‘विश्व शान्तिका लागि सङ्गीत महाअभियान’ अन्तर्गत ‘लैजा चरी शान्तिको धून’ सार्वजनिक

राम्रो अनलाइन     १८ जेठ २०८३, सोमबार
‘विश्व शान्तिका लागि सङ्गीत महाअभियान’ अन्तर्गत ‘लैजा चरी शान्तिको धून’ सार्वजनिक

काठमाडौँ–विश्व शान्ति, सद्भाव, सहअस्तित्व र मानवीय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ निर्माण गरिएको विशेष सांगीतिक प्रस्तुति “लैजा चरी शान्तिको धून” सार्वजनिक भएको छ। ‘विश्व शान्तिका लागि सङ्गीत महाअभियान’ अन्तर्गत तयार पारिएको यो प्रस्तुति केवल एउटा म्युजिक भिडियो मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्तिको बिगुल फुक्ने एउटा बृहत् सांगीतिक अभियान हो।

नेपाल सरकारका सहसचिव एवं सर्जक मनमाया पंगेनीको शब्द, संगीत र स्वर रहेको यस गीतमा गायक तथा संगीत संयोजक कमल सौरागले गायन तथा संगीत संयोजनमा साथ दिएका छन्। गीतको मिक्सिङ र मास्टरिङ राजकुमार बगरले गरेका हुन् भने रेकर्डिङ त्रिवेणी डिजिटल स्टुडियोमा भएको हो।

भिडियोमा उच्चपदस्थ व्यक्तित्वहरूको विशेष अतिथि भूमिका

एभरेस्ट ग्यालरीको ब्यानरमा निर्माण भएको यस भिडियोको परिकल्पना तथा निर्देशन सनम कठायतले गरेका हुन्। भिडियोमा सनम कठायत र अस्मिता खनाल मुख्य कलाकारका रूपमा प्रस्तुत भएका छन् भने बाल कलाकारका रूपमा मानुश्री भट्टराई र श्रीनिधि कठायत रहेका छन्। महेश महराको छायाङ्कन र अमृत चापागाईँको सम्पादन रहेको भिडियोमा स्माइल मियाले सहायक निर्देशन र सोनिका गजमेर तथा शोभा भट्टराईले श्रृङ्गारको जिम्मेवारी निभाएका छन्।

यस सांगीतिक अभियानको मुख्य विशेषता भिडियोमा देखिएको नेपाल सरकारका उच्चपदस्थ अधिकारी, पूर्व मन्त्री तथा विशिष्ट व्यक्तित्वहरूको ओजपूर्ण उपस्थिति हो। भिडियोमा पूर्व मन्त्री एवं गीतकार शंकर प्रसाद कोईराला, पूर्व मुख्यसचिव लिलादेवी गड्तौला, नेपाल सरकारका सचिवहरू रविलाल पन्थ र लक्ष्मी कुमारी बस्नेत, न्यायाधीश श्रीधरा पुडासैनी, तथा पूर्व सचिव केशव कुमार शर्माले विशेष अतिथि भूमिका निभाएका छन्।

त्यस्तै, मधेश प्रदेशका सचिव पार्वती शर्मा, सहसचिव हेमराज तामाङ, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रिना डंगोल, सूचना प्रविधि विज्ञ डा. शालिग्राम पराजुली, नेपाल आयल निगमका उपनिर्देशक इन्दु शर्मा, सहसचिव इन्दु घिमिरे, सार्वजनिक यातायात प्राधिकरणका सीईओ कुवेर नेपाली, पूर्व एआईजीहरू टेक तामाङ र माधव प्रसाद नेपाल सहित सपना कुमारी भट्टराई, विष्णुराम न्यौपाने, शिव भट्टराई, अनुजय भट्टराई, माधव पौडेल र निशा खड्काको समेत भिडियोमा विशेष उपस्थिति रहेको छ।

मानवता र प्रकृतिको रक्षाको पुकार

‘लैजा चरी शान्तिको धून, लैजा चरी प्रेमको धून बोलको यस गीतले संसार जोगाउन, मानव बचाउन, र प्रकृति एवं जीवात्माको रक्षा गर्नुपर्ने गम्भीर सन्देश बोकेको छ। फाटेको मन सिलाउने, भाइचारा जगाउने र विकास एवं निष्ठाको दीप प्रज्वलित गर्ने भावना गीतका शब्दहरूमा समेटिएका छन्।

यस बृहत् सांगीतिक अभियानलाई सफल पार्न नेपाल टेलिकम परिवारले विशेष सहयोग र सहकार्य गरेको छ। निर्माण पक्षले सहयोगी संस्था नेपाल टेलिकम, सहयोगी व्यक्तित्वहरू केशव भट्टराई, यादव अधिकारी, माधव खरेल, डिभी खड्का लगायत सम्पूर्ण टिमप्रति हार्दिक आभार प्रकट गरेको छ। मानवता र शान्तिको खोजी भइरहेको वर्तमान विश्व परिवेशमा यो गीतले सकारात्मक ऊर्जा थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया