीर्तिमान बनाएकी छन्। उनी अन्तर्राष्ट्रिय स्वर्ण जित्ने एथलेटिक्सकी पहिलो महिला खेलाडी हुन्।
सागको सफलताबाट चर्चाको शिखरमा पुगेकी सन्तोषीले आफ्नो विधालाई फराकिलो बनाउँदै लगेकी छन्। १४ वर्षअघि दौडिन सुरु गर्दा सन्तोषीलाई व्यावसायिक खेलाडी बन्छु भन्ने थिएन। मध्यम दूरीमा केन्द्रित रहेर २०७३ मा पूर्वाञ्चलमा आयोजित सातौं राष्ट्रिय खेलकुदमा सहभागी भएयता धादिङ ज्वालामुखीकी सन्तोषीले आफूलाई निरन्तर तिखार्दै लगेकी छन्। १३औं सागचाहिँ उनको करिअरकै टर्निङ प्वाइन्ट हो।
सन्तोषीको एउटा आफ्नै सिद्धान्त छ– आँट गर्ने हो भने नसकिने केही पनि छैन। यो वर्ष उनले आफूलाई लामो दूरीको सशक्त दाबेदारका रूपमा प्रस्तुत गरिन्। नेपालगन्ज म्याराथन, रन फर प्रोटिन र प्रधानसेनापति म्याराथन गरी आफू सहभागी तीनवटै प्रतिस्पर्धामा हाफ म्याराथनको उपाधि जितेपछि सन्तोषीमा आत्मविश्वास बढेको छ।
रन फर प्रोटिनमा हाफ म्याराथनको दूरी १ घण्टा १४ मिनेट १४ सेकेन्डमा पूरा गरी राष्ट्रिय कीर्तिमानसमेत बनाइन्। यसअघि कान्छीमाया कोजुले १ घण्टा १८ मिनेट २८ सेकेन्डको टाइमिङलाई राष्ट्रिय कीर्तिमान भनिएको थियो।
उनले १३औं सागदेखि २०७८ को प्रधानसेनापति हाफ म्याराथनसम्म भाग लिएका सबै १० प्रतियोगितामा स्वर्ण जितेकी छन्। लामो दूरीमा प्रवेश गरेको चाहिँ यही वर्षदेखि हो। पहिलो सहभागितामै नेपालगन्जमा उनले हाफ म्याराथन उपाधि जितेकी हुन्।
जनप्रशासनमा स्नातकोत्तर गरेकी सन्तोषी खेल र अध्ययनलाई सँगसँगै अगाडि बढाउने सीमित खेलाडीमा पर्छिन्। उनले खेलकुदमा लागेपछि पढ्न सकिन्न वा पढ्न नसकेर खेलकुदमा लाग्ने मान्यतालाई चिर्न सकेकोमा गर्व गर्छिन्। त्योभन्दा ठूलो कुरा विभागीय टोलीमा नरहेर पनि च्याम्पियन बन्न सकिन्छ भन्ने उदाहरण बनेकी छन्। २०७१ सालदेखि व्यावसायिक करिअर सुरु भएयता उनले विभागीय टोलीका थुप्रै ‘अफर’ लत्याएकी छन्।
आहार, स्वास्थ्य र जनस्वास्थ्य पोषणमा पनि पोेस्ट ग्राजुएसन डिप्लोमा गरिरहेकी सन्तोषीलाई अध्ययनबाट सिकेका ज्ञानलाई खेलकुदमा लगानी गर्ने धोको छ। सामाजिक र अनुसन्धनात्मक काममा रुचि राख्ने यी च्याम्पियनले १३औं सागयता अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर पाएकी छैनन्। तर उनलाई देशका लागि अझै खेल्ने र धेरै जित्ने रहर छ।
सन्तोषीले आफूलाई नेपाली खेलकुदमा छुटाउनै नहुने नामका रूपमा स्थापित गरेकी छन्। त्यसैले त उनलाई नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने एनएसजेएफ स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस अवार्डमा मनोनीत गरिएको छ।
चैत ८ गते वितरण हुने अवार्डको पिपुल्स च्वाइस विधामा सन्तोषीसँगै क्रिकेटका कुशल भुर्तेल, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलकी एन्जिला तुम्बापो सुब्बा मनोनयनमा परेका छन्। समर्थक, ओलम्पिक आबद्ध खेल संघ र खेलकुद पत्रकारको मतका आधारमा विजेता निर्धारण हुन्छ। सन्तोषी अघिल्लो वर्ष पल्सर स्पोर्ट्स अवार्डकै स्पेसल अवार्ड विजेता खेलाडीसमेत हुन्।