जानकी सीताजी बिना श्रीरामको परिकल्पना गर्न पनि सकिंदैन !

सुरेश आचार्य     ०८ माघ २०८०, सोमबार
जानकी सीताजी बिना श्रीरामको परिकल्पना गर्न पनि सकिंदैन !


नेपालमा सनातन धर्मको शिर्ष आराध्यदेव श्री पाशुपत क्षेत्रको बरद् आशिक प्राचीनकालदेखि नै निरन्तर रूपमा प्राप्त हुदैंआएको छ । भगवान श्रीरामको  जन्मस्थल, भारतको अयोध्यामा नवनिर्मित भगवान श्रीराम मन्दिरको आज हुने उदघाटन र प्राण प्रतिष्ठा कार्यक्रम भारतमा मात्रै होइन नेपाल र संसारभरका वैदिक सनातनीहरुका लागि एक सुखद विषय हो। सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ! 

सिमापारीको अयोध्याको ज्वाईमन्दीरलाई मक्का वा भ्याटिकन सिटी झैं ठान्न थाल्दा हाम्रो देशकी धर्तीपूत्री राष्ट्रिय विभूति सीताजीको नाम धार्मिक–राजनीति र त्यसको कुइरीमण्डल एवं कोलाहलमा नहराओस् !  जानकी सीताजी बिना श्रीरामको परिकल्पना गर्न पनि सकिंदैन ! श्रीरामको अस्तित्व र व्यक्तित्व सीताजीसॅग जोडिएको कुराको पुष्टीकारक हाम्रा धर्मग्रन्थहरू नै छन् । 

श्रीराम मन्दिरकै विषयमा भारतमा धार्मिक र राजनीतिक क्षेत्रमा आन्तरिक विवाद र मतान्तर रहँदैआएको छ,  त्यसमा हाम्रो नेपाल र हामी नेपालीहरू सार्वभौम भएकोले फस्नु हुदैन । हामी नेपाली र हाम्रा संस्थाहरूले आफ्नो आस्था प्रकट गर्दा धार्मिक, सांस्कृतिक, भौगोलिक, सामाजिक र राजनीतिक अनुशासनको सिमाना भित्रै रहेर श्रीरामप्रतिको आफ्नो अनुराग प्रकट गर्नु पर्छ । 

कतिपय स्थानीय तहहरू, संघसंगठन र राजनीतिक दलले अयोध्याको उद्घाटन समारोहका लागि नेपालमा सार्वजनिक छुट्टी दिने, शोभायात्रा, दीप प्रज्वलन, पदयात्रा गर्ने कार्यहरूले के अर्थ दिन्छ, चिन्तन गर्नुपर्छ १ कतै हामी चिन्तनमा चुकिरहेका त छैनौं ? श्रीरामको जन्मजयन्ती वा श्रीराम सिताको विवाहोत्सवका दिन नेपालमा सार्वजनिक बिदा वा आस्था र उत्सवको कुरा हो, तर एउटा मन्दीरको  उदघाटनको विषय विशुद्ध रूपमा भारतको आन्तरिक र राजनीतिक मुद्दा हो । यति कुरा नबुझ्दा भविष्यमा हामी नजानिदो किसिमले भयंकर गहिरो परिबन्धमा पर्न सक्छौं । 

मन्दिरको उदघाटन राजनीतिक विषय हुदैं हो ! राजा ज्ञानेन्द्रले अयोध्या मन्दिरको उदघाटन समारोहको निमन्त्रणा पाएर पनि आज उक्त समारोहमा सरिक नभएर राजामाथि लाग्न सक्ने संभावित ठूलो आक्षेप र अनिष्टलाई भद्रतासाथ निर्मूल गरेका छन् । विसं २०२० सालमा भारतको नागपुरमा आयोजित भारतमै आन्तरिक रूपमा ठूलो विवादमा परेको प्रथम विश्व हिन्दू महासम्मेलनमा तत्कालीन राजालाई आमन्त्रण गरिए पनि श्री ५ महेन्द्रले शालिनतासाथ सहभागिता जनाएका  थिएनन् । 

सिताजी र श्रीराम दुवै सामाजिक अनुवन्द, अनुशिलन र अनुशासनका प्रतिक वा मिसाल हुन् । यही पवित्र कारणले वैदिक सनातनीहरूमाझ यूगौदेखि हाम्रो जीवनकाल पर्यन्त पनि श्रीराम र सिताजीको गाथा गुन्जिन छोड्ने छैन । अहा ! कहिले काही एक सनातनीको मनमा लाग्ने गर्दछ, अयोध्याको त्यो पवित्र श्रीराम मन्दीरको नाम ूश्री सिताराम मन्दीरू भइदिएको भए सुनमा सुगन्ध हुने थियो । 

नेपालीहरू धार्मिक(सॅास्कृतिक रूपमा वैदिक सनातनी हौं, र यथार्थमा राजाविना कुनै पनि हाम्रा धार्मिक–सांस्कृतिक कृत्यहरू अपूरो मानिन्छन् । भारतमै पनि, कुनै पनि राष्ट्रिय सम्पदा र महत्वका मन्दीरहरूमा त्यहीका आचार्य, सम्प्रति अनुसारका ४ शंकराचार्यमध्ये सम्बन्धित शंकराचार्य र नेपालका राजालाई मात्रै ती मन्दीरहरूको गर्भगृहमा पूजा अर्चना गर्ने धार्मिक अधिकार र परम्परागत मान्यता रहिआएको छ । 

हामी नेपालीहरूमा अयोध्याबारे पवित्र धारणा र आस्था मात्रै छ, त्यसबारे राजनीतिक र सामाजिक मतान्तर वा पूर्वाग्रह छैन । तथापि, अयोध्याका बारेको विवाद भारतीय राजनीति क्षेत्र र समाजमा सयौं वर्षदेखि धार्मिक र पछिल्लो समय राजनीतिक कारणले नरहेको होइन । भारतीयहरू  हिन्दू आस्थाका अनुयायीहरू हुन् । नेपाली हुनु र भारतीय हुनुमा जुन सार्वभौम र शास्वत भिन्नता छ, वैदिक सनातनवादी हुनु र हिन्दूराष्ट्रवादी हुनुमा पनि त्यति नै ठूलो भिन्नता  छ  भन्ने नबिर्सौं । यी दुई पृथक कुरा हुन् । अहिले हामी, बाटो बिराएका बटुवा जस्तै हुन पुगेका छौ १ अन्त्यमा, वसुधैव कुटुम्बकम प्रति आस्था राख्दै भगवान श्रीरामले हामी नेपालीहरूलाई सदबुद्दी प्रदान गरून् ! ऊ नमः शिवायः

प्रतिक्रिया