वर्षालाई ज्वरोनै आएको फिल्म ‘झिल्को’ को त्यो दृश्य...

रुकेश श्रेष्ठ     २० वैशाख २०८२, शनिबार
वर्षालाई ज्वरोनै आएको फिल्म ‘झिल्को’  को त्यो दृश्य...

काठमाडौँ–अभिनेत्री वर्षा सिवाकोटीले झिल्को फिल्म निर्माणका क्रममा भएको एउटा रमाइलो घटना सार्वजनिक गरेकी छन् । बिहीबार फिल्मको प्रिमियर शो पछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले एउटा सिनका लागि २२ टेक दिएको र त्यसपछि आफू बिरामी नै भएको बताइन् । 

फिल्ममा एउटा रुनुपर्ने सिन रहेको थियो । उक्त सिन एक टेक गर्न पनि गाह्रो रहेकोमा २० देखि २२ टेकसम्म लिएको बताइन् । त्यसपछि आफूलाई एकदमै गाह्रो भएर ज्वरो नै आएको उनको भनाई छ । उक्त सिन सुटिङपछि बिरामी जस्तै भएकोले आफूले आराम लिएको उनले बताइन् ।

निर्देशक यादव भट्टराई सर एउटा यस्तो मान्छे जबसम्म आफूलाई चित्त बुझेन तबसम्म ठिक छ भन्नुभएन  उनले भनिन् । पछिल्लो समय फिल्ममा कथा मुख्य विषय बनेर आइरहेको उनको भनाइ थियो । आफू फिल्म साइन गर्दा कथा हेर्ने बताउँदै उनले सक्षम र सफल निर्माण टिमबाट प्रस्ताव आइसकेपछि झिल्कोमा त्यति धेरै समस्या नभएको उनले बताइन् । 

झिल्कोमा वर्षाले अहिलेसम्म नगरेको आमाको भूमिका निभाएकी छन् ।  तर आफ्ना लागि टिम र कथा मुख्य भएकाले आमाको भूमिकामा पहिलोपटक झिल्कोमा खेल्न तयार भएको उनले बताइन् । 

झिल्कोमा काम गर्दा चुनौतीपूर्ण भएपनि आफूले अहिलेसम्म गरेका चलचित्रमध्ये निर्देशक भट्टराईले आफूबाट सबैभन्दा बढी काम निकाल्न सफल भएको उनको भनाइ थियो । 

झिल्कोपछि वर्षाले छक्का पञ्जा ५ मा काम गरेकी थिइन् । उक्त सेटमा झिल्कोमा सिकेका र सिकाइएका कुराहरूका कारण सजिलो भएको उनले बताइन् । 

उनले भनिन् झिल्कोले मेरा कमीकमजोरी औँल्याइदिएको थियो । एक कलाकारका लागि यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । कतिपय चलचित्रमा हाम्रा गल्तीहरू यत्तिकै ढाकछोप भइरहेको हुन्छ । तर उहाँ (भट्टराई) यस्तो एउटा मेकर, एकदमै गाह्रो भए पनि काम पर्फेक्ट नभएसम्म निरन्तर लाग्नुहुन्थ्यो । 

प्रतिक्रिया