शिशिर लामिछाने, बसन्त लामिछाने र प्रशंसा बुढाथोकी ‘मोडल सुपरस्टार–२०२४’ को विजेता 

राम्रो अनलाइन     १२ असोज २०८१, शनिबार
शिशिर लामिछाने, बसन्त लामिछाने र प्रशंसा बुढाथोकी ‘मोडल सुपरस्टार–२०२४’ को विजेता 


काठमाडौं–स्मार्ट गफ एपको आयोजनामा एपटिक मोडल सुपरस्टारको चौथो सिजनको फाइनल प्रतिस्पर्धा असोज ११ गते काठमाडौं बौद्धस्थित ‘बौद्ध हेरिटेज’ सम्पन्न भयो । प्रतियोगितामा जुम्ल्या दाजुभाई शिशिर र बसन्त लामिछाने एवं प्रशंसा बुढाथोकीले मोडल सुपरस्टार–२०२४ को ताज जितेका छन् । एपटिक टिकटकको जस्तै फिचर भएको सोसल मिडिया हो । यसका सञ्चालक रमेश शाही र मोडल प्रमिला सिलवाल हुन् । 

एपटिक मोडल सुपरस्टारको आयोजकमा मोडल प्रमिला सिलवाल र चर्चित ग्ल्यामर फोटोग्राफर सञ्जय रौनियार हुने भने प्रतियोगिताको निर्देशक रमेश शाही हुन् । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए। प्रतियोगितामा फेसन डिजाइनरहरू सजिना बिष्ट, दुर्गा बिष्ट र समीक्षा लामिछानेले तयार पारेका ड्रेसमा मोडलहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगितामा महिला र पुरुष गरेर ३८ जना मोडलहरूले भाग लिएका थिए । 

शिशिर र वसन्त जुम्ल्या दाजुभाइ हुन् । गोर्खाका स्थायीबासी उनीहरू इन्जिनियरिङ पढ्दै छन् । मोडलिङ उनीहरूको रुचीको क्षेत्र हो । टुर एण्ड ट्राभलको क्षेत्रमा पनि कार्यरत यी दाजुभाइको जोडीले मोडलिङ क्षेत्रमा मिलेर नै केही गर्ने सोच बनाएको बताए । ‘हामी जुम्ल्या दाजुभाइ हौँ सँगसँगै एउटै क्षेत्रमा अघि बढ्दा अरुहरूलाई मोटिभेसन होस भनेर सँगै मोडलिङमा लागेका हौँ’ उनीहरू भन्छन् । आफ्नो पढाइ, पेसा र मोडलिङलाई एक साथ अघि बढाउने उनीहरूले बताए । 

उदयपुरकी प्रशंसा बुढाथोकी कक्षा ११ मा पढ्दै छिन् । प्रशंसा भन्छिन्, मोडलिङ रुचीको क्षेत्र भएकाले पढाइसँगसँगै यसलाई पनि अघि बढाउन प्रतियोगितामा भाग लिएको हुँ । भरखर एसइइ सकेर ११ पढ्दै गरेका हामीजस्ता टिनएजरहरूका लागि ग्रुमिङ हुने उपयुक्त अवसर यस्तै प्रतियोगिताहरू हुने प्रशंसा बताउँछिन् । ट्रेनिङका क्रममा आफूले धेरै नै नयाँ कुरा सिकेको बताउने उनी पढाइ र मोडलिङलाई एकसाथ अघि बढाउने बताउँछिन् । प्रतियोगितामा वीनर भएपछि मोडलिङमा करिअर बनाउन अझ सहज हुने विश्वास लिएकी छु प्रशंसा भन्छिन् । 

प्रतिक्रिया