काठमाडौं– तेस्रो संस्करणको एसियन ई–लर्निङ जयकुमारनाथ शाह स्मृति यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आइतबार (जेठ २४) सम्पन्न दुई क्वार्टरफाइनल खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
सोमबार (जेठ २५) हुने पहिलो सेमिफाइनलमा डीएभी सुशील केडिया विश्व भारती स्कुल र जेम्स स्कुल आमनेसामने हुनेछन् । दोस्रो सेमिफाइनलमा सैनिक आवासीय महाविद्यालय र नेपाल पुलिस स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।
आइतबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा जेम्स स्कुलले मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । मोक्षदाले दिएको ९६ रनको लक्ष्य जेम्सले कुनै विकेट नगुमाई ९.५ ओभरमै पूरा गर्यो । जेम्सका स्वराज चौलागाईं ३० बलमा चार चौका र एक छक्काको मद्दतमा ३८ रनमा अविजित रहे । सुदीश पौडेल ३० बलमा सात चौका प्रहार गर्दै ४३ रनमा अविजित रहे ।
त्यसअघि, टस जितेर ब्याटिङ गरेको मोक्षदाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९५ रन बनाएको थियो । मोक्षदाका निम्ति ऋषुशाहा सुवेदीले अविजित ५१ रन जोडे । नेम्स योञ्जनले १२ र सुयोग्य शाहले आठ रन बनाए । जेम्सका प्रचेत लाखोटियाले चार ओभरमा १० रन खर्चेर तीन विकेट लिए । स्वराजले तीन, प्रगव पाण्डे र रमन महेसेथले समान एकरएक विकेट लिए ।
अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस स्कुलले रत्नराज्य माध्यमिक विद्यालयलाई ५० रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । १४५ रनको लक्ष्य पछ्याएको रत्नराज्य १७।१ ओभरमा ९४ रनमै अलआउट भयो । रत्नराज्यका उदयकुमार मण्डलले सर्वाधिक ३१ रन बनाए । सकिन्द्र यादवले १५ र रविकिशनकुमार गुप्ताले १४ रन जोडे । अरू ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
पुलिसका सुजित यादवले चार विकेट लिए । सागर सिंहले तीन र प्रियान्शुकिशोर राउतले दुई विकेट हात पारे । त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा आठ विकेट गुमाएर १४४ रन बनाएको थियो । पुलिसका सुनील ठाकुरले २५, प्रियान्शुकिशोर राउतले २२ र श्यामबाबु ठाकुरले २० रनको योगदान गरे । राजप्रताप यादव र प्रिन्सराज यादवले समान १४ रन जोडे । अतिरिक्तबाट टोलीले २३ रन प्राप्त गरेको थियो ।
रत्नराज्यका आयुष पाण्डे र विकेश तामाङले समान तीनरतीन विकेट लिए । दिपेश थापाले एक विकेट हात पारे । काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा यही जेठ १९ गतेदेखि सुरु प्रतियोगितामा २४ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।