‘कुटुमा कुटु सुपारी दाना
कुटुमा कुटु’
नेपाली सांगीतिक बजारमा यो गीत निकै नै चर्चित बन्यो । युट्युबमा मात्रै १५ करोड पटक यो गीत हेरिएको छ । सन् २०१७ को मे २८ मा रिलिज ‘कुटुमा कुटु’ बोलको गीतले भ्यूजको रफ्तारलाई छाडेको छैन । चलचित्र ‘२ रुपैयाँ’मा समावेश यो गीत १५ करोड पटक हेरिने पहिलो नेपाली गीत हो । साना नानीदेखी बूढापाकासम्मले यही गुनगुनाउँछन् । गाडीमा यात्रा गर्दा होस् या घरमा बसेर टिभी हेर्दा, यही गीत सुन्ने धेरै छन् । आफूले गाएको गीत यति धेरै चर्चित हुँदा गायिका मेलिना राई दंग छिन् । फिल्म ‘नाइँ नभन्नू ल–३’ को ‘कम्मरमाथि पटुकी, पटुकीमाथि घैला’ बोलको गीतले उनलाई धेरै स्रोतासम्म पु¥यायो । उनले गाएका ‘शिरैमा शिरबन्दी’, ‘तिमीले बाटो फे¥यौ अरे’, ‘तिमीसँगै अमर नाता जोडूँ जोडूँ लाग्छ’ जस्ता गीत निकै चर्चित छन् । यी २८ वर्षीया गायिकाका प्रायः गीत चलनचल्तीको भाषामा भन्ने हो भने ‘हिट’ छन् । संगीत बजारमा भन्ने गरिएको छ– मेलिनाले जे गाए नि हिट !
मेलिना १० वर्षको उमेरसम्म भारतको दार्जिलिङमा आफ्ना हजुरआमा– हजुरबुवासँग बसिन् । बुवा जीवेश राईलाई पहिलो पटक देख्दा उनी ठूली भइसकेकी थिइन् । पढ्नका लागि नेपाल आएपछि संगीतमा उनको सक्रियता बढ्दै गयो । घरमा बस्दा पनि गीत गुनगुनाइरहन्थिन् । सानैदेखि नाच्न, गीत गाउन भनेपछि भुतुक्कै हुन्थिन् । राई भन्छिन्, ‘नाच्न त मलाई अहिले पनि मन पर्छ । सानोमा ऐनाअगाडि डान्स गर्दै आफ्नो ज्यान मर्किएको हेर्थें । खूब रमाइला दिन थिए ती ।’
गाउँघरमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा पनि कहिलेकाहीँ उनको सहभागिता रहन्थ्यो । राई सम्झन्छिन्, ‘त्यसबापत थोरबहुत पैसा पनि कमाइन्थ्यो ।’ घरमा बुवा पनि संगीत क्षेत्रमै लागेकाले उनलाई यतातिर लाग्न सहज भयो । उनका बाबु संगीत सिकाउँथे । उनकै विद्यार्थीहरूको छेउमा बसेर मेलिना पनि संगीत सिक्थिन् । पारिवारिक वातावरण नै सांगीतिक भएपछि त्यसको प्रभाव उनमा पर्ने नै भयो । ११ वर्षको उमेरमा उनले स्कुलको एउटा कार्यक्रममा पहिलो पटक स्टेजमा गीत गाइन् । कुन गीत गाएँ भन्ने हेक्का छैन उनलाई । ‘त्यतिबेला गीत गाउन स्टेजमा चढ्दै गर्दा नर्भस भएकी थिएँ,’ उनी सम्झन्छिन्, ‘अलिअलि डर, अलिअलि लाज लागेको थियो । धेरै मान्छेका अगाडि गीत गाउन पाएँ भन्ने कुराले एक्साइटेड पनि भएकी थिएँ ।’
संगीतकार ताराप्रकाश लिम्बूले उनलाई फिल्म ‘नोभेम्बर रेन’ को ‘पलभरमै खुशी’ बोलको गीतबाट पाश्र्वगायनमा भित्र्याएका थिए । त्यतिबेला उनी प्लस टू पढ्दै थिइन् । धेरैले उनलाई चिन्दैन थिए । अहिले धेरै जनाबाट प्रशंसा पाएको उनको आवाजलाई त्यतिबेला कसैले ख्यालै गरेका थिएनन् । राई भन्छिन्, ‘म गीत गाउन सक्छु भनेर धेरैलाई थाहै थिएन । फिल्ममा गीत गाउन थालेपछि चाहिँ मान्छेहरूले नोटिस गर्न थाले ।’
प्लस टू पढ्दै गर्दा जिन्दगीमा के गर्छु÷के बन्छु भन्ने धेरैको टुंगो हुँदैन । त्यतिबेला उनी चाहिँ गायिकाका रूपमा लगभग स्थापित भइसकेकी थिइन् । एकप्रकारले सेलिब्रिटी नै भइसकेकी थिइन् । यस कुराले उनलाई खुशी बनाउँछ । आफूले गाएको गीत रेडियो, फिल्ममा आएको कुरा उनी साथीहरूलाई सुनाउँदिन थिइन् । अरूहरूले पनि वास्ता गर्दैन थिए । ‘स्कुलजस्तो हुँदैन कलेज,’ उनी भन्छिन्, ‘यहाँ मान्छेहरू अलि परिपक्व भइसकेका हुन्छन् । यहाँ अरूको वास्ता गरिँदैन ।’
एकपछि अर्काे धमाधम गीतहरू चर्चित हुँदै जाँदा उनलाई अहिले फ्यानहरूको फोन अचाक्ली आउँछ । भ्याएसम्म कुराकानी गर्छिन् । कहिलेकाहीँ भ्याउँदिनन् र ‘धन्यवाद’ भनेर फोन राखिदिन्छिन् । स्रोताहरूको अपार मायाले उनी दंग छिन् । म्यासेन्जर, भाइबरमा पनि दैनिकजसो नचिनेका मान्छेहरूको म्यासेज आइरहेको हुन्छ ।
नेपालमा अहिले गीत÷संगीतको क्षेत्र एकदमै राम्रो देखिरहेकी छिन् उनी । ‘त्यसो त पहिला खराब थियो भन्ने हैन,’ उनी भन्छिन्, ‘अहिले झनै स्तर उकासिएजस्तो लाग्छ ।’ गायकहरू एकपछि अर्काे एल्बम निकालिरहेकै छन् । राई भन्छिन्, ‘पैसा नभएको अवस्थामा पनि मान्छेले यसमा लगानी गरिरहेकै छन् । यो गीत÷संगीतप्रतिको प्रेम हो ।’ भविष्यमा यो क्षेत्र अझै राम्रो हुने देख्छिन् उनी ।
उनले ११ वर्षको उमेरमै आफ्नो पहिलो गीत रेकर्डिङ गराएकी थिइन् । बुवा जीवेशकै संगीतमा उनले ‘हिमालको काखैमा’ बोलको गीत गाएकी थिइन् । रेकर्डिङ जाँदाको त्यो डर, खुशी अहिले पनि ताजै छ उनको मनमा । आफ्नो आवाज रेडियो नेपालमा पहिलो पटक सुन्दा उनको खुशीको सीमा रहेन । त्यसयता उनले धेरै गीत गाइसकेकी छिन् । उनको अवाजका प्रेमीहरू बढिरहेका छन् ।