सनब्लक क्रिमले अनुहारको चायापोतो हटाउँछ कि हटाउँदैन ?

डा. धर्मेन्द्र कर्ण, छाला रोग तथा सौन्दर्य विशेषज्ञ     १७ फागुन २०७८, मङ्गलबार
सनब्लक क्रिमले अनुहारको चायापोतो हटाउँछ कि हटाउँदैन ?

छालालाई घामको प्रभावबाट जोगाउने सनब्लक क्रिमको बट्टामा एसपीएफ र त्यस पछि १५, २०, ३० नम्बर लेखिएको हुन्छ । यो भनेको के हो ? छाला अनुसार कसरी सनब्लक क्रिम छनोट गर्नुपर्छ ? सनब्लक क्रिमले अनुहारको चायापोतो हटाउँछ कि हटाउँदैन ?


सनब्लक क्रिमको बट्टामा लेखिएको एसपीएफको अर्थ ‘सन प्रोटेक्सन फ्याक्टर’ हो । नेपाली बजारमा १५ देखि १०० नम्बर उल्लेख गरिएका सनब्लक क्रिम पाइन्छन् । सनब्लक क्रिम, लोसन, जेल र स्प्रेमा पनि उपलब्ध हुन्छ । यसको मुख्य काम भनेको सूर्यको अल्ट्राभ्वाइलेट किरणलाई केही मात्रामा भएपनि सोस्नु र परावर्तन गर्नु हो । यसले छालालाई घाममा डढ्नबाट जोगाउँछ । छालाको किसिम अनुसार एसपीएफ नम्बर छनोट गर्नुपर्ने हुन्छ । गोरो छालाका लागि बढी एसपीएफ चाहिन्छ । जति बढी एसपीएफ छ त्यति नै धेरै समयसम्म सनब्लकले काम गर्छ । सुक्खा छालामा क्रिम र लोसन प्रयोग गर्नुपर्छ । डन्डीफोर भएको र चिल्लो छालाकालागि जेल तथा स्प्रे प्रयोग गर्नुपर्छ । स्किनमा लाइटिङ ल्याउने क्रिममापनि सनस्क्रिन क्रिम मिसाएको हुन्छ । 


सनस्क्रिनले फिजिकल तथा केमिकल दुवै तरिकाले छालाको सुरक्षा गर्छ । सनस्क्रिन लगाएपछि घामका किरणलाई परावर्तन गर्ने काम फिजिकल हो भने यसले घामबाट डढेको छालालाई थोरै मात्रामा भएपनि रिपेयर गर्ने कामचाहिँ केमिकल हो । सूर्यको खराब किरणलाई सोस्ने काम पनि केमिकल भित्र पर्छ । 


सनस्क्रिनले छालाको सुरक्षागर्ने हो भने हरेक दुई–दुई घण्टामा प्रयोग गर्नुपर्ने हुन्छ । घाममा देखिने शरीरका सबै भागमा लगाउनुपर्ने हुन्छ । कतिपयले सनस्क्रिन घाममा निस्कँदामात्र लगाउनुपर्छ भन्ने ठान्छन् । तर, राति सुतेर उठेपछि उज्यालोमा जानु अघिपनि सनस्क्रिन लगाउनु पर्छ । अँध्यारोबाट उज्यालोतिर जाँदा छालामा हुने असर कमगर्न पनि यो क्रिम उपयुक्त हुन्छ । यसले चायापोतोे जाँदैन । छालालाई घामबाट बिग्रन नदिन यो धेरै काम लाग्छ । सनस्क्रिन लगाउनु भनेको हामीले दिनहुँ दाँत माझेजस्तै हो । हामी भविष्यमा दाँतमा कुनै खराबी नहोस् भनेर जसरी ब्रस गर्छौं, त्यसरीनैछालाको सुरक्षाकालागि सनस्क्रिन क्रिम लगाउनु पर्छ ।
 

प्रतिक्रिया