काठमाडौँ– लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४०० केभी प्रसारण’ लाइन निर्माण पुनः सुरु भएको छ ।
सरकारको पहलपछि सो प्रसारण लाइनको निर्माण सुरु भएको छ । लामो समयदेखि मुआब्जा र जग्गा विवादका कारण अवरुद्ध आयोजना ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलपछि पुनःसक्रियताका साथ निर्माण अगाडि बढेको छ ।
नेपाल विद्युत् प्राधिकरणले पनि प्रभावित स्थानीय, जनप्रतिनिधि तथा सरोकारवालासँग मन्त्री श्रेष्ठले गरेको निरन्तर छलफल र समन्वयपछि जग्गाधनीले मुआब्जा स्वीकार गरेकाले प्रसारण लाइनको टावर निर्माण अगाडि बढेको जानकारी दिएको छ ।
सन् २०१२ देखि निर्माण सुरु भएको प्रसारण लाइनअन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो । कुल २८८ किलोमिटर लम्बाइको आयोजनामध्ये पूर्वी खण्ड १५४ किलोमिटर लामो ढल्केवर–इनरुवा खण्ड तीन वर्षअघि नै सञ्चालनमा आइसकेको छ । तर, १३४ किलोमिटर लामो हेटौँडा–ढल्केवर खण्ड भने मुआब्जा विवादका कारण ढिलाइ भइरहेको थियो ।
प्राधिकरणले हेटौँडा क्षेत्रमा निर्माण गर्नुपर्ने १४ वटा टावरमध्ये हाल तीन वटाको निर्माण सम्पन्न भइसकेको छ । यस्तै, दुई वटाको इरेक्सन (टावर ठड्याउने) कार्य जारी रहेको जनाएको छ ।
साथै सबै टावरको जग निर्माण पूरा भइसकेको तथा बाँकी संरचनाको काम अन्तिम चरणमा पुगेको जनाएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले टावर निर्माणसँगै मुआब्जा तथा क्षतिपूर्ति वितरणको प्रक्रिया समानान्तर रूपमा अघि बढाइएको जानकारी दिए ।
उनले प्रभावितलाई कानुनअनुसार उचित क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै तार तान्ने कार्य सुरु भएसँगै पहिचान भएका सबैलाई एकैपटक मुआब्जा वितरण गरिने बताए । श्रेष्ठका अनुसार चालु आर्थिक वर्षभित्र प्रसारण लाइन सञ्चालनमा नआए वर्षायाममा उत्पादन हुने करिब ८०० मेगावाट विद्युत् प्रवाह हुन नसकी खेर जाने जोखिम रहन्छ । त्यसबाट राष्ट्रलाई ठूलो आर्थिक क्षति हुनसक्ने उनको भनाइ छ ।
प्राधिकरणले वन क्षेत्रको रुख कटान तथा जग्गा प्रयोगसम्बन्धी बाँकी स्वीकृति प्राप्त हुनेबित्तिकै बाँकी दुई वटा टावर निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजना सम्पन्न भएपछि देशको आन्तरिक विद्युत् आपूर्ति थप सुदृढ हुने, राष्ट्रिय ग्रिडको विश्वसनीयता बढ्ने तथा छिमेकी मुलुकसँगको विद्युत् व्यापार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सो प्रसारण लाइन निर्माणका लागि पटकपटक प्रयास भए पनि समस्या समाधान हुन सकेको थिएन । पछिल्लो पहलपछि अब भने प्रसारण लाइन निर्माण सम्पन्न हुने विश्वास लिइएको छ ।